+
+

यथार्थको कसीमा जैविक खेती

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७८ पुष २५ गते १५:०३
फाइल तस्वीर

आधारभूत खानेकुरामा अरूमाथि भर पर्ने कुरा समाजमा स्थापित प्रकृतिसम्मत मूल्यमान्यता, संवैधानिक हक, आम मानिसको स्वच्छ र स्वस्थ खान पाउने अधिकार, किसानीमा आधारित जीवनपद्धति, किसानको आम्दानी र रोजगारी, चलायमान र समृद्ध अर्थतन्त्र, आम मानिस र वातावरणीय स्वास्थ्यको मर्म विपरीत छन् । तर हामी यस्तै विपरीत दिशातर्फ धकेलिंदै गएका छौं । यसले नेपाली समाज, आम मानिस र प्रकृतिमा ठूलो संकट निम्त्याउने संकेत समेत देखिन थालिसकेको छ ।

सबैलाई थाहै छ, जीवित अस्तित्वमा रहेका सबै प्रजातिलाई जीवन ऊर्जाका लागि हावापानी र खाना चाहिन्छ, यो प्रकृतिको शाश्वत नियम हो । अन्य साना ठूला सबैखाले प्रजातिले यस्तो खानाको जगेर्नासम्म गर्ने गर्छन् । तर मानव प्रजातिले भने हजारौं वर्षदेखि यसको बन्दोबस्त गर्न आफैंले खेतीपाती गर्ने गरेको छ ।

यसरी खानेकुराको बन्दोबस्त गर्न प्रकृतिबाट सिक्दै उत्पादन गर्ने किसान र भान्सासम्म पुर्‍याउने फौबन्जार आधुनिक मानव समाजका सामाजिक उद्यमी हुन् । तर यिनको सामाजिक उद्यम अहिले उनीहरूको नियन्त्रणबाट बिचौलियामा सरिरहेको छ ।

खानेकुराका लागि गरिनुपर्ने खेतीपाती नाफाका लागि मात्र गर्ने प्रवृत्ति बढिरहेको छ । धेरै फलाउन गरिने खेतीपाती र खानेकुराको बजार नाफा कुम्ल्याउने होडबाजीले विषाक्त र पत्रु हुँदै गएका छन् । यो नै मानव संकटको मुख्य कारण समेत बन्दै गएको छ ।

यसमाथि अनुपयुक्त ढाँचाका कारण हाम्रो देशमा खाना र खेतीपाती दुवैमा निरन्तर आयातमा भर पर्नुपर्ने भएको छ । यसले खेतीपाती, खाना र किसानी संकटग्रस्त हुँदै गएको छ । यी सबैलाई पुनर्जीवित नगरे संकट झनै गहिरिंदै जाने पक्का छ । यस अर्थमा किसानी र भान्सासम्म पुर्‍याउने उद्यमलाई उन्नत र दिगो बनाउन ढिला गर्न नहुने भएको छ । त्यसैले यो कस्तो बनाउने भन्ने कुरामा अब गम्भीर बहस चाहिएको छ ।

खानाका लागि खेतीपातीका तुलनात्मक लाभका क्षेत्रहरू र खाद्यका लागि स्थानीय रैथाने उत्पादन प्रणालीमा जोड नगरी खानाका लागि गरिने खेतीपाती दिगो बनाइराख्न सम्भव हुँदैन । समग्रमा, कृषि क्षेत्र दिगो बनाउन यसलाई उन्नत बनाउनै पर्ने हुन्छ । यसलाई उन्नत बनाउनका लागि प्रकृतिको नियमबाट सिकेर जैविक बाटो नसमाती अर्को विकल्प देखिंदैन । तर यो बाटोमा जान सबै तहमा थुप्रै हिचकिचाहट देखिएको छ ।

यस्तो खेतीपातीको पद्धतिबारे धेरै भ्रमहरू छरिएका छन्, यथार्थ भने बेग्लै छ । यी भ्रम र यथार्थमा पर्याप्त बहस गरेर सबै तहमा स्पष्टता ल्याउन आवश्यक छ । यो लेखमा यिनै विषयमा छोटो चर्चा गर्ने कोशिश गरिएको छ ।

