+
+

दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

अब ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी कारबाही स्वीकार गरेर बन्द प्रशिक्षणमा आए त विवाद सकियो, थप खेलाडी पनि बन्द प्रशिक्षणमा आएनन् भने क्रिकेट संघसँग ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानी खोसेर ‘कारबाही’ गर्ने वा ज्ञानेन्द्रहरुको कारबाहीलाई सदर गर्ने दुई विकल्प मात्र बाँकी रहन्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ पुष १५ गते २१:५०

१५ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न बुधबार काठमाडौं ओर्लिएका पुवुदु दशानायकले नेपाल क्रिकेट संघका पदाधिकारीलाई भेटे । कारबाहीमा परेका चार खेलाडीसँग संयुक्त र अरु केही खेलाडीसँग छुट्टै भेटेर नेपाली क्रिकेटको विवादबारे बुझ्ने प्रयास गरे ।

३० जनालाई बन्द प्रशिक्षणमा बोलाउने तयारीमा रहेका उनीसँग राष्ट्रिय टिमका खेलाडीहरु नै खेल्न आएनन् भने के गर्ने भन्ने ठोस जवाफ भने छैन ।

तर ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउने र सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णयबाट क्यान पछि हट्ने सम्भावना उनले देखेका छैनन् । ग्रेडिङ लगायतका खेलाडीको मागलाई ‘जायज’ मानेका उनले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीको निलम्बन हटाउन आग्रह गरेको र त्यसमा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द सकारात्मक रहेको पनि बताए ।

तर क्रिकेट संघका महाप्रबन्धक रौनक मल्ल र क्रिकेटर म्यानेजर विनोद दासलाई दायाँबायाँ राखेर बिहीबार पत्रकारसामू उपस्थित भएका मुख्य प्रशिक्षक दशानायकेलाई पत्रकारले प्रश्न गरे, ‘राष्ट्रिय टिमका खेलाडीहरु प्रशिक्षणमा आएनन् भने के गर्नुहुन्छ त ?’

जवाफमा उनले भने, ‘म आशा गर्छु कि त्यो हुने छैन ।’

दशानायकेले जे नहोस् भनेका छन्, नेपाली क्रिकेटमा त्यही ‘दुर्घटना’को खतरा देखिएको छ ।

क्रिकेट संघ, कप्तान परिवर्तनको निर्णयमा अडिग छ भने राष्ट्रिय टिमका धेरै खेलाडी कप्तान परिवर्तनको निर्णय पुनर्विचार गर्नुपर्ने अडानमा छन् ।

क्यान पदाधिकारीहरुको बुझाइ छ, व्यक्तिभन्दा ठूलो संस्था हो, त्यसैले क्यानको निर्णय खेलाडीहरुले मान्नुपर्छ ।

खेलाडीहरुको बुझाइ छ, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीहरुले ग्रेडिङमा त्रुटि भयो भनेर खेलाडीहरुको पक्षमा बोलेका हुन् । ग्रेडिङमा त्रुटि भएको क्यानले पनि स्वीकार गरिसकेको अवस्थामा कप्तान र उपकप्तानबाट हटाउनु अपमानपूर्ण हुन्छ ।

र, यही अलमलको अवस्था रहिरहने हो भने राष्ट्रिय क्रिकेट टिमका धेरै खेलाडीले बन्द प्रशिक्षणको भद्र ‘अवज्ञा’ गर्नेसम्मका कदम नचाल्लान् भन्न सकिन्न ।

अमिर अख्तर फ्याक्टर

सतहमा हेर्दा क्रिकेट संघ र खेलाडीहरुको विवाद कात्तिकमा भएको ग्रेडिङलाई लिएर शुरु भएको देखिन्छ ।

