+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मामा-भान्जाको बन्जारा एग्रो : लगानी ५० करोड, लक्ष्य दैनिक ५ हजार लिटर दूध उत्पादन

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २८ गते २०:१०

२७ पुस, विराटगर । विराटनगरको दक्षिणी क्षेत्र दरैयामा दुई जनाले आधुनिक कृषि फर्म सुरु गरेका छन् । गजेन्द्र शर्मा बन्जारा र सञ्जय चौलागाईले पाँच विगाहा क्षेत्रमा ‘बन्जारा एग्रो’ सुरु गरेका हुन् ।

जग्गा खरिद र संरचना निर्माणसहित फर्ममा ८ करोड लगानी भइसकेको उनीहरुको भनाइ छ । तीन वर्षभित्र लगानी ५० करोड पुर्याएर दैनिक पाँच हजार लिटर दूध र पाँच हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य सहित काम अघि बढेको चौलागाई बताउँछन् ।

नाताले मामा–भान्जा रहेका चौलागाई र बन्जारा होटल क्षेत्रमा थिए । बन्जारा चीनमा होटल क्षेत्रमै कार्यरत छन् । चौलागाई फर्मको रेखदेख गर्न विराटनगरमा छन् ।

मामा–भान्जाले काठमाडौंको होटल प्याराडाइज प्लाजामा सँगै काम पनि गरे । होटलको काम छाडेर अनामनगरमा द ढावा काठमाडौं सञ्चालन गरे । चौलागाईका अनुसार २०५९ सालमा ढावामा दैनिक बिक्री ५० हजार बराबरको थियो । ६ वर्ष ढावा सञ्चालनपछि बन्जारा विदेश गए । स्वीजरल्याण्डमा होटल म्यानेजमेन्ट पढेका चौलागाई चीनको बेइजिङमा रहेको होटल हिल्टन र कोन्ड्राइट होटलको जिएम छन् ।

होटल व्यावसाय सञ्चालनका लागि विराटनगर आएका चौलागाईले होटल खोल्न सकेनन् । सानो लगानीमा कृषि फर्म सञ्चालन गरिरहेका चौलागाईले मामा गजेन्द्र छुट्टीमा आएपछि ५० करोड लगानी गर्ने लक्ष्यसहित बन्जारा एग्रोको काम सुरु गरे । एक वर्षयता सुरु भएको फर्मका लागि पाँच विगाहा जग्गा खरिद, टनेल निर्माण, गाई फर्म निर्माण, गाई र मेसिन खरिदमा ८ करोड लगानी भइसकेको छ ।

दुई सय गाई पालेर दैनिक पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका चौलागाईले हाल दैनिक ६ सय लिटर दूध उत्पादन भइरहेको बताउँछन् । दैनिक पाँच हजार किलो तरकारी पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

दुई सयवटा गाई पालनका लागि आधुनिक गोठ पनि तयार भएको छ । गोठमा होलिस्टेन जर्सी जातका ५० गाई छन् । दैनिक ४० लिटरसम्म दूध दिने गाईबाट ६ सय लिटर दूध उत्पादन भइरहेको उनले बताए ।

दुई सय गाईका लागि अटोमेटिक फर्म र अटोमेटिक दूध प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी रहेको उनले बताए । ‘प्रोजेक्ट तयार भएपछि गोबर सोहोर्ने, दुहुनेदेखि घाँस हाल्ने काम मेसिनले गर्छ,’ चौलागाई भन्छन्, ‘गाईका लागि तापक्रम मेन्टेन गर्नका लागि अटोमेटिक कुलिङ सिस्टम राखेका छौं ।’ गाईका लागि दाना पानी दिने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम स्वचालित मेसिनहरुबाट गर्दा काम छिटो र लागत कम हुने उनको तर्क छ ।

फार्मको पहिलो चरणको काम सकिएपछि वैशाखबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने चौलागाईले बताए । १६ वटा होलिस्टेन जर्सी गाई आउने क्रममा रहेकाले ती गाई आएपछि दूध उत्पादन बढ्ने उनले बताए ।

यसरी उत्पादन भएको दूध सिसाको बोतलमा ब्रान्डिङ गरेर उपभोक्ताको घरसम्म पुर्याउने लक्ष्य छ । बोतल पुनः प्रयोग गर्ने तयारी पनि छ ।

गाईका लागि साइलेज (घासको गुन्द्रुक) बनाउने उद्योग पनि सञ्चालनमा ल्याएका चौलागाईले सुनसरीको देवानगञ्जका किसानलाई पनि रोजगारी दिएका छन् । साइलेजका लागि सुनसरीको देवानगञ्जमा किसानसँग  ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेका छन् । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाउने चौलागाईले बताए । यसरी खेती गर्ने किसानले प्रति क्वीन्टल ३५० रुपैयाँ पाउँछन् ।

तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेको बताउँदै चौलागाई फर्मको काम सकिएपछि देशकै नमुना फर्म बन्ने दाबी गरे । फर्म पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५ हजार किलो अर्गानिक तरकारी उत्पादन हुने उनले बताए । फर्मबाट  दूधसँगै उन्नत जातका गाईको नश्ल उत्पादन गरेर किसानलाई बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?