+
+

९ वर्षपछि प्रचण्डले ब्यूँताए उत्पादनसँग जोड्ने योजना

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष १२ गते २१:३२

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा समाजवादमा पुग्ने नेपाली मौलिक बाटोका रुपमा पार्टीका सबै कमिटीलाई उत्पादन र श्रमसँग जोड्ने योजना अघि सारेका छन् ।

आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सोमबार ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा पार्टी कमिटीलाई श्रम र उत्पादनसँग जोड्ने योजना अघि सारेका हुन् ।

यो नयाँ भने होइन, २०६९ साल माघमा मकवानपुरको हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट प्रचण्डले नै ‘उत्पादन बिग्रेड’ बनाउने योजना पास गराएका थिए । त्यसअनुसार कास्कीको पोखरामा एउटा कृषि फर्म पनि खुलेको थियो । अन्यत्र योजना अनुसार काम भएन भने पोखराको फर्म पनि बन्द भइसक्यो ।

त्यसको ९ बर्षपछि प्रचण्डले कार्यक्रमसहित पार्टी कमिटीहरुलाई उत्पादन र श्रमसँग जोड्ने योजना अघि सारेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठका अनुसार हेटौंडा महाधिवेशनबाट पारित उत्पादन ब्रिगेडको योजना अमूर्त थियो ।

यसपटक स्पष्ट रुपमा कसरी पार्टीलाई उत्पादनसँग जोड्ने भनेर आएको छ । सबै नेता/कार्यकर्ता उत्पादन र श्रमसँग जोडिएर सांस्कृतिक रुपान्तरणलाई एकीकृत रुपमा अगाडि बढाउने योजना नै समाजवादमा पुग्ने नेपालको आफ्नै विशेषतासहित मौलिक योजना भएको र यो नै प्रचण्डको दस्तावेजमा रहेको नेता श्रेष्ठको जिकिर छ ।

‘२१ औं शताब्दीमा नेपाली समाजवादको मोडेल के हुन्छ भन्ने विचार व्यक्त भएको छ’ नेता श्रेष्ठले भनेका छन् । त्यो के हो र कसरी प्राप्त हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उत्पादन, श्रम र सांस्कृतिक रुपान्तरणको कुरा एकीकृत रुपमा स्थानीय तहबाटै अगाडि बढाउने । जनतासँग नेता कार्यकर्ता योजना सहित दश/पन्ध दिन घुलमिल भएर, श्रम गरेर बस्नुपर्ने ।’

योजनाको व्याख्या

प्रचण्डको व्याख्या अनुसार पार्टीलाई उत्पादन र श्रमसँग जोड्ने योजनाको उद्देश्य हो, अर्थतन्त्रलाई दलाल र विचौलियाबाट फुत्काउने, बढ्दो उपभोक्तावादी संस्कृति रोक्ने र स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादमा पुग्ने ।

यसका लागि तत्काल कार्यान्वयनमा जाने योजना भन्दै उनले केही बुँदा अघि सारेका छन् ।

१. हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी अनिवार्य एक कृषि उद्योग स्थापना गर्ने ।

२. स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, पशुपालन फलफूल तरकारी, नगदेवाली घरेलु तथा साना उद्योग बजार अनुकुल स्थापना गर्ने ।

३. जमिनको चक्लाबन्दी गरी किसानको स्वामित्व कायमै रहने गरी उनीहरुसमेत सेयर धनी हुने गरी कम्पनी र सहकारी साझेदारीमा त्यस्ता व्यवस्था सञ्चालन गर्नुपर्दछ ।

४. ठूलो परिमाणमा काम गर्न दुई वा दुईभन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवसाय सञ्चालन गर्ने ।

५. राज्यले प्रदान गर्ने सहुलियत/सुविधा पूर्वाधार निर्माण पालिका, जिल्ला, प्रदेश र केन्द्रले सूचना सम्प्रेषण समन्वय सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने ।

६. जिल्ला तहमा पालिकास्तरका उद्यमीबीच समन्वय गराउने र पालिका स्तरका उद्यमलाई चहिने प्राविधिक तथा बजार व्यवस्थामा सघाउने ।

