+
+

‘तेस्रो लहर शुरु भइसक्यो, अब अस्पतालमा चाप बढ्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते २१:३४

२७ पुस, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सकिएसँगै निरन्तर ओरालो लागेको कोभिड–१९ का संक्रमितको संख्या पछिल्लो महिनाहरुमा डेढ/दुई सय आसपास रह्यो । संक्रमणदर २/३ प्रतिशतभित्र रह्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० पुसमा १६७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो दिन संक्रमणदर २.५९ प्रतिशत मात्र थियो ।

तर पछिल्लो एक सातामा कोरोना संक्रमण यति तीव्र फैलिएको छ कि मंगलबार दैनिक पहिचान हुने संक्रमितको संख्या २,४४४ पुगेको छ भने संक्रमण दर १६.३ प्रतिशत  छ । आइतबार नयाँ संक्रमितको संख्या ११६७ तथा संक्रमण दर ९.१ प्रतिशत र सोमबार नयाँ संक्रमितको संख्या १४४६ र संक्रमण दर १२.७ थियो ।

बढ्दो संक्रमणले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा पुगिसेकेको प्रष्ट हुने सरकारी अधिकारी बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल तेस्रो लहर सुरुवात भएको बताउँछन् ।

‘पुस पहिलो हप्ता संक्रमण दर २ प्रतिशतको रहेकोमा दुई साताभित्रै १८ मा पुगेका छौं,’ डा. पौडेल भन्छन्, ‘संक्रमित संख्या दुई–दुई दिनमा दोब्बर संख्यामा देखिएको छ, यसले हामीकहाँ तेस्रो लहरको सुरुवातमा गइसकेका पुष्टि गर्छ ।’

उनका अनुसार तेस्रो लहर ल्याउन ओमिक्रोनकै भूमिका छ । केही दिनअघि जिन सिक्वेन्सिङ गरिएको सबै २४ नमुनामा ओमिक्रोन पुष्टि भएको उल्लेख गर्दै डा. पौडेलले भने, ‘अब देखिएकाले कोरोनालाई ओमिक्रोन मान्न सकिन्छ ।’

ओमिक्रोनको संक्रमण भएका एक व्यक्तिले १० जनाभन्दा बढीलाई संक्रमण सार्नसक्ने अध्ययनहरुले देखाएको छ ।

‘विभिन्न अध्ययनले ओमिक्रोन अन्य भेरियन्ट भन्दा बढी संक्रामक छ भन्ने पुष्टि भइसकेको छ,’ कोरोना भाइरसको उतारचढावलाई नियालिरहेका सूक्ष्म जीवाणु विज्ञ डा. सन्तोष दुलाल भन्छन्, ‘अन्य भेरियन्ट तुलनामा आर नट (अरुमा सार्ने दर) ११ भन्दा माथि छ ।’ जबकि नेपालमा दोस्रो लहर ल्याएको डेल्टा भेरियन्टमा एक संक्रमितले ७ जनासम्मलाई सारेको देखिएको थियो ।

पहिलो र दोस्रो लहरमा दैनिक १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका थिएनन् । तर अहिले २५ लाख दैनिक संक्रमित थपिएकाले सुनामीको रुप लिएको डा. दुलाल भन्छन् ।

नेपालको हकमा संक्रमण समुदायमा पुगेको छ, तर त्यस स्तरमा परीक्षण नभएकाले आगामी दिनमा संक्रमण अझ बढ्ने र दुई हप्ताभित्र अस्पतालहरुमा भर्ना हुने दर उकालो लाग्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

उनले अघि भने, ‘कुनै एक व्यक्ति आज संक्रमित भयो भने एक हप्तामा संक्रमणका लक्षण देखा पर्छन् । अर्को हप्ता निमोनिया वा गम्भीर असर देखाउन थाल्छ । त्यसको केही दिनमा अक्सिजन अभावका कारण मानिसहरु अस्पताल जान थाल्छन् ।’

महामारी विज्ञ डा. केदार बराल पनि हालको संक्रमण दर कायम रहे अस्पतालमा बिरामीको चाप बढ्ने बताउँछन् । ‘सरकारले जति पनि संख्यामा परीक्षण गरेको छ, त्यो भन्दा धेरै केस समुदायमा हुन्छ । त्यसैले अबको दुई हप्ताभित्रमा धेरै जनसंख्यामा संक्रमण पुष्टि हुने निश्चित छ,’ डा. बराल भन्छन्, ‘सरकार संक्रमण दर घटाउन तथा अस्पतालमा पूर्वाधार व्यवस्थापनमा ढिलाइ गर्न हुँदैन ।’

दैनिक दोब्बरको संख्यामा संक्रमितको थपिँदै जानुले ठूलो चुनौती सामना गनुपर्ने संकेत गरिरहेको त्रिवि शिक्षण अस्पतालका फोर्कल पर्सन डा. निरज बम बताउँछन् ।

‘कसरी, कहाँ, कुन माध्यामबाट कोरोनाको संक्रमण भइरहेको छ पुष्टि गर्न गाह्रो भइरहेको छ,’ बम भन्छन्, ‘संक्रमित संख्या बढिरहेको देख्दा आगामी दिनमा अस्पतालका आईसीयू तथा भेन्टिलेटरमा संक्रमितको चाप बढ्छ ।’

खोप नलाएका बालबालिका संक्रमित भएर अस्पताल भर्ना भएको खण्डमा गम्भीर जोखिममा पार्ने सक्ने डा. दुलाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?