+
+
खाद्य संस्कृति :

माघे संक्रान्तिको खान्की : बहुउपयोगी तरुल

अंगद सिंह अंगद सिंह
२०७८ माघ १ गते ८:०५

१ माघ, काठमाडौं । प्रकृतिले मानिसलाई मौसमअनुसार चाहिने पोषणयुक्त खान्कीहरू आफ्नो गर्भमा संरक्षण गरेर राख्छ । जाडोयाममा मानिसलाई चाहिने तत्व प्रकृतिले सदाबहार रुपमा आदिम कालखण्डदेखि अहिलेसम्म दिइरहेको छ ।

प्रकृतिले आफ्नो गर्भमा लुकाएर मानिसका लागि संरक्षण गरेको खान्कीमा एक हो तरुल । तरुल परम्परागत खान्की तथा कन्दमूल हो । वनस्पतिको जरामा फल्ने वा जरा नै खान मिल्ने खाद्य पदार्थलाई कन्दमूल भनिन्छ, जो परापूर्वकालदेखि अहिलेसम्म अस्तित्वमा रहिआएको छ ।

घुमन्ते युगदेखि मानिसले भोक टार्नका लागि तरुल खाने गरेका थिए । त्यतिबेला तरुलजन्य कन्दमूल निर्विकल्प खान्की थिए । प्राचीनकालमा मानिसले कन्दमूल र फलफूलले नै जीवनयापन गरिरहेका थिए ।

तरुल कन्दमूलका रुपमा खाने हाम्रा पूर्खादेखि अहिलेसम्मको खान्की भएपनि अहिले त्यसको प्रयोग भने निकै कम हुन थालेको छ । ढुंगेयुगदेखि भोकमरीबाट बच्न तथा जीवनयापन गर्न उपयोग भइरहेको खान्की तरुल अहिले कुनै विशेष तिथिमितिमा मात्रै खाने चलन छ । माघे संक्रान्तिमा संस्कार र संस्कृति बचाउनकै लागि भएपनि तरुल खाने गरेका सर्वसाधारण अरु बेेला भने नाक खुम्च्याउँछन् ।

पोषणविद् डा. अरुण उप्रेतीका अनुसार तरुल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तरुल जाडोयाममा मात्र खानका लागि तयार हुने तरुलमा पाइने पौष्टिक तत्वले शरीरलाई शक्ति दिने तथा शारीरिक वृद्धिका लागि आवश्यक पर्ने कुराहरुको पूर्ति गर्छ ।

‘जाडोमा मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तरुलमा रोगसँग लड्न सक्ने तत्व पाइन्छ,’ डा. उप्रेती भन्छिन्, ‘तरुल श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या भएकाहरुका लागि राम्रो खान्की हो ।’

जाडो मौसममा शरीरलाई आवश्यक पर्ने पोषणजन्य तत्व तरुलमा पाइने भएकाले स्वास्थ्यको हिसाबले शरीर न्यानो बनाइराख्न्न तरुल खानुपर्ने उनको भनाइ छ ।

तरुलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिइनुका साथै तरुलमा फाइबर पाइने हुँदा यसको सेवनले पाचन प्रक्रियाको समस्याबाट समेत बच्न सकिने उनी बताउँछिन् ।

‘तरुलमा मानव शरीरलाई आवश्यक प्रोटिन, खनिज र विभिन्न किसिमका भिटामिन हुन्छ,’ डा. उप्रेती भन्छिन् ।

यसका अलावा तरुलमा कार्बोहाइड्रेड, आइरन, क्याल्सियम, म्याग्नेसियम र रेसादार तत्व पाइन्छन् । यस्ता तत्वले कब्जियत, मुटुरोग तथा उच्च रक्त चापको समस्या भएका बिरामीलाई फाइदा गर्छ ।

नेपालमा तरुलको उपयोगिता र फाइदाबारे कुनै अध्ययन अनुसन्धान नभएपनि अन्य देशमा भएका थुप्रै अनुसन्धानले यसलाई स्वास्थ्यका लागि फाइदाजनक प्रमाणित गरेको छ । तरुल बिना कुनै विषादी जमिनमुनि फल्ने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।

तरुल खाने तरिका मानिसअनुसार फरक-फरक हुन्छ । कोही स्वाद र संस्कृतिका लागि खान्छन् भने कोही पेट भर्नका लागि । नेपाल प्रकृतिक स्रोतले धनी देश भएकाले यहाँँ विभिन्न प्रजातिका तरुल पाइन्छ । तर, नेपालमा तरुलको व्यावसायिक खेती नगरिएकाले माघे संक्रान्ति आउँदा बाहेक बजारमा पाइँदैन ।

