३० पुस, काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै जायन्ट किलरले छवि बनाएको छ ।
लिगको दोस्रो चरणमै थ्रीस्टारलाई हराएको सातदोबाटोले नवौं चरणमा सर्वाधिक ८ पटकको च्याम्पियन मनाङलाई स्तब्ध बनायो ।
पहिलो हाफमा मार्टिन सिलो नांगा र मार्टिन्स अजायीले गरेको गोल नै सातदोबाटोलाई मनाङ विरुद्ध ३ अंक दिलाउन निर्णायक बन्यो । मनाङका लागि दोस्रो हाफमा ओलावाले आफिजले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
खेलको ११ औं मिनेटमा मार्टिन सिलोले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा मार्टिन्स अजायीले गोल गरेपछि पहिलो हाफमै सातदोबाटोले मनाङ विरुद्ध २-० को अग्रता बनायो । मनाङका लागि ओलावाले ५७ औं मिनेटमा एक गोल फर्काए ।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेर छैठौं स्थानमा उक्लेको छ । मनाङको भने जारी लिगमा यो दोस्रो हार हो । यसअघि छैटौं चरणमा मनाङ साविक विजेता मछिन्द्रसंग पराजित भएको थियो ।
उपाधि होडमा रहेको मनाङलाई यो हारले धक्का लागेको छ । ९ खेलबाट १९ अंकसहित मनाङ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मछिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4