खेतीपाती विकासे राम्रो हुन्छ भन्ने ठूलो भ्रम छ । सामान्यतया ठूलो, चिल्लो, राम्रो, रसायन र विषादिमा आधारित सफल, एकल खेतीपाती र ठूला वस्तुभाउलाई आम मानिसले विकासे भनेर बुझ्ने गरेका छौं ।

यस्तो खेतीपातीको विकास समेत विकसित भनेर चिनिएका क्षेत्रमा भएकोले राम्रो हुन्छ भन्ने भ्रम छ । यथार्थमा कुनै पनि खानेकुरा स्थानीय समाज र संस्कृति अनुसारको स्थानीय भूगोल र पर्यावरणीय विशेषतामा प्राकृतिक रूपमै उब्जाउने प्रणालीमा आधारित हुनुपर्छ । मौसम अनुसारको कृषि उपज, साना पशुपन्छी, कीराहरू र यसबाट बनाइने खानेकुरा नै हाम्रो शरीरका लागि सबैभन्दा उपयुक्त हुन्छ ।

प्रशोधित (पत्रु) खानेकुरा धेरै मीठो र पौष्टिक हुन्छ भन्ने भ्रम छ । यो भ्रमले धेरै मानिस सजिलो, मीठो र छिटो भन्दै पत्रु खानामा लहसिएका छन् । यथार्थमा यो अर्को ठूलो भ्रम हो ।

मौसममा फलाएर कुनै मिसावट विना सुकाएर वा अचार बनाएर राखेको बाहेक बढी समय टिकाउनका लागि भन्दै कृत्रिम रसायन र अन्य तरिका अपनाएर प्रशोधन गरी प्लाष्टिक पोकामा पाइने खानेकुरा सबैभन्दा पत्रु हुन्छन् ।

यस्ता खानेकुरा जोगाउन भन्दै यसमा मिसाइने चिनी, धेरै नून र खराब चिल्लोले यसलाई थप विषाक्त बनाउँदै नसर्ने दीर्घरोग बढाउँछन् । चिनीको स्वादले मानिसलाई अम्मली बनाउने कुरा अनुसन्धानले देखाएको छ । विडम्बना, यस्तो अम्मली खानाले अहिले औषधि हुनुपर्ने खाना विषमा परिणत भएको छ ।

सामान्यतया माटोमा उम्रन सक्ने अवस्थामा रहेको खानेकुराको तह भन्दा बढी प्रशोधन गरिने कुराले यसको प्राकृतिक गुणमा ठूलो फेरबदल ल्याउँछ । यस्तो गुणमा फेरबदल भएको खानेकुरा पचाउने रसायनिक प्रक्रियाले हाम्रो पेटमा हुने जैविक विविधता विघटन हुँदै जाँदा यसले कालान्तरमा नसर्ने दीर्घ रोग हुने जोखिम झनै बढाउँछ । सँगै खाना आहारविहारसँग पनि सम्बन्धित छ ।

हिजोआज काम नगरी किनेर खान पुगिसरी आउनेहरू काम गर्नु नपर्दा गजक्क पर्छन् जबकि अलिपछि डाक्टरले चिनी, उच्च रक्तचाप हुनेहरूलाई हिंडडुल गर्ने सल्लाह दिन्छन् । केही मात्रामा आफैं उमार्नु र वस्तुभाउ हुर्काउनु दोहोरै हिसाबले फाइदाको कुरा हो ।

जैविक कृषि पुरानो (ढुङ्गे) युगतिर फर्कनु हो, अब कसले त्यस्तो खेतीपाती गरेर बस्छ भन्ने नियोजित भ्रम छ । जैविक कृषि प्रणाली भनेको पुरानो कृषि प्रणालीमा फर्किनु कदापि होइन । अहिलेको अजैविक कृषि प्रणालीलाई जैविक कृषिमा फेर्ने बाटो हो ।

