+
+

‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

कैलीदेवी दास, वर्ष ५९ कैलीदेवी दास, वर्ष ५९
२०७८ पुष ९ गते ९:४०

मेरो नाम कैलीदेवी दास हो । म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ । म ५९ वर्षकी भएँ । मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ । जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ । दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ ।

कुनै रात त शरीर पनि काँप्छ । त्यसैले घाम अस्ताएपछि मलाई डर लाग्न थाल्छ । रात कसरी काट्ने भन्ने चिन्ता हुन्छ ।

यो वर्ष पनि जाडो शुरू भइसकेको छ । हामीसँग ओछ्याउने र ओढ्ने बाक्लो लुगा छैनन् । खर र बाँसले छाएको यो घरको छत पनि कतिखेर खस्ने हो थाहा छैन । हेर्नु न अहिले पनि माथिबाट घरमा हावा पसिरहेको छ ।

आफ्नो खेतबारी नभएकाले गाउँबाट मागेर पराल ल्याएर ओछ्याएकी छु । राति त्यसैमाथि सुत्ने गर्छु । यसपालि मागेर एउटा ओढ्ने (चादर) ल्याएकी छु । त्यही ओढेर सुत्छु । तर त्यसले शरीर न्यानो बनाउँदैन ।

म, बुहारी र नाति तीनै जना पुरानो कपडा गुथेर बनाइएको भोटिया ओछ्याएर सुत्ने ठाउँ बनाएका छौं । परालमाथि त्यही ओछ्याएर सुत्छौं । ओढ्ने पनि पुरानो कपडा गुथेरै बनाएका छौं । के गर्नु दुःख छ ।

राति असाध्यै चिसो हुन्छ । आफ्नो खेतबारी नभएकोले गाउँबाट मागेर पराल ल्याएर ओछ्याएकी छु । राति त्यसैमाथि सुत्ने गर्छु । अरू बेला लगाउने सूतीको एउटा साडी छ । यसपालि मागेर एउटा ओढ्ने (चादर) ल्याएकी छु । त्यही ओढेर सुत्छु । तर त्यसले शरीर न्यानो बनाउँदैन । खोजेर ल्याएका दाउरा र वरिपरिका रूखका झरेका पातहरू भेला गरेर साँझ–बिहान आगो बाल्छु र ताप्छु ।

हाम्रो घर देखिहाल्नुभयो । वर्षाको पानीले भत्किएकाले भित्र हावा छिर्छ । कुनै कुनै बेला त चिसोले कान र पैताला दुख्छन् । अरू बेला बिहानै उठ्ने गर्थें, तर यो चिसोमा ढिलो गरी बाहिर निस्किन्छु । म बिहानको चिसो खप्नै सक्दिनँ ।

दिनभर घाम लाग्दा त ठीकै हो तर साँझ र बिहान धेरै समस्या हुन्छ । शीतलहर शुरू हुने बेला भयो अब कसरी बाँच्ने थाहा छैन । फेरि मेरो शरीर पनि कमजोर भइसकेको छ । चिसो धान्न सक्ने अवस्था छैन ।

हाम्रो परिवारमा लगाउन मात्रै होइन खान पनि समस्या छ । दुई वर्षअघि पतिको मृत्यु भएपछि छोरो पनि अर्काे विवाह गरेर बाहिर गइसकेको छ । अहिले बुहारी र नातिसँग यो घरमा बसेकी छु । गाउँका अरूको घरमा काम गरेर बुहारीले कमाएको कमाइले परिवार चलेको छ ।

जाडोमा कहिलेकाहीं त बिहान उठ्दा आँखा र मुख समेत फुल्ने गर्छ । जाडो शुरू भएपछि शरीर दुख्न थालेकाले औषधि किन्न छिमेकीबाट एक हजार रुपैयाँ कर्जा लिएकी छु । शरीर ठीक रह्यो भने त मजदूरी गरेर कर्जा तिरिहाल्छु नि !

हुन त मैले बच्चादेखि नै जाडो खेप्दै आएकी हुँ । माइती पनि त्यत्ति हुनेखाने थिएनन् । बिहे गरेर श्रीमान्को घर आएको दुई वर्षजति मैले न्यानो कपडा लगाउन पाएँ । तर, बिहेको दुई वर्षमै श्रीमान् बितेपछि जन्मिएको एक छोरा हुर्काउन मजदूरी गर्न थालें । त्यसपछि मैले कहिल्यै पनि न्यानो कपडा लगाउन पाइनँ ।

अलिक ठूलो भएपछि छोराको बिहे गरिदिएँ । बुहारी घर आइन् । अब दुःख जाला कि भन्ने लागिरहेको थियो । यसबीचमा नाति पनि जन्मियो । तर, दुई वर्षअघि छोराले अर्को विवाह गरेर सिरहामा बस्न थालेपछि मेरा फेरि दुःखका दिन आए । अहिले नातिलाई पाल्ने कि आफू बाँच्ने भन्ने चिन्ता छ । यो जाडोमा आफूभन्दा पनि नातिको चिन्ता छ मलाई ।

अहिलेसम्म हामीलाई कसैले कुनै सहयोग गरेका छैनन् । मान्छे आएर पटक–पटक नाम टिपेर लैजान्छन् । तर, अहिलेसम्म कसैले केही दिएका छैनन् । हामीलाई बाक्लो लुगा अथवा कम्बलको साह्रै खाँचो छ । कसैले दिंदैन के गर्नु ?

(धनुषा कमला नगरपालिकाकी कैलीदेवी दाससँग अनलाइनखबरकर्मी श्रवण देवले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?