
३० पुस, जनकपुरधाम । किसानको विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का जिल्लामा किसानले हलो, कोदालो, ढकियासहित प्रदर्शन गरेका छन् । जनकपुरधाममा स्थानीय रमानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । नगर परिक्रमापछि स्थानीय जनक चोकमा पुगेर कोणसभाको आयोजना गरिएको थियो ।
सप्तरी सदरमुकाम राजविराजमा पनि धेरैको सहभागितामा र्याली निकालिएको छ । यहाँ किसानले बयलगाडासहित प्रदर्शन गरे । स्थानीय राज रंगशालाबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।
सिरहा सदरमुकाममा आयोजित र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष सीके राउतले किसान विधेयक ल्याउन माग गरे ।
जनमत पार्टीद्वारा महोत्तरी, सर्लाही, बारा, पर्सा जिल्लामा समेत किसानको मागलाई सम्बोधन गर्न भन्दै दवावमूलक र्याली प्रदर्शन गरिएको छ ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, बाढी तथा बर्षाबाट खेती क्षति भएका किसानलाई क्षतिपूर्ति दिनुपर्ने, समयमा मलखाद र बिउको व्यवस्था गर्नुपर्नेसहितका माग राख्दै जनमत पार्टीले र्याली निकालेको हो ।
सरकारी निर्णयको अवज्ञा
सरकारले २५ जनाभन्दा बढी भेला नगर्न भनेपनि जनमत पार्टीले जिल्लाहरुमा हजारौंको संख्यामा र्याली निकालेको छ । र्यालीमा भौतिक दूरी समेत कामय गरेको देखिएन भने अधिकांश सहभागीले मास्कको समेत प्रयोग गरेका छैनन् ।
जनमत पार्टीले धेरै भिड गरेर प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले भिड नगर्न अपील गरेको छ । अब भिड गरेको पाइएमा कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4