नेपाली समाज ‘भाते’ बन्दै गएको छ । खानेकुरा मध्ये भात सबैभन्दा राम्रो हुन्छ भन्ने भ्रम व्यापक छ । धान हाम्रो मुख्य बाली हो, यसमा कुनै द्विविधा छैन । नेपालमा धानको भात खाने कुरा सामाजिक प्रतिष्ठा बनाउँदै यसको मात्र प्रचार गर्दै जाँदा भाते संस्कृति विकसित भएको छ ।

स्थानीय विशेषताका मुख्य कृषि उपज हुने कुरा हामीले अपनाउने खेतीपाती प्रणालीमा भरपर्ने कुरा हो । यूरोपेलीले गहुँ र गाईलाई त्यसैगरी लिए । तर कुनै पनि एउटा मात्र खानेकुरा धेरै राम्रो र अरू नराम्रो हुन्छ भन्ने होइन । हाम्रो खानामा शरीरलाई चाहिने खनिज, भिटामिन, कार्बोहाइड्रेट, चिल्लो, प्रोटिन र रेसाको सन्तुलन हुनुपर्छ । विविधता जति धेरै भयो त्यति धेरै सन्तुलित पोषण पाइने हुन्छ ।

जैविक उत्पादन कम हुन्छ भनेर खाना र खेतीपातीका बिचौलिया चर्को चर्को स्वरमा कराइरहेको सुनिन्छ । वास्तवमा परम्परागत एकल उत्पादनभन्दा विविधतापूर्ण समग्र जैविक उत्पादन बढी हुन्छ तर यस्तो प्रचार हुनुमा खाना र खेतीमा व्यापार गरेर धेरै नाफा कमाउने निहित स्वार्थ जोडिएको छ ।

कृत्रिम रसायन र विषादिको प्रयोगले धेरै उत्पादन हुने कुरा क्षणिक हो । यो कुरा हजारौं वर्षमा नबिग्रेको माटो र यसको उत्पादन क्षमता रसायन र विषादीको प्रयोगले केही दशकमै घटेको कुराले पुष्टि हुन्छ ।

शुुरुमा कृषि भूमि र बीउको सुधार, कृत्रिम मलखाद, सिंचाइ, कीटनाशक र यन्त्रको प्रयोग गरेर कृषि उत्पादन अवश्य बढेको थियो तर अहिले कृत्रिम मलखाद र विषादीले माटो विषाक्त भइसक्यो तर मल र विषादिको मात्रा झन् झन् बढाउनु परिरहेको छ ।

विकासे भनिने बीउ समेत नपुंसक छ त्यो पनि अरूकै नियन्त्रणमा छ । पशुपन्छी उत्पादनमा प्रयोग हुने अत्यधिक कृत्रिम रसायनले यस्ता उत्पादन खान अयोग्य हुँदै गएका छन् । यिनको स्याहार खानपानमा बाह्य स्रोतमा धेरै भरपर्दा मासु तथा अण्डा उत्पादन दिनदिनै महङ्गो हुँदै गएको छ ।

जैविक कृषिमा धेरै लगानी र मिहिनेत गर्नुपर्छ तर आम्दानी छैन भन्ने अर्को भ्रम छ । वास्तवमा जैविक कृषि प्रणालीमा धेरै काम गर्नुपर्ने होइन । तर परम्परागत खेती प्रणालीले बिगारेको माटो, वातावरण र जैविक प्रक्रिया पुनर्जीवित गर्न शुरुमा काम बढी गर्नुपर्ने हुन्छ ।

बरु हाम्रो समग्र शरीर चलायमान बनाउने श्रम गर्ने बानी जीवनशैली परिवर्तनको सबैभन्दा उपयुक्त तरिका हो । यो प्रणाली स्थानीय स्रोत, साधन र श्रममा आधारित भएकोले कम खर्चिलो हुन्छ । सँगै, यस प्रणालीमा प्रकृतिले एकीकृत भएर काम गर्ने वातावरण हुँदा बाह्य स्रोतको लागत घट्न गई यो सस्तो हुँदै समेत जान्छ । अजैविकबाट जैविक संक्रमण हुँदै जाने हुँदा यो दीर्घकालमा बढी फाइदाजनक हुँदै जान्छ ।

