
१८ पुस, काठमाडौं । कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताएका छन् । शनिबार केशव सिलवालको कवितासंग्रह ‘चिबेचरा’ सार्वजनिक कार्यक्रममा कवि निभाले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताए ।
‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ,’ निभाले भने, ‘सबैले बुझ्ने भाषा र बिम्बकै प्रयोग गरेर शक्तिशाली कविता लेख्न सकिन्छ । आजको कविताको प्रमुख विशेषता यही हो ।’
अर्का वक्ता उज्ज्वल प्रसाईंले राष्ट्र, धर्म, जात र मानवीय विभाजनहरूभन्दा कविता उच्च स्थानमा रहने बताए । ‘अबको कविताले राष्ट्रप्रेम र राष्ट्रिय मुद्दा मात्र बोक्नु असान्दर्भिक हुन्छ । कविताले मानव जाति र पृथ्वीको साझा मुद्दालाई सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने ।
जनसंस्कृतिकर्मी माइला लामाले भने केशव सिलवालका कविताले जनताको संघर्षको प्रतिनिधित्व गर्ने बताए । ‘हतकडी लगाएपनि, मुखमा पट्टी बाँधेपनि जनताका गीत बन्द हुँदैनन् । जनताका कुरा कविता र गीतमार्फत सधैं बाँचिरहन्छ,’ लामाले भने ।
कवि धनकुमारी सुनारले भने सम्पूर्ण उत्पीडित, शोषित वर्गको पक्षमा कविता लेख्ने कविको रुपमा सिलवाललाई चित्रण गरिन् । ‘आम सर्जकको जुन कुरामा दृष्टि पर्दैन सिलवाल त्यहीं कविताको बिम्ब भेट्छन् । प्रत्येक कवितामा जनताको आवाज बोल्छन्,’ सुनारले भनिन् ।
सिलवालको यसअघि ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशित भइसकेको छ । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘चिबेचरा’भित्र ५० वटा कविता समेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4