+
+

यी हुन् २०२१ मा प्रविधि जगतका गम्भीर असफलता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:१७

बित्दै गरेको अंग्रेजी वर्ष सन् २०२१ धेरैका लागि आशा र चुनौतीको सम्मिश्रणको रुपमा रह्यो । कोभिड भ्याक्सिन आमरुपमा उपलब्ध भएता पनि महामारी अझै साम्य भैसकेको छैन र यो आगामी वर्ष पनि चलिरहने पक्का छ । प्रविधि जगतको कुरा गर्दा महामारीको समयमा मानिसहरूलाई एकअर्कामा जोड्ने तथा मनोरञ्जन प्रदान गर्ने क्षेत्रको रुपमा यसको भूमिका महत्वपूर्ण रह्यो तर प्रविधिले हाम्रो जीवनलाई अझै कठिन बनाइदियो ।

सन् २०२१ मा कुनैबेला प्रविधि पूर्णरुपमा असफल भयो । विश्वभर नै इन्टरनेट गएको घटनादेखि करोडौँ मानिसहरू साइबर हमलाको सिकार बनेको सम्म र फेसबुक कम्पनीसँग सम्बन्धित विभिन्न काण्डहरू यो वर्ष इन्टरनेट जगतका प्रमुख असफलताको रुपमा रहे । जसलाई विस्तृतमा यसरी उल्लेख गर्न सकिन्छ :

फेसबुक र लिंक्डइनको व्यापक डाटा लिक भएको घटना

गत अप्रिल महीनामा साइबर सुरक्षा विज्ञहरूले ५० करोड फेसबुक प्रयोगकर्ताहरूका व्यक्तिगत सूचनाहरू जस्तै फोन नम्बर, जन्ममिति तथा इमेल ठेगानालगायत ह्याकरहरूको वेबसाइटमा प्रकाशित भएको खुलासा गरे । फेसबुकले त्यस्तै घटना सन् २०१९ मा पनि भएको र खराब तत्वहरूले फेसबुक प्रयोगकर्ताका प्रोफाइलबाट तानेका त्यस्ता डाटाहरू सार्वजनिक भएको घटना तत्कालै समाधान गरिएको बतायो । दुई वर्षपछि पुनः त्यसरी आधा अर्ब प्रयोगकर्ताका डाटाहरू ह्याकरले सार्वजनिक गर्नुले सोसल मिडिया कम्पनीले संकलन गर्ने प्रयोगकर्ताका डाटा कसरी सजिलै ह्याकरको हातमा पुग्दा रहेछन् भन्ने पुष्टि भयो ।

त्यस्तै अप्रिलमै ५० करोड लिंक्डइन प्रयोगकर्ताका प्रोफाइलबाट लिइएका डाटाहरू ह्याकरहरूले बिक्रीमा राखेको घटना सार्वजनिक भयो । तर ती डाटाहरू धेरै वेबसाइट तथा कम्पनीहरूबाट ह्याकरले लिएका डाटा भएको लिंक्डइनले दाबी गर्‍यो ।

सिटिजन एपको ठूलो गल्ती

अपराधको रियल टाइम सूचना गर्ने स्टार्टअप कम्पनी सिटिजन एपले अमेरिकाको लस एन्जल्स फैलिएको डढेलो लगाउने व्यक्ति पत्ता लगाउन ३० हजार डलर पुरस्कारको घोषणा गर्‍यो गत मे महीनामा । सोसल मिडियामा पोस्ट गरिएको तस्वीर तथा अन्य विवरणका आधारमा प्रहरीले अभियुक्त भनिएको व्यक्तिलाई पक्राउ गर्‍यो। तर ती व्यक्ति निर्दोष रहेको र गल्तीले उसलाई आरोपित गरिएको पुष्टि भयो ।

कम्पनीले आफ्नो एपमा OnAir भन्ने नयाँ प्रडक्टको प्रयोग गरेको थियो जसले शंकास्पद व्यक्तिको बारेमा जानकारी प्रसारण गर्दथ्यो । तर त्यसले जानकारी प्रवाहित गर्नु अगाडि आफ्नै भेरिफिकेसन प्रोटोकलको पालना गर्न असमर्थ रह्यो र गलत व्यक्तिलाई आरोपित गर्‍यो ।