यो सँगै जैविक कृषि पुरानो (ढुङ्गे) युगतिर फर्कनु हो, अब कसले त्यस्तो खेतीपाती गरेर बस्छ भन्ने नियोजित भ्रम छ । जैविक कृषि प्रणाली भनेको पुरानो कृषि प्रणालीमा फर्किनु कदापि होइन । अहिलेको अजैविक कृषि प्रणालीलाई जैविक कृषिमा फेर्ने बाटो हो ।

यस अर्थमा पुर्खाका प्रकृतिसम्मत ज्ञान, सीप, विवेकलाई आजको सन्दर्भमा उपयुक्त बनाउन उन्नत बनाउँदै जाने तरिका हो । यो अहिले अजैविक कृषि प्रणालीले थोपरेका पृथ्वीका समस्या समाधान गर्ने सम्भवतः अन्तिम अग्रगामी उपाय हो ।

जैविक अजैविक भन्ने कुरा बेकार हो । जसरी पनि पोषण लिने हो भन्ने समेत भ्रम छ । मसिनोसँग नकेलाउने हो भने यो धेरैलाई भ्रमित गर्ने कुतर्क हो । जैविक प्रक्रियामा प्रकृतिले सन्तुलित रूपमा काम गर्छ ।

यसका बारेमा अझै पनि हामीलाई धेरै थाहा छैन । तर यसमा रासायनिक प्रक्रियाबाट निस्कने विषाक्त तत्व तथा यौगिक स्वचालित प्रणालीका आधारमा व्यवस्थित रूपमा विसर्जन हुन्छ । सँगै यसको व्यवस्थापनमा सबै साना तथा ठूला जीवले काम गर्छन् तर अजैविक प्रक्रियामा प्रकृतिको यो नियमको जबर्जस्ती उल्लंघन गरिएको हुन्छ ।

उत्पादन बढाउने भन्दै पोषणका नाम दिइने बाह्य तत्व र यौगिकले यो प्राकृतिक सन्तुलन बिगार्ने र जीवहरूको पारस्परिक अन्तरसम्बन्ध भत्काउँदै लैजान्छ । यसले जैविक विविधता निरन्तर विघटन हुने गर्छ । बस्तुभाउ तथा मानिसको पिसाब र कृत्रिम रूपमा बनाइने युरियाले माटो र बिरुवामा पार्ने फरक प्रभाव यसको उदाहरण हो ।

यी केही उदाहरण मात्र हुन् । यी र यस्ता भ्रम नचिरेसम्म हाम्रो खाना र खेतीपातीका बारेमा फैलिएका भ्रमले प्रकृतिको निरन्तर विघटनको शर्तमा कृत्रिम रसायन, विषादि, प्लाष्टिक र हर्मोनको उत्पादन र नपुंसक बीउ र ब्याड उत्पादन गर्ने प्रक्रिया रोकिंदैन ।

यसले यस्ता सामग्रीको उत्पादन, व्यापार र तिनलाई सघाए बापत भाडा असुलेर वैभव भित्र्याउने केही मुट्ठीभर मानिसलाई क्षणिक लाभ मात्र दिन्छ भने आम मानिसको स्वस्थ खानेकुरा, जीविका, आम्दानी रोजगारीका क्षेत्र साँघुरिंदै जान्छ ।

समय छँदै यी विषयमा विचार गर्न, अरूलाई विचार गर्न सघाउन र सच्याउन प्रयास गरौं । हाम्रो साना प्रयत्नले हाम्रै जीवन र भविष्यका सन्ततिको जीवनमा समेत धेरै ठूलो असर पार्छ भन्ने कुरा नबिर्सौं ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?