+
+

एसएसपी यादवले किन रोजे मृत्यु ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १९:५०

९ पुस, काठमाडौं । बिहान जिम गएर कोठामा प्रवेश गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव दिउँसो १२ बजेसम्म खाना खान नआएपछि भान्छे बोलाउन गए । तर बाहिरैबाट झुण्डिरहेको अवस्थामा देखिएको भन्दै भान्छेले अन्य प्रहरीलाई खबर गरे, जिल्ला प्रहरी कार्यालयसम्म पनि सूचना पुग्यो ।

‘परिवार काठमाडौंमा हुनुहुन्थ्यो, उहाँहरु आइनपुगुञ्जेल ढोका नखोल्ने भन्ने भयो,’ जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी मनोज केसी भन्छन्, ‘अहिले बुबा र भाइ घटनास्थलमा आइपुग्नु भएको छ, मेडम पनि आइपुग्नु भएपछि ढोका खोल्छौं ।’

यादवको घर रामग्राम नगरपालिका–२, नवलपरासी हो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको छ । ‘प्रारम्भिक जाँच गरेपछि मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि पठाउँछौं’ एसपी केसी भन्छन् ।

हालसम्म प्रहरीले मृत्युको कारणबारे केही बताएको छैन । ‘ढोका खोलेपछि केही नोट वा केही संकेत भेटिन्छ कि !’ अधिकृतहरु अनुमान गर्छन् ।

हेपिएका एसएसपी

यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्रतिष्पर्धामा नाम निकालेका थिए । क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नियुक्ति पाए ।

एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन् ।

डीआईजीमा बढुवा हुन नसकेपछि अर्को एसएसपीबाटै अर्को महिना घर जाँदै थिए । नेपाल प्रहरीमा एसएसपीका लागि ५५ वर्षे उमेरहदको व्यवस्था छ, जसका कारण उनले आगामी माघ १५ गते अवकाश पाउँदै थिए । यदि उनको डीआईजीमा बढुवा भएको भए विश्वराज पोखरेल र सहकुलबहादुर थापाहरुसँगै थप एक वर्ष प्रहरी संगठनमा काम गर्न पाउने थिए । प्रहरी प्रधान कार्यालय, नक्सालका एक अधिकृत भन्छन्, ‘साथीहरु आईजीपी हुन लाग्दा आफू एसएसपीमै रहेकामा निराश देखिन्थे ।’

संगठनभित्र उनी हेपिएका जस्ता लाग्थे । ‘ब्याचमेटहरुले सधैं बढुवा हुने वेलामा उनको अगाडि नम्बरमा बढुवा हुन्छ भनिरहे, तर उनी चाहिँ कहिल्यै बढुवामा अटाएनन्’ उनी भन्छन्, ‘त्यसले पनि उनलाई जागिर असहज बनिरहेको थियो ।’

हुन त उनी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानका भाञ्जा पनि हुन् । प्रधान अहिले राप्रपाको राजनीतिमा सक्रिय छन् । एक अधिकृत भन्छन्, ‘पारिवारिक पृष्ठभूमि त्यति नराम्रो पनि होइन, तर उनले धेरै कुरा मिलाउन नजान्दा संगठनमा पछि परे ।’

के हुनसक्छ कारण ?

शुक्रबार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्याटस लेखेकी थिइन्, ‘यो कलियुग भएपनि अझै जीत सत्यकै हुन्छ ।’ यादव पारिवारिक झमेलामा पनि फसेको र उनलाई नै साथ पुग्ने गरी श्रीमतीले स्ट्याटस लेखेको हुनसक्ने प्रहरी अधिकृतहरको अनुमान छ । ‘यो विस्तारै अनुसन्धानबाट खुल्दै जाने विषय हो’ एक अभिधकृत भन्छन् ।

यादवको व्यवहार केही अघिबाटै फेरिँदै गएको उनीसँगै कार्यरत अधिकृतहरु बताउँछन् । एक अधिकृतको भनाइमा एसएसपी यादव केही दिनअघि बेहोस भएका थिए । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले डिप्रेसनको औषधि दिएका थिए ।

सुरक्षा फौजमा आत्महत्या गर्नेको संख्या बढेको भन्दै पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘करियरमा अस्भाविकरुपमा लाग्ने धक्का, जागिरको प्रेसर, परिवारलाई समय दिन नसक्नु, परिवारमा समस्या हुँदा बिदा नपाउनु जस्ता कारणले अफिसरहरु आत्महत्या गरिरहेका छन् । कतिपय अवस्थामा सामाजिक मूल्य, मान्यताभन्दा बाहिरको व्यक्तिगत सम्बन्धले पनि अप्रिय घटना निम्त्याइरहेको छ ।’

कर्मचारीले आत्महत्या गर्ने क्रम बढिरहेको प्रति संगठन पनि सचेत भएर न्यूनिकरण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?