+
+

ओलीले भनेजस्तै हेटौंडामा ‘नक्कली ट्रान्सफर्मरको शहर’ छ ?

कुलमानमाथि ओलीको टिप्पणी-डुप्लिकेट ट्रान्सफर्मर किन्नेलाई खोजी-खोजी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:५३

२० भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाएका छन् ।

नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएको दावी गर्दै उनले त्यस्तै व्यक्तिलाई सरकारले खोजी-खोजी प्राधिकरणमा ल्याएको बताए । सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा  बोल्दै ओलीले भनेका छन्, ‘एमाले आउनुअघि  ल्याएको डुप्लिकेट ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै छ, पैसा हालेर किन्यो, काम नलागेर राखेको । शहरैजस्तो छ ट्रान्सर्फमरको,’ उनले भनेका छन्,’कति बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर छ ।’

कुलमान घिसिङलाई प्राधिकरणका नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे ।  अहिलेको सरकार ‘बहादुर’ भएको भन्दै  ओलीले ‘त्यस्तै काम गर्ने मान्छेलाई खोजी खोजी-खोजी फिर्ता ल्याउँछ’ भन्दै कटक्ष पनि गरे ।

‘सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गर्छ । त्यो पनि मुद्दा छ अदालतमा,’ ओलीले भनेका छन् ।

हेटौंडामा नक्कली ट्रान्सर्फमरको शहर छ ?

प्राधिकरणको हेटौंडास्थित केन्द्रिय भण्डारले भने ओलीको भनाइ तथ्यमा आधारित नभएको बताएको छ । अहिले देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने ट्रान्सफर्मरको अभाव रहेकाले समस्या परिरहेको भण्डारका प्रमुख बुद्धकुमार कार्कीले बताउँछन् ।

प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सफर्मर गुणस्तरयूक्त प्रमाणित भएर लाइनमा जोडिइसकेको कार्कीले बताए । ‘वितरणलाइन सुधारका लागि ८ हजार ट्रान्सफर्मर ल्याउँदा करिब ६०-७० वटा ट्रान्सफर्मरका विभिन्न भागमा टुटफुट देखिएको थियो, यो सामान्य पनि हो,सम्बन्धित आपूर्तिकर्ता कम्पनीले त्यसलाई मर्मत गरिरहेको छ,’ कार्कीले भने,’तोकेको मापदण्ड नपुगी ती ट्रान्सर्फमर जडानका लागि लिन सकिन्न । सामान्य समस्या छ भने पनि हामी ती ट्रान्सफर्मर लिँदैनौं ।’

कार्कीका अनुसर ७० वटा जति मात्रै ट्रान्सफर्मर तत्कालै प्रयोग गर्न सकिने अवस्थामा छन् । प्राधिकरणका विभिन्न आयोजनाहले खरिद गरेर राखेका करिब ७० वटै ट्रान्सफर्मर पनि प्राधिकरणमा छन् ।

‘हामीसँग मुस्किलले १५० वटा ट्रान्सफर्मर छन्, त्यसमध्ये सिधै ७० वटा मात्रै प्रयोग गरिहाल्न सकिने अवस्थामा छन्,’ उनले भने,’आपूर्ति सहज राख्ने हो भने कम्तिमा ५ सय वटा ट्रान्सफर्मर हामीसँग मौज्दातमा हुनुपर्छ ।’

प्रणालीमा जति बेला पनि समस्या आएर ट्रान्सफर्मर बिग्रने सक्ने र वितरणलाइन विस्तार र स्तरीकरण गर्दा फेरिरहनुपर्ने भएकाले भण्डारमा थोरै मात्रै ट्रान्सफर्मर हुँदा त्यसले आपूर्ति  प्रणालीमै समस्या पर्ने कार्कीले बताए ।

‘अभाव हुने अवस्था आएपछि करिब २६ सय ट्रान्सफर्मरको लागि बोलपत्र गरेर कम्पनी छनोटको अन्तिम चरणमा पुगेका छौं,’ उनले भने,’ हेटौंडामा ट्रान्सफर्मरको शहर छ भन्ने अफवाह मात्रै हो । हामी अभाव भोगिरहेका छौं । अर्को हप्ता थप ट्रान्सर्फमर ल्याउन खरिद सम्झौता हुँदैछ ।’

प्राधिकरणका अनुसार दुई साताअघि वितरण केन्द्र प्रमुखहरुसँग गरेको बैठकमा पनि ट्रान्सफर्मर र मिटर अभावको विषय उठेको थियो । प्राधिकरणका एक अधिकारीका अनुसार विगतमा ट्रान्सफर्मर, पोल र मिटर पर्याप्त नकिन्ने र समस्यामा परेपछि जनताले नै राजनीतिक पहुँच प्रयोग गर्नुपर्ने अवस्था थियो । तर, आपूर्ति सहज गरेपछि नेता कार्यकर्ताले ट्रान्सर्फमर र पोल वितरण गरेर राजनीतिक लाभ लिने अवस्था अन्त्य भएको थियो ।

‘अहिले धेरै स्थानीयस्तरमा पहुँचमार्फत प्राधिकरणबाट पोल र ट्रान्सफर्मर दिलाएर राजनीति गर्ने अवस्था नभएपछि कतिपय दलका नेता/कार्यकर्ता छटपटाएका छन्,’ ती अधिकारी भन्छन्,’सायद पूर्वप्रधानमन्त्री ज्युलाई पनि त्यस्तै व्यक्तिहरूले गलत सूचना दिएर भ्रममा पारे होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?