+
+

नयाँ बसपार्कमा सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते ११:२८

१४ पुस, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ परेको अनलाइनखबरलाई बताए ।

उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको एसपी मैनाली बताउँछन् ।

प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।

महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?