क्रिकेट संघले गरेको ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए, सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर नगरेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल सहितका चार जनाले सञ्चारमाध्यममा बोले । त्यसलाई लिएर क्यानले २५ कात्तिकमा स्पष्टीकरण सोध्यो । खेलाडीहरुले ३० कात्तिकमा जवाफ मात्र दिएनन्, ५ मंसीरमा आफ्ना मागहरु राखेर ७ दिनभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिए ।

क्यानले १२ मंसीरमा फेरि स्पष्टीकरण सोध्यो, खेलाडीहरुले जवाफ दिए । अनुशासन उल्लंघन गरेको भन्दै क्यानले २९ मंसीरमा मल्ललाई कप्तान, ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ मा ६ महीना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गर्‍यो । सन्दीपलाई कप्तानकाे जिम्मेवारी दियो ।

झट्ट घटनाक्रम यत्ति हो । तर यसको लहरो क्रिकेट संघको केही व्यक्तिसँग मात्र होइन, जोरा इन्टरनेशनल नामक निजी कम्पनीसम्म जोडिने जानकारहरु बताउँछन् । जोरा इन्टरनेशनल अमिर अख्तरको कम्पनी हो, जसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्दै आएको छ ।

गत वैशाखमा (४– ११ सम्म) कीर्तिपुरमा भएको नेपाल, नेदरल्याण्ड्स र मलेशियाको त्रिदेशीय टी–२० को व्यवस्थापन गर्ने जिम्मा पनि क्रिकेट संघले जोरालाई दियो ।

त्यसबेला खेलाडीहरुले क्यान नेतृत्वसामू असन्तुष्टि मात्र पोखेनन्, जोरा व्यवस्थापनमाथि प्रश्न उठाए । पूर्वकप्तान पारस खड्का र तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल समेत संलग्न भएर पोखरा प्रिमियर लिग (पीपीएल) गरेकोमा अख्तर खुशी थिएनन् ।

आफैंमाथि प्रश्न उठाएपछि क्रूद्ध बनेका उनले पीपीएलको आयोजक क्विन्स म्यानेजमेन्टको व्यवस्थापनमा भएको बलियो नेपाल कपको पक्षमा बोलेको भन्दै पारस–ज्ञानेन्द्रहरु विरुद्ध क्रिकेट संघमा उजुरी दिए । त्यसको जवाफमा पारस र ज्ञानेन्द्रले अख्तरको कम्पनी आयोजक रहेको एभरेष्ट प्रिमियर लिग खेलेनन् ।

अर्थात् यो विवादको कहीं न कहींअमिर अख्तर तथा ईपीएल भर्सेस पीपीएलसँग जोडिन्छ ।

खेलाडीहरुलाई ‘ठेगान’ लगाउने अवसर

यो एउटा फ्याक्टर त हो, तर निर्णायक थिएन । जब १३ असोजमा क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिए, परिस्थिति फेरियो । क्रिकेट संघले पुस २०७७ मै विनोद दासलाई क्रिकेट म्यानेजर र रौनक मल्ललाई महाप्रबन्धक बनाएको थियो ।

जब प्याकुरेलले सचिवबाट राजीनामा दिए, क्यानमा पूर्व कप्तान समेत रहेका विनोद दास हावी हुन पुगे । एक हिसाबले भन्दा क्यान भनेकै विनोद दास जस्तो हुन पुग्यो । ‘एक लाइन लेख्नुपर्‍यो भने विनोद दास, आईसीसी/एसीसीलाई एउटा इमेल पठाउनुपर्‍यो भने विनोद दास’ क्यानका एक सदस्य भन्छन्, ‘एक प्रकारले वान म्यान शो जस्तै भयो ।’

किनकि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका उनले क्यान निलम्बनमा रहेको बेला यू–१९ प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग सीधा र सुमधुर सम्बन्ध बनाएका थिए । राष्ट्रियस्तरमा पनि पूर्वकप्तान र प्रशिक्षकका रुपमा उनको छवि राम्रै थियो ।