अर्का पोषणविद् डा. राजु अधिकारी जाडोयाममा तरुल खाँदा पाचन प्रणालीलाई मजबुत बनाउन, शरीरलाई न्यानो राख्न र छालालाई मुलायम र तन्दुरुस्त राख्न सहयोग पुग्ने बताउँछन् ।

‘माघे संक्रान्तिमा मात्रै नभई वर्षभरि तरुल खान सके शरीरलाई निकै फाइदा गर्छ,’ उनी भन्छन्, ‘तरुलमा पाइने पोषक तत्व र खनिजले रोगसँग्ा लड्ने क्षतामा वृद्धि गरी शरीरमा कमजोरीपना आउन दिँदैन ।’

डा. अधिकारीका अनुसार तरुलमा फाइबर, क्याल्सियम, म्याग्नेसियम, भिटामिन सी, भिटामिन बी सिक्स, प्रोटिन गरी २५ भन्दा बढी पोषक तत्व र १२ भन्दा बढी खनिज तत्व पाइन्छन् ।

जाडोयाममा तरुलका साथै तिल, बदाम, चाकु र सख्खर खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्ने डा. अधिकारी बताउँछन् । ‘तरुलले हाम्रो छाला स्वस्थ राख्नुका साथै हड्डी र मांसपेशीलाई समेत बलियो बनाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘विदेशमा भएका विभिन्न अध्ययनले मुटु र दम रोगका लागि पनि तरुल निकै फाइदाजनक भएको देखाएका छन् ।

पश्चिम अफ्रिकामा करिब ११ हजार वर्षअघि नै तरुल खेती शुरु भएको इतिहास छ । अफ्रिकामा विवाह समारोह तथा विभिन्न कार्यक्रममा तरुलका परिकार खुवाउने चलन छ । प्रजनन क्षमता बढाउनका लागि पनि तरुल खाने चलन छ । अफ्रिकामा तरुल उत्पादन र उपयोगसँग थुप्रै संस्कार विकसित भएको कुरा नेशनल रुट कर्प्स रिसर्च इन्स्िटच्युट (एनआरसीआरआई)को वेबसाइटमा उल्लेख छ ।

तरुल पुरानो कन्दमूल तथा खाद्यबालीमध्येको एक हो । यसको उत्पत्ति अफ्रिका महादेशमा भएको भएपनि यो दक्षिण अमेरिकी महादेश र एसियामा पाइन्छ । पश्चिम अफ्रिकामा तरुललाई प्रमुख खाद्यान्न मात्रै होइन यसलाई राजा बाली पनि भनिन्छ ।

एनआरसीआरआईले ६०० भन्दा बढी तरुलजन्य वनस्पतिको पहिचान गरेको छ । जसमा सेतो तरुल, पहेंलो तरुल, पानी तरुल, चिनियाँ तरुल, बिटर तरुल र एरियल तरुल गरी ६ भागमा वर्गीकरण गरेको छ ।

पोषणविद् डा. अतुल उपाध्याय तरुलमा सबैभन्दा बढी कार्बोहाइड्रेड पाइने बताउँछन् । १०० ग्राम तरुलमा ४० ग्राम कार्बोहाइड्रेड र सात ग्राम रेसा पाइने उनले बताए ।

कुन तत्वले के फाइदा गर्छ

म्याग्नेसियम : म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न्ा मद्दत गर्छ भने डायबिटिजको समस्याबाट जोगाउँछ ।

त्यस्तै पोटासियम, क्याल्सियम, भिटामिन बी, भिटामिन बी सिक्सले मुटुलाई स्वस्थ राख्न्ा सहयोग गर्छ भने कोलेस्टोरोल समेत नियन्त्रण हुन्छ ।

कार्बोहाइड्रेड : शरीरलाई शक्ति दिन्छ

पोटासियम : शरीरमा सोडियम सन्तुलन गर्ने र उच्च रक्तचापको समस्या कम गर्न सहयोग गर्छ

भिटामिन बी सिक्स  : मस्तिष्कलाई तीक्ष्ण बनाउन र स्मरण क्षमता बढाउँछ

क्याल्सियम : हड्डीलाई स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्ने

भिटामिन सी : छालाको चमक बढाउनुका साथै बुढ्यौली नदेखिन सहयोग गर्ने

फाइबर : फाइबरले शरीरको पाचन प्रक्रियालाई व्यवस्थित गर्नुका साथै कोलेस्टोरोल र चिनीको मात्रा घटाउँछ र कब्जियतको जोखिमलाई कम गर्छ ।

