+
+

सुधारिएन अर्थतन्त्र : आयात अत्यधिक, रेमिट्यान्स घटेको घट्यै

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष २९ गते २०:०५

२९ पुस, काठमाडौं । कोरोना भाइरसको जोखिम कम भएपछि पनि निरन्तर ओरालो लागेको अर्थतन्त्र चालु आर्थिक वर्षकोे पाँच महिनासम्म आइपुग्दा झन् ओरालो लाग्ने क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी मंसिर महिनाको अध्ययन प्रतिवेदनले अर्थतन्त्रको अधोगति लाग्ने यात्रा रोकिएको छैन । अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन् ।

चालु आर्थिक वर्षको पाँच महिनासम्म रेमिट्यान्स आप्रवाह घट्ने क्रम जारी देखिएको छ भने विदेशी मुद्राको सञ्चितस् थप दयनीय अवस्थामा पुगेको छ । उता आयात बढ्ने क्रम रोकिएको छैन भने निर्यातले राम्रो गति लिन सकेको छैन । शोधनान्तर स्थिति निरन्तर घाटामा गएको छ । भुक्तानी सन्तुलन झन् धेरै बिग्रदै गएको तथ्यांकले देखाएको छ ।

पाँच महिनाको अवधिमा नेपालीहरुको भान्सा पनि थप महंगिएको छ । सर्वसाधारणको आम्दानी जुन अनुपातमा बढेको छ त्यो भन्दा धेरै महंगी बढेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ७.११ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति २.९३ प्रतिशत रहेको थियो । तुलनात्मक रुपमा हेर्दा खाद्य भन्दा धेरै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति धेरै बढेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.२५ प्रतिशत रहेको छ ।

दैनिक भान्सामा प्रयोग हुने तेल, दाल लगायतको मुद्रास्फिति पनि अचाक्ली बढेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

ठाउँ अनुसार हेर्दा सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा देखिएको छ । मंसिरमा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

विदेशी मुद्रा सञ्चिती दयनीय

२०७८ साउनदेखि मंसिर मशान्तसम्मको पाँच महिनामा भुक्तानी सन्तुलन पनि झनै बिग्रिएको छ । एक देशले अर्को देशसँग गर्ने मुद्रा कारोबारको स्थिति भुक्तानी सन्तुलन हो । यसलाई शोधनान्तर स्थिति पनि भनिन्छ । आयातमुखी अर्थतन्त्र भएका मुलुकहरुमा शोधानान्तर स्थिति घाटामा जान्छ । मंसिर महिनासम्म शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको साउनदेखि मंसिर मशान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको पाँच महिनामा १ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ ।

उता चालु खाता पनि ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले घाटामा रहेको थियो ।

हाल नेपालमा विदेशी मुद्राको सञ्चिती दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिती पाँच महिनामा आइपुग्दा अझ घटेर ६.८ महिनाको वस्तु तथा सेवाको आयातमात्रै धान्न अवस्थामा झरेको छ ।

अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती १३.२ प्रतिशतले घटेर मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७८ असार मसान्तमा १,२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई १,०८४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकामा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १२९ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

रेमिट्यान्सको ओरालो यात्रा

नेपाली अर्थथतन्त्रको मेरुदण्ड रेमिट्यान्स पनि घट्ने क्रम निरन्तर चलिरहेको छ । विदेश गएका नेपालीले पठाउने रकम रेमिट्यान्स चालु आर्थिक वर्षको शुरुवाती महिनादेखि नै घट्ने क्रममा देखिएको थियो ।

कात्तिक महिनासम्म रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले घटेर ३ खर्ब ८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तसम्मको अवधिमा रेमिट्यान्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,३१,०८२ पुगेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

कर्जा लगानी आक्रामक, निक्षेप संकलन सुस्त

कोरोना संक्रमणको त्रास कम भएपछि बैंकहरुमा लगानी योग्य रकम (तरलता) को अभाव देखियो । मंसिर महिनासम्म पनि यो समस्या निकै ठूलो समस्याको रुपमा थियो । यसको कारण भने बैंकहरुको आक्रामक कर्जा लगानी हो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३१.२ प्रतिशतले बढेको छ । यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १०.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा ५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.२ प्रतिशतले र हायर पर्चेज कर्जा ५.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.३ प्रतिशतले घटेको छ ।

उता निक्षेप संकलन वृद्धिदर भने निकै कम छ । मंसिर महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.९ प्रतिशतले बढेको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?