जब विनोद क्यानमा हाबी भए, ‘अनुशासनको डण्डा’ देखाउन क्यान पदाधिकारीलाई सिकाए । विनोद दास र पारस–ज्ञानेन्द्रको सम्बन्धले पनि यसमा काम गरेको कतिपयको विश्लेषण छ । क्रिकेट संघका एक पूर्वपदाधिकारी भन्छन्, ‘विनाद दासले क्रिकेट बोर्ड आफ्नो ब्याकअपमा हुनुलाई खेलाडीहरुलाई ठाउँमा ल्याउने अवसरका रुपमा लिएको हुनसक्छ ।’

त्यो अवस्थामा पनि क्रिकेट संघको नेतृत्वले स्वतन्त्र रुपमा सोच्नुपर्ने थियो । खेलाडीहरुले पाएको साथ, क्रिकेट संघले कमाएको बद्नामी सबैलाई हेरेर सचेत गराउने वा भोलिका दिनमा यस्तो नगर्न चेतावनी दिने जस्ता कदम चाल्नुपर्ने थियो । तर मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै चार जनालाई ६ महीना ग्रेडिङमा नराख्ने निर्णय गर्‍यो ।

‘क्यानले त खेलाडी र संघ एउटै परिवार हो, कसैले हार्ने र कसैले जित्ने होइन, सबैले जित्ने उपाय पो खोजी गर्नुपर्थ्याे’ क्रिकेट संघका एक पूर्वपदाधिकारी भन्छन्, ‘वार कि पार गर्न खोज्नु नै त्रुटिपूर्ण भयो ।’

हुन पनि डेढ दशकदेखि राष्ट्रिय टिमबाट खेलिरहेका ज्ञानेन्द्र, भोलिको कप्तानका रुपमा हेरिएका दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र उदीयमान खेलाडी कमल सिंह ऐरीमाथि गरिएको कारबाही उनीहरुले गरेको भनिएको ‘गल्ती’ भन्दा धेरै गुणा बढी थियो ।

उनीहरुले कारबाहीलाई अनमानपूर्ण व्यवहारको रुपमा लिए र राष्ट्रिय टोलीका बहुसंख्यक खेलाडीको साथ पाए ।

गुमाएको त्यो अवसर

यद्यपि कारबाहीमा परेका खेलाडीहरुले २ पुसमा पत्रकार सम्मेलन गरेर कारबाही फिर्ता लिन र अभिभावकीय भूमिका खेल्न क्रिकेट संघलाई आग्रह गरेको थियो । क्यानका अर्का एक पूर्व पदाधिकारीका अनुसार क्यान नेतृत्वले त्यसलाई सम्वाद गर्ने अवसरका रुपमा लिनुपर्थ्याे र, समाधान खोज्नुपर्थ्याे ।

तर नेतृत्वले त्यो अग्रसरता देखाएन । क्रिकेट संघका सदस्य दुर्गाराज पाठकले खेलाडीहरुसँग संवाद गरेको भनिए पनि त्यसले औपचारिक रुप नै लिन सकेन । बरु विवाद कायमै रहेका बेला बिहीबार बन्द प्रशिक्षणका लागि ३० खेलाडीको नाम सार्वजनिक गरिएको छ, जसमा कारबाहीमा परेका चारै जना खेलाडी समावेश छन् ।

अब ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी कारबाही स्वीकार गरेर बन्द प्रशिक्षणमा आए त विवाद सकियो, थप खेलाडी पनि बन्द प्रशिक्षणमा आएनन् भने क्रिकेट संघसँग ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानी खोसेर ‘कारबाही’ गर्ने वा ज्ञानेन्द्रहरुको कारबाहीलाई सदर गर्ने दुई विकल्प मात्र बाँकी रहन्छ । जुन विकल्प रोज्दा पनि नेपाली क्रिकेटलाई क्षति मात्र हुनेछ ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?