
१२ पुस, सप्तरी । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी रहेको बताएका छन् ।
प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुरधामको सम्पर्क कार्यालय राजविराजमा महिला आवास गृह, कक्षाकोठा तथा आवास गृहको सोमबार उद्घाटन गर्दै थापाले
उक्त कुरा बताएका हुन् ।
यसका निम्ति आफूहरुले काम गरिरहेको समेत महानिरीक्षक क्षेत्रीले बताए । उनले भने, ‘संविधान अनुसार ३३ प्रतिशत महिला सहभागितालाई संगठनले प्राथमिकतामा राखेको छ।’
प्रारम्भमा आफूहरुले जागिर खाँदा ३–४ प्रतिशत मात्रै महिलाको सहभागिता रहेकोमा अहिले झन्डै ११ प्रतिशत सहभागिता रहेको जानकारी दिए । उनले ५० प्रतिशत महिला सेवाग्राही रहेको अवस्थामा आगामी दिनमा यसको संख्या बढाउनु जरुरी रहेको बताए ।
नेपाल प्रहरीको आफ्नै लैंगिक नीति रहेको भन्दै उनले महिलामैत्री वातावरण कसरी सृजना गर्न सकिन्छ भन्नेमा आफूहरुले विशेष चासो राखेको बताए । ‘नेपाल प्रहरी आधा आकाश ढाकेको महिलालाई न्याय प्रदान गर्ने प्रारम्भिक निकाय पनि हो’ उनले भने, ‘महिला हुने हिंसा अपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै डिल गर्दा सहज हुन्छ र न्यायको सही र असल सम्पादन हुन्छ भन्ने हाम्रो विश्वास हो । बनेका यी भौतिक संरचनाले आगामी दिनमा प्रश्रय दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
एमआईपीपी परियोजना अन्तर्गत यूनप्सको सहयोगमा २ सय जना क्षमता भएको महिला आवास गृह र ५० जना क्षमता भएको ४ वटा कक्षाकोठाको निर्माण भएको छ । यस्तै, साविकको अतिथी गृहलाई रिट्रोफिटिंग पश्चात पुनः निर्माण गरिएको छ ।
परियोजना प्रमुख कोमल कार्कीले रु १५ करोडको लागतमा यी भवनको निर्माण भएको जानकारी गराए ।
प्रतिक्रिया 4