+
+

सुर्खेतमा महिलालाई दुर्व्यवहार गर्ने पुजारी र धामी पक्राउ

यज्ञ खत्री यज्ञ खत्री
२०७८ पुष ६ गते २१:१६

६ पुस, सुर्खेत । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतमा एक पुजारी र दुईजना धामीलाई पक्राउ गरेको छ ।

लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार उनीहरुलाई सामाजिक अपराध गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरी निरीक्षक शाहीले बताए । यद्यपि पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन ।

उनले भने, ‘अस्ति पुस ४ गतेका दिन ती महिला आफ्नो कुल पुजा मान्न माइती आएकी थिइन् । सोही क्रममा धामी पुजारीहरुले उनीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएको हामीले देख्यौं । त्यसपछि हामीले अनुसन्धान सुरु गरेका हौं ।’ उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ ।

सोमबार साँझ फेसबुकमा सार्वजनिक भएको एक भिडियोमा केही पुरुषले आफूलाई ‘भगवानको अवतार’का रुपमा प्रस्तुत गर्दै एक महिलामाथि कुटपिट र  दुर्व्यवहार गरेका थिए । पाँच मिनेट १८ सेकेन्डको उक्त भिडियोमा ती महिला काँपिरहेको देखिन्छ । उनलाई ‘नराम्रो आत्माबाट’ बचाएको भन्दै पुरुषहरुले कुटपिट र दुव्र्यवहार गरेका छन् ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले यो घटनालाई गम्भीर ज्यादती भनेका छन् । ‘यो सरासर सामाजिक अपराध हो । हामीले पनि यो घटनालाई गम्भीर चासोको रुपमा हेरिरहेका छौं’ उनले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?