७. प्रदेशले जिल्ला स्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने ।

८. प्रदेशले अन्तर जिल्ला समन्वय गर्ने/गराउने ।

९. प्रदेशले कम्तीमा १०० जनालाई रोजगारी दिने गरी एक कृषि प्रशोधन केन्द्र वा बजार, चिस्यान केन्द्र सम्बन्धी उद्योगहरु स्थापना गर्ने ।

१०. केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र त्यसका लागि शक्तिशाली उद्योग व्यवसाय पहिचान विभागको नेतृत्व गर्ने ।

११. पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन एक पटक स्थानीय कृषि श्रम वा स्थानीय जनसमुदायसँगै बसेर श्रम गर्ने ।

१२. प्रत्येक कमिटीले निर्देशन समिति बनाएर योजना कार्यान्वयनको अनुगमन गर्ने ।

यी योजना कार्यान्वयन गर्दै विदेशमा रहेका लाखौं युवालाई स्वदेश फर्काउने योजना प्रचण्डले सुनाएका छन् । उनले भनेका छन्, ‘विकास निर्माणको अभियान चलाएर सबै नेपालीहरुको श्रम र क्षमतालाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउन सकिन्छ ।’

यसो गर्दा सामूहिक जीवनमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहसको प्रक्रिया जनताकै बीचमा हुने र त्यसले नेपाली राजनीतिमा मात्रै नभएर विश्व राजनीतिलाई नेपाली मोडेलको समाजवाद कस्तो हो ? भनेर सन्देश प्रवाह गर्ने प्रचण्डको विश्लेषण छ ।

प्रचण्डको योजना महाधिवेशनबाट पारित भएमा हरेक पालिकामा पार्टी कमिटीले कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्योग स्थापना गर्नुपर्ने हुन्छ । हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन एक पटक स्थानीय कृषि श्रम वा स्थानीय जनसमुदायसँगै बसेर श्रम गर्नुपर्ने हुन्छ ।

कार्यान्वयनमा नेता कार्यकर्ताकै आशंका

पार्टी कमिटीलाई उत्पादनसँग जोड्ने प्रचण्डको योजना मौलिक भएपनि कार्यान्वयनका लागि उत्तिकै चुनौती रहेको माओवादीका महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

केन्द्र सरकारका युवा तथा खेलकुदमन्त्री एवं केन्द्रीय सदस्य महेश्वरजंग गहतराज भन्छन्, ‘पार्टीमा पछिल्लो समयमा जाँगर मरेको छ । त्यो जाँगर जगाउन सके कार्यान्वयन गराउन सकिन्छ ।कार्यान्वयन नभए त हामी माथि प्रश्न उठिहाल्छ ।’

सल्यानबाट आएका महाधिवेशन प्रतिनिधि तिलकराज भण्डारी पनि कार्ययोजना कार्यान्वयन सहज देख्दैनन् । उनले भने, ‘हेटौंडा महाधिवेशनबाट पारित भएर पनि कार्यान्वयन हुन नसकेको तर, त्यसलाई थप व्याख्यासहित योजना आएको त छ तर, कार्यान्वयनमा जटिलताहरु आउन सक्छन् ।’

राजनीतिक विश्लेषक विष्णु दाहाल उत्पादन र श्रमसँग जोड्ने माओवादी योजना ‘पपुलिस्ट’ हुने प्रयासका रुपमा बुझ्छन् । ‘यो योजना कार्यान्वयन गर्न इच्छाशक्ति, जनशक्ति र प्राविधिक चाहिन्छ, जुन माओवादीसँग छैन’ उनी थप्छन्, ‘बिना आधार आएको यो योजना पपुलिस्ट एजेण्डा बाहेक केही होइन ।’

माओवादी नेता/कार्यकर्ताको आचारण र व्यवहार पनि उत्पादन र श्रमसँग जोडिने योजना अनुसारको विकास हुन बाँकी रहेको विश्लेषक दाहालको विश्लेषण छ । उनका अनुसार माओवादी शान्ति प्रक्रियामा आउँदा सजिलै श्रमसँग जोडिन सक्थे, तर अहिले माओवादी नेता कार्यकर्ता पुँजीवादी भासमा फसिसकेका छन् । राजनीतिक विश्लेषक दाहाल भन्छन्, ‘एउटा वर्ग संघर्ष गरेर माओवादीमा आयो, तर त्यो अवस्थामा अहिले माओवादी छैन । दलाल, पुँजीवाद र सामन्तवादको सोच सबै दलहरुमा छ । माओवादीमा अझ बढी देखिन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?