र्यानसमवेयर (फिरौती माग्ने भाइरस) को आक्रमण

यो वर्ष विश्वमा ह्याकरहरूले कम्प्युटर प्रणालीमा साइबर हमला गरी कब्जामा लिएर फिरौती माग्ने क्रम निकै बढ्यो । यसबाट व्यवसाय तथा संवेदनशील संरचनाहरू तारो बने । मे महिनामा अमेरिकाको तेल पाइपलाइन, कोलोनियल पाइपलाइनमा यस्तै हमला भयो । तेल पाइपलाइनको नेटवर्कमा साइबर आक्रमण हुँदा अमेरिकाको सबैभन्दा ठूलो मध्येको एक इन्धन पाइपलाइनको रुपमा रहेको कोलोनियल पाइपलाइनको सञ्चालन नै बन्द गर्नुपर्यो । तेल पाइपलाइन प्रणालीलाई ह्याकरको कब्जाबाट मुक्त गर्नका लागि ४४ लाख डलर फिरौती बुझाएको कम्पनीका सीईओले स्वीकार गरेका छन् । गत जुन महीनामा अमेरिकी न्याय मन्त्रालयका अनुसन्धानकर्ताहरूले पाइपलाइन साइबर आक्रमणकारीहरुलाई भुक्तान गरिएकोमध्ये २३ लाख क्रिप्टोकरेन्सी फिर्ता ल्याउन सफल भएको बताएका थिए ।

फेसबुकका लागि खराब दिन

गत अक्टोबर ४ सोमबारको दिन फेसबुकका लागि बिर्सनलायक रह्यो । त्यसको अघिल्लो दिनमात्रै फेसबुककी पूर्वकर्मचारी फ्रान्सिस हउगेनले विगतमा आफू कार्यरत कम्पनी फेसबुकका विभिन्न गोप्य तथ्यहरू सार्वजनिक गरिदिइन् । गलत सूचना, घृणाजन्य अभिव्यक्ति तथा हिंसा फैलाउनका लागि सोसल नेटवर्कहरू कसरी प्रयोग गरिन्छ भन्ने जानकारी फेसबुकलाई रहेको उनको दाबी छ । अक्टोबर ४ को दिन घण्टौंसम्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम साइट अवरुद्ध भयो । कम्पनीकी पूर्वकर्मचारीले टेलिभिजनमार्फत् गोप्य तथ्यहरू खुलासा गरिदिएको र साइट नै अवरुद्ध भएपछि फेसबुक कम्पनीको शेयर मूल्य उल्लेख्य रुपमा घट्यो ।

टेस्ला सीईओ एलन मस्कले लामो समयदेखि विद्युतीय कारको पूर्णरुपमा स्वचालित (फुल सेल्फ ड्राइभिङ) सफ्टवेयरका विषयमा बखान गर्ने गरेका छन् । तर सन् २०२१ को अन्त्यसम्म आइपुग्दा यो पूर्णरुपमा स्वचालित बन्न सकेको छैन । यसको साटो ड्राइभरको सहयोग चाहिने फिचर राखिएको छ र स्टेरिङ व्हिलमा चालक सदैव अलर्ट रहनुपर्ने र आवश्यक परेको बेला नियन्त्रण हातमा लिने फिचर उपलब्ध छ । अर्कोतर्फ यो फिचर पनि निकै कममात्रै टेस्ला ड्राइभरहरुले प्रयोग गरेका छन् र यो फिचर अहिले बेटा भर्सनमा छ ।

त्यस्तै उक्त स्वचालित फिचरको सहयोगमा गाडी चलाउँदा विभिन्न समयमा कार गलत साइडमा जाने प्रयास गरेको, झण्डै छेउको बारमा ठोक्किएको र साइकललाई छल्नका लागि यूपिएस ट्रकतर्फ गएको जस्ता घटना भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?