+
+

पुरातन प्रश्नहरूमा अल्मलिएको माओवादी महाधिवेशन

विष्णुहरि शर्मा विष्णुहरि शर्मा
२०७८ पुष २२ गते १२:१०

पुस १३ गतेदेखि सञ्चालित माओवादी महाधिवेशनको समापन अध्यक्ष प्रचण्डले २६६ जना केन्द्रीय सदस्यको नामावली पढेर सुनाएसँगै समापन भएको छ । यो वर्ष भएका चार वटा महाधिवेशनहरू (नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र माओवादीमा) आधारभूत भिन्नता रहेन । कुनै पनि अधिवेशनले निरन्तरतामा क्रमभङ्ग गर्न सकेनन् । आफ्ना पुराना सोच र चिन्तनबाट एक कदम पनि अगाडि बढ्न सकेनन् ।

विधिको हिसाबले भन्नुपर्दा एमाले र माओवादी भन्दा नेपाली कांग्रेस र राप्रपा बरु एक कदम अगाडि देखा परे । कमसेकम उनीहरूले विधिको हिसाबले कार्यकर्तालाई निर्वाचन तालिकामा प्रवेश गराएका थिए । तुलनात्मक रूपमा उनीहरूले लोकतन्त्रको अभ्यास गर्ने वा आफ्नो विधानमा टेक्ने प्रयास गरेका थिए ।

मतपत्रकै माध्यमबाट कमल थापालाई हटाउने र राजेन्द्र लिङ्देनलाई नेतृत्वमा ल्याउने हिम्मत गरेका थिए । मतदानकै माध्यमबाट युवाहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए ।

यही प्रकृतिको हिम्मत एमाले र माओवादीका नेतृत्व र प्रतिनिधिले देखाउन सकेनन् । प्रतिनिधिहरूलाई निर्वाचनको पोखरीमा पौडाउने हिम्मत देखाउन सकिएन । पदाधिकारीहरू पनि उसले मतदानको माध्यमबाट चुन्ने चुनिने प्रक्रियामा जान सकेन ।

उनीहरूले निर्वाचनको कुरा गरिरहे । मतदान अधिकृत पनि बनाएर राखे तर निर्वाचनमा जाने हिम्मत गरेनन् । उही पुरानै सोच, उही पुरानै कार्यशैली, उही पुरानै परम्पराका आधारमा अधिवेशन सम्पन्न भएका छन् । किताबमा दुई-चार अक्षर थपघट मात्र गरिएका छन् ।

तर त्यो महाधिवेशनमा प्रस्तुत दस्तावेजले कुनै नयाँपन दिन सकेको छैन र प्रचण्डजीको शब्दमा भन्नुपर्दा निरन्तरतामा क्रमभंग गर्न सकेको छैन । आफ्नो टाउकोमा आगो लगाउने उहाँको थेगो पनि कार्यान्वयन भएको छैन ।

यही विचार र नेतृत्वले समाजलाई अगाडि लैजान सक्छ ? माओवादी शक्ति ब्युँझन सक्छ ? प्रश्नहरू जीवितै छन् । सम्भवतः यो महाधिवेशनले माओवादी पंक्तिभित्र पनि धेरै आशा जगाउन सकेन । समय रहँदै सोचून् । समय घर्केपछि सच्याउने सुविधा बाँकी रहने छैन ।

एमाले र माओवादीको अधिवेशनको बीचमा फरक छुट्याउनु पर्दा एमाले अध्यक्ष ओली जे जत्रो गल्ती कमजोरी भए पनि कमजोरी स्वीकार्ने हिम्मत गर्दैनन् भने प्रचण्डले सानै गल्ती भए पनि स्वीकार गरिहाल्ने, जति मर्किनुपरे पनि मर्किहाल्ने तर स्वभाव र व्यवहारमा परिवर्तन नल्याउने । यी दुवै स्वभाव बाहेक चिन्तन र कार्य दिशाबाट मापन गर्दा आधारभूत भिन्नता भेट्टाउन सकिंदैन ।

