+
+

ट्रान्सफर्मर किन्न तत्कालीन नेतृत्वले गरेको ढिलाइले सकसमा कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते २०:५९

१६ पुस, काठमाडौं । झ्याप-झ्याप लाइन गइरहेको समस्याबारे शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर कठमाडौंका केही क्षेत्रमा प्रक्षेपणभन्दा बढी माग आएकाले ट्रान्सर्फमर पडि्कएको बताए । उनले आवश्यक ट्रान्सफर्मर फेर्ने काम भइरहेको त बताए, तर चाहिएजति ट्रान्सफर्मर उपलब्ध नहुँदा प्राधिकरणलाई परिरहेको सकसबारे केही बोलेनन् ।

कुलमान नबोलेपनि प्राधिकरणलाई अहिले चाहिए जति ट्रान्सफर्मर उपलब्ध नभएर सकस छ । प्राधिकरणको नेतृत्वले सम्वेदनशील भएर बेलैमा आवश्यक ट्रान्सफर्मर, मिटर र कन्डक्टर नकिनिदिँदा वर्तमान नेतृत्व सकसमा छ । आपूर्तिको स्वभाविभक चक्र बिथोलिएकाले प्राधिकरणलाई अहिले विभिन्न उपकरणको अभावले सताएको छ । घिसिङ नेतृत्वमा फर्किएपछि ठेक्का लागेपनि आपूर्तिकर्ता कम्पनीले पर्याप्त आपूर्ति गर्न थालिसकेको छैन ।

काठमाडौंको एक वितरण केन्द्र प्रमुखका अनुसार पछिल्ला दिनमा प्राधिकरणका लागि ट्रान्सफर्मर खोज्ने काम सबैभन्दा बढी चुनौतीपूर्ण बनेको छ । देशका विभिन्न भागमा मर्मत गरेर राखिएकादेखि मौज्दातमा राखिएकासम्मका ट्रान्सफर्मर काठमाडौं ल्याइएको छ । र, पनि विभिन्न भागमा ट्रान्सफर्मर जल्दा प्राधिकरणलाई व्यवस्थापन गर्न सकस परिहाल्छ ।

‘एकैपटक ५०-६० वटा ट्रान्सफर्मर जल्दा कित ठाउँमा ट्रान्सफरमर तुरुन्तै जोडजम गर्न पनि सकिएन, पानी परिररहेकाले मर्मतमा गइहाल्न अर्को समस्या पर्‍यो,’ प्राधिकरणका एक अधिकारीले भने,’केन्द्रले बेलामा ट्रान्सफर्मर किनेर मौज्दात नराख्दा अहिले हामीलाई तनाव छ ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गत भदौ ८ गते पोखरामा कुलमान घिसिङले आवश्यकताभन्दा बढी ट्रान्सर्फमर किनेकोतर्फ संकेत गर्दै हेटौंडामा ट्रान्सर्फमरको शहर नै भएको बताएका थिए । तर, त्यतिबेलै शुरू भइसकेको ट्रान्सफर्मर अभाव अहिले चर्किएको छ ।

प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख मनोज सिलवाल भने ट्रान्सफरको उपलब्धता असहज भएपनि व्यवस्थापन नै गर्न नसकिने गरी अभावको अवस्था नरहेको दावी गर्छन् । तर, फिल्डमा भने वितरण केन्द्रहरु मौज्दात ट्रान्सफरमर नभए सकसमा छन् ।

जाडो बढेसँगै लोड बढेर ट्रान्सफर्मर पडि्कने, फ्युज जाने जस्ता समस्या रहेकाले वितरण केन्द्रहरुले सकेसम्म ठूला क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउन माग गरिरहेका छन् । तर, अहिले प्राधिकरणसँग दैनिक बिगि्रएर मर्मत हुनेबाहेक नयाँ ट्रान्सफर्मरको मौज्दात नगण्य परिमाणमा छ ।

गत साउन दोस्रो साता घिसिङ कार्यकारी निर्देशकका रुपमा फर्किनुअघिको एक वर्ष ट्रान्सफर्मर किन्ने प्रक्रियामा अलमल भएको थियो । यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तीन पटकसम्म टेन्डर गर्दा पनि प्राविधिक कारण देखाएर ठेक्का दिने निर्णय गर्न सकेका थिएनन् । प्राधिकरणकोले नियमित तालिकाअनुसार पोल, मिटर र ट्रान्सर्फमर नकिन्दा ग्राउन्डमा अहिले सकसको अवस्था छ ।

