+
+

कोरोनाको बढ्दो ग्राफ : ठूला शहर र सीमा नाकामा चाप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २१:०३

२५ पुस, काठमाडौं । पुस १९ गतेयता कोरोना भाइरसको दैनिक संक्रमण वृद्धि हुँदै गएको छ ।

पुस १९ गते औसत १०० जनामा कोरोना परीक्षण गर्दा २.६ जनामा संक्रमण देखिएकामा पुस २५ गते भने ९.२४ जनामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६३२ परीक्षण (पीसीआर र एन्टिजेन) हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित यो संख्या दोस्रो लहर मत्थर भएपछि सबैभन्दा धेरै हो ।

उपत्यका संक्रमण फैलावटको केन्द्र बन्दै

काठमाडौं उपत्यकाका तीन ठूला शहरमा दैनिक कोरोना संक्रमित संख्या बढ्दो छ । दैनिक संक्रमण हुने संख्या बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमण फैलावटको केन्द्र बन्न सक्ने खतरा बढ्दै गएको देखिन्छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दोस्रो लहरमा पनि शहरबाटै गाउँतिर कोरोना फैलिएको बताउँछन् । ‘अहिले पनि विशेष गरेर ठूला शहरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमित संख्या बढ्दो छ । यो स्वभाविक पनि हो । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा बढी जनघनत्व भएको ठाउँमा संक्रमणले गति लिन्छ’ उनले भने ।

सरकारले नेपालमा अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको दावी गरेको छ । भारतमा ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतसँगको खुला सीमा नाकाका कारण मानिसहरु सहजै नेपाल भित्रिरहेका छन् ।

भारतबाट नेपाल भित्रिएका धेरै नागरिकमा संक्रमण पुष्टि भइरहेको छ । सीमा नाकामा एन्टिजेन परीक्षण नभएकाहरु सहजै देशका विभिन्न भागमा पुगिरहेका छन् । उनीहरुबाट संक्रमण फैलने खतरा रहेको डा. पुन बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या कुल संक्रमित संख्याको आधाभन्दा बढी हो ।

पुस १९ गते काठमाडौं जिल्लामा १४० जना संक्रमित थपिएका थिए । तर पुस २५ गते यो संख्या ४९१ पुगेको छ । यस्तै भक्तपुरमा पुस १९ गते १६ जना मात्रै संक्रमित थपिएका थिए । तर पुस २५ गते यो संख्या बढेर २५ मा पुगेको छ । यस्तै ललितपुरमा पुस १९ गते २८ जना संक्रमित थपिएका थिए । तर आइतबार यो संख्या बढेर ९९ पुगेको छ ।

सीमाका ठूला शहर पनि कोरोनाको चपेटामा

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतसँग सिमाना जोडिएका शहरमा पनि संक्रमितको संख्या बढिरहेको छ ।

मोरङको विराटनगर र रुपन्देहीको बुटवल शहरमा पछिल्लो समय दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । मोरङमा पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ पुस २३ गते २९ र पुस २४ गते १६ जनामा संक्रमण पुष्टि भएको छ ।

हेल्थ डेक्समा दैनिक संक्रमण पुष्टि हुने संख्याले पनि भारतसँग सीमा जोडिएका शहरहरु कोरोनाको बढी जोखिममा परेको देखिन्छ ।

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट रोक्नका लागि भारतसँग सीमा जोडिएका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर परीक्षणलाई तीव्रता दिँदै आएको छ ।

पछिल्लो एक सातायता हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षण अनुसार पुस १९ गते ५ जना संक्रमित फेला परेका थिए । तर पुस २५ गते यो संख्या बढेर २५० जना पुगेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. पुन सीमा नाकाको हेल्थ डेस्कमा बढी संक्रमित पुष्टि हुनुलाई पनि आश्चर्य मान्दैनन् । उनी भन्छन्, ‘भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ ।

हेल्थ डेक्स्कमा परीक्षण हुने व्यक्तिहरु उतैबाट आएका हुन् । ओमिक्रोन प्रभावित ठाउँबाट आएका व्यक्तिहरुको परीक्षण हेल्थ डेस्कमा हुने भएकाले बढी संक्रमित देखिएको हो ।’

पोखरा शहर पनि कोरोनाको जोखिममा

भारतीय सीमा नाकासँग जोडिएका शहर र संघीय राजधानी काठमाडौं उपत्यकाका तीन ठूला शहर मात्रै होइनन्, पर्यटकीय नगरीको रुपमा पहिचान बनाएको कास्कीको पोखरामा पनि कोरोना संक्रमण बढ्दो छ ।

पछिल्लो २४ घण्टामा कास्कीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत पुस २० गते १२ जना मात्रै संक्रमित थपिएका थिए । पुस २० गतेको तुलनामा आइतबार दोब्बरले संक्रमित थपिएका हुन् ।

पर्यटकीय चहलपहल, राजनीतिक गतिविधि, जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ लगायतले गर्दा पोखरामा कोरोना संक्रमण बढ्दै गएको हुन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. पुन दोस्रो लहर मत्थर भएसँगै बढेको भीडभाडले पनि संक्रमण पुनः फैलन सघाएको बताउँछन् । डा. पुनले भने, ‘कोरोनाका सामान्य लक्षण भएका सबैले अहिले परीक्षण गरिरहेको अवस्था छैन । जसका कारण भित्रभित्रै यसको संक्रमण फैलिरहेको हुन सक्छ । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्नु आवश्यक छ ।’

अस्पतालमा संक्रमितको चाप बढ्दो

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायतका अस्पतालहरुमा संक्रमितहरुको चाप बढेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका डा. बस्नेतले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएका छन् ।’

कोभिडको संक्रमण बढेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?