दुवैतर्फ उन्नत लोकतन्त्रको अभ्यास हुन सकेन । दुवैतर्फ एकाधिकारवादी व्यक्तिवादको अभ्यास गरियो । बीसौं शताब्दीको कम्युनिष्ट विचारभित्रको स्टालिनवाद प्रारम्भ भएको प्राधिकारपूर्ण नेतृत्व बन्ने र बनाउने नकारात्मक इतिहासबाट अधिवेशनहरू माथि उठ्न सकेको सुखद समाचार पाउन सकिएन । २१औं शताब्दीमा राष्ट्र र जनताले खोजेको अन्तरविरोधको हल यी महाधिवेशनहरूबाट पाउन सकिएन ।

समग्रमा भन्नुपर्दा यी अधिवेशनहरूले निर्वाचन आयोगले खोज्ने वैधानिकतालाई विधिगत रूपमा हल गरेको छ । आफ्ना कार्यकर्तालाई एकीकृत र संगठित गर्ने काम गरेको छ । यसले कार्यकर्तामा केही ऊर्जा र उत्साह पनि थपेको छ ।

यसले निर्वाचनमा सहभागी हुन उनीहरूलाई मद्दत नै गर्नेछ । तथापि हामीले जुन कुराको आशा गरेका थियौं, खासगरी माओवादी पार्टीको अधिवेशनबाट त्यो कुरा पाउन सकिएन, अधिवेशन हेटौंडा, विराटनगर भन्दा अगाडि जान सकेन । समय धेरै अगाडि बढिसकेको छ । पार्टीका काँधहरूमा नयाँ कार्यभार थपिएको छ । रेल छुटिसकेको छ । हामी सबै ढिला भइसकेका छौं ।

पार्टीहरू भनेका समाजका अग्रचेतना हुनुपर्छ । समाजलाई अगाडि लैजाने परिकल्पना र दृष्टिकोण चाहिन्छ । पुराना गन्थनमन्थन सुन्न इतिहास पढे भइहाल्यो । दलका नेताबाट जनताले अगाडि बढ्ने योजना खोज्छन् । त्यो कुनै पनि दलहरूमा भेटिएन । केही पार्टीका केही पदमा केही नयाँ अनुहार देखा परे ।

राप्रपाको नेतृत्व पछाडि जाने नै कुरा गरिरहेका छन् । कमल थापाभन्दा थप पछाडि जाने कुरा युवा नेतृत्वबाट सुन्नु परेको छ । ठीकै छ, मुलुकको सम्वद्र्धनवादी धारको नेतृत्व गरे पनि गणतन्त्र र अहिलेको संवैधानिक व्यवस्थाभित्र रहन सक्नुपर्थ्यो।

कांग्रेसका युवा नेताहरूले पनि पार्टीभित्र निर्णायक विद्रोह गर्न सक्ने अवस्था छैन । सम्भवतः उनीहरूले त्यो हिम्मत देखाउन नसक्लान् । एमालेभित्रको अल्पमत दबिएको अवस्थामा छ । उनीहरू केवल बोल्न सक्ने अवस्थामा छैनन् चाहेर पनि ।

माओवादीभित्र त असन्तोष दबाउनुपर्ने अवस्था देखियो । कोही कसैले नेतृत्व विरुद्ध बोल्ने हिम्मत गर्न सके जस्तो लाग्दैन । महाधिवेशनमा एक दुई थान भीम रावल र घनश्यामहरू माओवादीभित्र देखिएनन् ।

प्रचण्डले वाचन गरेर सुनाउनुभएका सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बधाई दिन चाहन्छु । उहाँहरूको व्यक्तिगत जीवन सुखद् रहोस् । तर यही विचार र नेतृत्वले समाजलाई अगाडि लैजान सक्छ ?

माओवादी शक्ति ब्युँझन सक्छ ? प्रश्नहरू जीवितै छन्। सम्भवतः यो महाधिवेशनले माओवादी पंक्तिभित्र पनि धेरै आशा जगाउन सकेन । समय रहँदै सोचून् । समय घर्केपछि सच्याउने सुविधा बाँकी रहने छैन ।

(लेखक जसपा सल्लाहकार समितिका संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?