‘विद्युतीकरणको दर हेरेर त्यसअनुसार प्रणाली सदृढ र विस्तार गर्न पर्याप्त मात्रामा उपकरण चाहिन्छ,’ प्राधिकरण स्रोत भन्छ, ‘यसअघिको सरकारले कुलमान घिसिङले आवश्यकभन्दा धेरै पोल, ट्रान्सर्फमर र मिटर खरिद गरेर थुपारेको भनेर हल्ला चलाएको थियो, प्राधिकरणको यसअघिको नेतृत्वले पनि आवश्यकता बुझेर समयमै निर्णय नगरिदिँदा अभावको अवस्था आयो ।’

ठेक्का प्रक्रिया लामो हुने भएकाले अभावको अवस्था आउने जोखिमको मूल्यांकन गरेर वर्षैसाल खरिद योजनाअनुसार काम हुनुपर्ने हो । तर, गत वर्ष नेतृत्व परिवर्तन भएर शाक्य कार्यकारी निर्देशक बनेपछि संस्थामा बढेको राजनीतिक प्रभाव र कमजोर निर्णय क्षमताले यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको आरोप छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ ८ गते पोखरामा भएको वृहत कार्यकर्ता भेलामा दिएको अभिव्यक्तिले पनि प्राधिकरणका अधिकारीहरुको तर्कमा बल दिन्छ । ओलीले कार्यकारी निर्देशक हुँदा कुलमान घिसिङले आवश्यकताभन्दा बढी ट्रान्सर्फमर किनेकोतर्फ संकेत गर्दै हेटौंडामा ट्रान्सर्फमरको शहर नै भएको बताएका थिए । पैसा हालेर किनेको तर काम नलागेर फालेको भन्दै उनले थुप्रै बिगाह जमिनमा ट्रान्सर्फमरै-ट्रान्सर्फमर भएको दाबी गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीसम्म यस्तो झुठो तथ्य पुर्‍याएका कारण नै मिटर र ट्रान्सर्फमरको खरिद प्रक्रिया अघि बढाउन प्राधिकरणलाई संकट परेको थियो । मिटर र ट्रान्सर्फमरको आपूर्ति चक्र नबिथोलिने गरी थप मिटर खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा अनेकन बहानामा ढिलाइ हुँदा यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार ढिला गरी अघि बढेको प्रक्रियामा पनि प्राविधिक उल्झन आएको थियो । त्यतिबेलाको नेतृत्वले केही जोखिम मोलेर निर्णय गर्ने आँट नगरेपछि शुरु भएको खरिद प्रक्रिया लम्बिन पुगेको थियो ।

२०७३ अघि पनि प्राधिकरणमा मिटर र ट्रान्सर्फमरको चर्को अभाव हुन्थ्यो । प्राधिकरणले ट्रान्सर्फमर, पोल र मिटर पर्याप्त नकिन्दा प्राप्तिका लागि राजनीतिक पहुँच प्रयोग गर्नुपर्ने अवस्था थियो । २०७३ सालपछि प्राधिकरणले नियमित रुपमा मागअनुसार मिटर र ट्रान्सर्फमर किन्न थालेसँगै आपूर्ति सहज भएको थियो । पहिलो पटक कार्यकायरी निर्देशकका रुपमा घिसिङ आएपछि १४ हजार ट्रान्सफर्मर किन्ने निर्णय लिएका थिए ।

प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सर्फमर गुणस्तरयुक्त प्रमाणित भएर लाइनमा जोडिसकेको छ । फेरि अहिले देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने सयौं ट्रान्सर्फमरको अभावको अवस्था आएको छ ।

प्राधिकरणमा घिसिङ फर्किएलगत्तै नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले तीन हजार नयाँ वितरण ट्रान्सर्फमरको आपूर्ति थाल्ने गरी ठेक्का सम्झौता भएको थियो । निकले करिब एक अर्ब ६० करोडमा ठेक्का हात पारेको हो । निकले आपूर्ति दिन थालिसकेकाले अभावको समस्या लामो सयम नरहने प्राधिकरणको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?