
२१ पुस, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रोले कोभिड-१९ को खोप नलगाएका मानिसको जीवन अप्ठ्यारोमा पार्न चाहेको बताएका छन् ।
‘उनीहरूलाई साच्चै दु:ख दिन चाहन्छु र हामीले यो कार्य जारी राख्ने छौं’, फ्रान्सको ले पेरिसियन पत्रिकासँगको अन्तर्वार्तामा म्याँक्रोले भने । तर म्याँक्रोका राजनीतिक विरोधीले चाँहि अन्तर्वार्तामा उनले प्रयोग गरेको भाषा राष्ट्रपतिलाई नसुहाउने बताएका छन् ।
विपक्षी दलका सांसदको मोर्चाबन्दीका कारण ‘कोभिड पास’ अर्थात् खोप लगाएको प्रमाणसम्बन्धी विधेयकमाथिको छलफल संसदमा स्थगित भएपछि म्याँक्रोको पछिल्लो टिप्पणी आएको हो । उनले अन्तर्वार्तामा मानिसलाई जबर्जस्ती खोप नलगाउने तर खोप नलगाएकाहरूको जीवन कष्टकर बनाइदिने बताएका थिए ।
‘मेले खोप नलगाएका मानिसलाई जेल पठाउने छैन’, म्याँक्रोलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘यही भएर हामीले उनीहरूलाई १५ जनवरीदेखि रेष्टुरेन्टमा जान पाउने छैनौ भन्नुपर्छ । तिमीहरू क्याफे, नाटकघर र सिनेमा घर जान पाउने छैनौं भन्नुपर्छ ।’
म्याँक्रोले प्रयोग गरेको भाषालाई लिएर विपक्षी नेताहरूले उनको विरोध गरेका छन् । ‘त्यस्ता शब्द कुनै पनि स्वास्थ्य आपतकालमा सुहाउँदैनन्’, दक्षिणपन्थी दल रिपब्लिकनका सिनेट नेता ब्रुनो रिटेल्यूले भने, ‘ इमानुअल म्याँक्रोले फ्रेन्च कुरा मन पराउन सिकेको बताउँछन् तर उनले यहाँका कुरालाई घृणा गर्न रुचाउने जस्तो देखिन्छ ।’
दक्षिणपन्थी नेतृ मरिन ले पेनले समेत पदमा बस्न अयोग्य रहेको भन्दै म्याँक्रोको आलोचना गरेकी छन् । ‘राष्ट्रपति जस्तो व्यक्तिले त्यस्तो भन्नु हुँदैन’, उनले ट्विटरमा लेखेकी छन्, ‘इमानुअल म्याँक्रो पदमा बस्न योग्य छैनन् ।’
बामपन्थी नेता जाँ लुक मेलेचोले म्याँक्रोको टिप्पणीलाई ‘आश्चर्य लाग्दो स्वीकारोक्ति भनेका छन् । ‘भ्याक्सिन पास व्यक्तिगत स्वतन्त्रताविरुद्धको सामूहिक दण्ड हो भन्ने प्रस्ट भएको छ’, उनले भने ।
प्रतिक्रिया 4