२५ पुस, काठमाडौं । ‘मम्मी यो त गुलाबी छ, केटीको रंग । म यो लगाउन्न ।’ काठमाडौं कंलकी बस्ने बिजुला सुनारका पाँच वर्षे छोरा अविले यसो भन्दै गुलाबी रंगको टोपी लगाउन मानेनन् ।
‘पहिला सबै रंगका कपडा लगाइदिएको थिएँ,’ बिजुला भन्छिन्, ‘स्कुल जान थालेपछि चाहिं आफैं रंग छुट्याउन थालेको छ । यो रंगको कपडा, त्यो रंगको खेलौना भन्दै आफूले लिने वा नलिने बताउन थालेको छ ।’
पछिल्लो समय विशेषतः शहरी क्षेत्रका बालबालिकामा देखिएको यो प्रवृत्ति उनीहरुको शारीरिक-मानसिक विकासमा असर पुर्याउने खालको भएको मनोविश्लेषक वासु आचार्य बताउँछन् । ‘अहिले ‘बेबी सावर’ गर्ने, भ्रुण पहिचान गरेर छोरा भए निलो र छोरी भए गुलाबी रंगले हल सजाउने, त्यही रंगको केक काट्ने चलन खुब बढेको छ,’ उनी भन्छन्, ‘यसले लैगिंक विभेदलाई डरलाग्दो गरी प्रोत्साहन गरेको छ ।’
अभिभावकले नै छोरा र छोरीको प्रतीक भन्दै लिंगअनुसार रंग छुट्याएर खेलौना, झोला, कपडा आदि दिनु विल्कुलै बेठिक भएको आचार्य बताउँछन् । यसले बाबबालिकाको विकास क्रममै लैगिंक विभेदको जगलाई बलियो बनाउने उनी बताउँछन् ।
‘महिला र पुरुषमा फरक भनेको शारीरिक मात्र हो । महिला र पुरुषको हार्मोन फरक हुन्छ । सामाजिक र मानसिक रुपमा दुवै समान हुन्,’ मनोविश्लेषक आचार्य थप्छन्, ‘यस्तो प्राकृतिक कुरामा ध्यान नदिई घरमै लैंगिक विभेदको जग बसाउनु विल्कुलै गलत हो ।’
उनका अनुसार छोरा होस् या छोरी, उनीहरुलाई समान व्यवहारका साथ हुर्काउनु हितकर हुन्छ । बालबालिकाहरु केही जान्दैनन् भन्ने सोच्न नहुने उनी बताउँछन् । ‘उमेरअनुसार बुझ्ने क्षमता सबैमा हुन्छ, कस्तो वातावरणमा हुर्काएको भन्ने कुराले उनीहरुको व्यक्तित्व निर्माणमा ठूलो अर्थ राख्छ,’ मनोविश्लेषक आचार्य भन्छन् ।
उनका अनुसार रंग र मानिसबीच कुनै नियम नै छैन । बनावटी कुराले समाजमा लैंगिक विभेद बढाएको उनको बुझाइ छ । लैंगिक विभेदलाई प्रोत्साहन गर्नेगरी कार्टुन, कपडा, झोला, खेलौना आदि उत्पादन र उपभोग गर्नु नै गलत भएको आचार्य बताउँछन् ।
प्रतिक्रिया 4