एन्टिअक्सिडेन्ट : यसले शरीरमा भएको कोषिकाको रक्षा गर्नुका साथै बुढ्यौलीपना आउनबाट रोक्छ ।

कन्दमूलका नामले परिचित तरुल रेसेदार खानेकुरा हो । तरुलले शरीरमा तापक्रम र क्यालोरीको बढाउँछ । तरुल खानाले शरीरमा चिल्लो र बोसो जम्न नदिन सहयोग पुग्छ । यो रेसेदार खानेकुरा भएकाले यसले ठूलो आन्द्रामा जमेको फोहोर वा दिशालाई सहजै बाहिर निकाल्न मद्दत गर्ने पोषणविद्हरु बताउँछन् ।

तरुल धेरैजसो उसिनेर खाइने भएकाले यसका भएको पोषक तत्वहरु नष्ट भएको हुँदैन । तरुललाई तागतिलोका साथै अडिलो खानेकुरा मानिन्छ ।

डा. अधिकारी बालबालिकालाई तरुल खुवाउनु निक्कै फाइदाजनक हुने बताउँछन् । तरुललाई चामलको पीठोसँग्ा मिसाएर पकौडा बनाएर वा तरकारीको रुपमा पनि खान सकिन्छ । तर, उसिनेर खानु सबभन्दा उत्तम तरिका हुने डा. अधिकारी बताउँछन् ।

तरुलको व्यावसायिक खेती गर्नुपर्नेमा उनको जोड छ । ‘यसमा धेरै मेहेनत गरिरहनु पर्दैन, विकासे मल या विषादी पनि चाहिँदैन,’ डा. अधिकारी भन्छन्, ‘तरुल खेती र खाने चलन बढे सबैलाई फाइदैफाइदा हुन्छ ।’

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख तथा आयुर्वेद चिकित्सक पुनेश्वर केसरी तरुल खानाले शरीरलाई तन्दुरुस्त राख्न, आँखा कमजोर हुनबाट जोगाउन, छाला चाउरिन नदिने र कपाल फुल्नबाट जोगाउने काम गर्ने बताउँछन् ।

माघे संक्रान्तिको अवसरमा मात्रै नभई अरु बेला पनि तरुल खान पाए शरीरलाई निकै फाइदा पुग्ने उनले बताए । यसका लागि व्यावसायिक तरुल खेती र भण्डारणको व्यवस्था भए राम्रो हुने उनको भनाइ छ ।

तरुल जाडोयाममा परिपक्व हुने र अन्य समयमा यसको फल (ट्युबर) विकसित भई नसक्ने हुँदा बाह्रैमास पाउन नसकिने डा. केसरीले बताए । ‘तरुलले बाथ र कफलाई समेत मद्दत गर्छ,’ उनी भन्छन्, ‘तरुलले जाडोयाममा शरीरमा ताप पैदा गरी यसमा भएको पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।’

उनका अनुसार नेपालमा तीन प्रजातिको तरुल पाइन्छ- तरुल, घर तरुल र वन तरुल । तीनवटैमध्ये कुनैमा केही कमी, कुनैमा केही भएपनि समग्रमा स्वास्थको लागि सबै फाइदाजनक रहेको उनी बताउँछन् ।

तरुल उसिनेर बाहेक, तरकारी, पिसेेर पीठो र जुस समेत बनाउने चलन छ । कृषि विश्लेषक कृष्ण पौडेल तरुल पोषणयुक्त खान्की भएपनि यसको प्रयोग न्यून मात्रामा भइरहेको बताउँछन् ।
‘पहिले तरुल भोक टार्ने खान्की भएपनि अहिले बजार विस्तार हुँदा अरु खानेकुराले भाउ पायो,’ उनी भन्छन्, ‘तरुललाई अहिले गाउँमा गुजारा गर्न गाह्रो हुनेले खाने जसरी हेला गरिएको छ ।’
जंक फुड (पत्रु खाना)मा रमाइरहेको अहिलेको पुस्तालाई पौष्टिक खान्की तरुलबारे चासो नै नभएको पौडेल बताउँछन् ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालय, कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुलीका प्रमुख सञ्जय धिमाल तरुलका फाइदाबारे जनचेतना तथा प्रचारप्रसारको कमी भएको बताउँछन् । उनी भन्छन्, ‘तरुलका विषयमा ज्ञान, सूचना, जानकारी गराएर यसलाई ‘फुड हृयाबिट’ बनाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।’

गण्डकी र बागमतीमा अन्य प्रदेशको बढी तरुल खेती हुने गरेको जानकारी उनले दिए ।

तस्वीर/भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?