+
+

बर्जुतालको विकासमा स्थानीय तहको पहल सराहनीय

अजयकुमार झा अजयकुमार झा
२०७८ माघ १ गते १८:४३

बर्जुतालको पर्यटकीय पूर्वाधारको विकासका लागि अहिले धेरै प्रयास भइरहेका देखिन्छन् । तर यस तालको पर्यटकीय सम्भावनामाथि रहेको पूर्ण बाधा शान्तिमा अझ केही थप प्रयास र समय लाग्ने देखिन्छ । चिमडी गाउँमा पर्ने भएकाले यसलाई चिमडी ताल पनि भनिन्छ । हाल यो बर्जु गाउँपालिका वडा नम्बर ६ मा पर्दछ । बर्जुतालकै नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । र, यस तालको आधिकारिक नाम भनेको चिमडी बर्जुताल सिमसार क्षेत्र रहेको छ ।

प्रदेश १ को तराई जिल्ला सुनसरीको बर्जु गाउँपालिकामा पर्ने यो एक प्राकृतिक ताल हो, जसलाई सिमसार (आद्रभूमि) पनि मानिन्छ । बर्जुताल सँगसँगै जोडिएका तीनवटा तालको समूह हो । बर्जु गाउँपालिकाको तथ्यांक अनुसार यसको कुल क्षेत्रफल १६५ बिघा छ ।

बर्जुतालको उल्लेख महाभारत महाकाव्यमा रहेको बताइन्छ । पाण्डवहरू दुर्योधनसँगको द्यूत-क्रीडामा हारेपछि राज्यच्यूत भएर १२ वर्ष जंगलवास र त्यसमा एक वर्ष गुप्तवासमा बस्नुपर्ने भएको थियो । गुप्तवासको दौरान उनीहरूले विराट राज्य क्षेत्रमा बस्दा यस तालको छेउमा समय बिताएको मानिन्छ । महाभारत घटना पाँच हजार वर्ष पुरानो भएकाले यस तालको उमेर पनि कम्तीमा पाँच हजार वर्षको हो भन्नुपर्ने हुन्छ । महाभारतको गुप्तवासकै दौरान यक्ष प्रश्नको एक सन्दर्भ पनि आउने गरेको छ । त्यो सन्दर्भ कुनै ताल/सरोवरसँग सम्बन्धित भएकाले यक्ष प्रश्न घटनाको साक्षी यही बर्जुताल हो कि भन्न सकिन्छ । यक्ष प्रश्नको घटनापछि उनीहरूले विराट राज्यको दरबारी र कर्मचारी बन्नुअघिसम्मको समय यसै तालछेउमा बिताएका थिए ।

यक्ष प्रश्न घटनामा तिर्खाएका पाण्डवहरूलाई पानी पिउनबाट रोक्दै गर्दा यक्षले आˆना प्रश्नहरूको उत्तर दिने शर्त राखेको थियो । यक्ष प्रश्न पछिको कालक्रममा एक उखानकै रूपमा प्रचलित भयो । यो उखान भनेको कुनै समस्या वा समस्याको सन्दर्भमा प्रयोग गरिन्छ, जसको समाधान अहिलेसम्म फेला परेको छैन वा समस्या यथावत् नै छ । ‘यक्ष प्रश्न’ यक्षले पाण्डवहरूलाई सोधेका प्रश्नहरूबाट उत्पन्न भएको हो ।

गुप्तवासमा पाण्डवहरू वन-जंगलमा भौतारिंदै गर्दा एक दिन थकित भएर एक ठाउँमा बसे । उनीहरू तिर्खाएका थिए । आसपास पानी खोजे तर भेटिएन । उनीहरू सबै एक साथ पानी खोज्न जाने अवस्था नभएकाले युधिष्ठिरले कान्छा भाइ सहदेवलाई पानी खोजेर ल्याउन पठाए । सहदेव पानी खोज्दाखोज्दै एक ताल नजिक पुगे र पानी पिउन निहुरिए । अनायास उनको सामु यक्ष प्रकट भए । यक्षले ‘पानी न खा’ भनेर रोके र भने- पहिले मेरो प्रश्नको उत्तर देऊ । प्रश्नको सन्तोषजनक उत्तर दिएर मात्र पानी खान सक्छौ । अन्यथा पानी तिम्रो लागि विषकारक हुनेछ । तर तिर्खाएका सहदेवले यक्षको वास्ता गरेनन् र अञ्जुलीमा पानी लिएर खाए । पानी खानासाथ सहदेव त्यहीं ढले ।

यता सहदेव धेरैबेरसम्म नआएपछि युधिष्ठिरले काहिंला भाइ नकुललाई पठाए । नकुल पनि त्यही सरोवरमा पुगे र उनको साथ पनि उस्तै घटना दोहोरियो । यस प्रकार भीम र अर्जुनको साथ पनि त्यही घटना घट्यो । अनि धर्मराज युधिष्ठिर आफैं त्यहाँ पुगे र भाइहरूलाई ढलेको देखेर आश्चर्यचकित भए । उनले हतारमा पानी खाने यत्न नगरेर परिस्थिति बुझ्ने प्रयास गरे । यक्ष पुनः प्रकट भए र त्यही घटना पुनरावृत्ति हुने अवस्था आयो । तर युधिष्ठिरले धैर्यपूर्वक यक्षका प्रश्नहरूको जवाफ दिंदै गए र यक्ष सन्तुष्ट हुँदै गयो । अन्ततः युधिष्ठिरले आˆना भाइहरूलाई फेरि जीवित तुल्याए र पानी खाएर लिएर दाजुभाइ द्रौपदी छेउ पुगे । यक्षको अन्तिम प्रश्न थियो कि, जगतको सबैभन्दा ठूलो आश्चर्य के हो ? त्यसको जवाफमा धर्मराजले भनेका थिए, यमको घरमा दैनिक प्राणीहरू प्रवेश गर्छन्, बाँकी जीवहरू यहाँ अनन्तसम्म बस्न चाहन्छन् । योभन्दा ठूलो आश्चर्य के हुन सक्छ !

ताल वा सिमसार वा दुवै, जे नाम लिए पनि बर्जुताल मुलुकको ठूलो प्राकृतिक रमणीय धरोहर हो । तालले बाढी र खडेरीको प्रभावलाई कम गर्न सक्छ । ठूलो मात्रामा पानी भण्डारण गरेर र अभावको समयमा छोड्ने गर्दछ

बर्जुताल एक प्राकृतिक घटना हो, त्यसमा कुनै आश्चर्य छैन । भौगर्भिक परीक्षण गरिएमा तालको प्राचीनता प्रकाशमा आउने नै छ । बर्जुताल कोशी टप्पु वन्यजन्तु आरक्षको एक हिस्सा पनि हो । सप्तरी र सुनसरी जिल्लाको सीमामा बग्दै गरेको कोशी नदी कुनै समय झापा जिल्ला हुँदै बग्दथ्यो । यसबाट के बुझ्न सकिन्छ भने जतिखेर कोशी नदी यस तालको क्षेत्रबाट बग्दथ्यो, त्यतिखेर यो ताल बालुवाले पुरिएको हुनसक्छ । कालान्तरमा कोशी सर्दै गरेर पश्चिम लागेपछि बर्जुताल मुक्त त भयो तर पुरिइसकेको थियो । पछि कोशी नदीले छोडेर हिंडेको बूढी खोलाको भेल (जो यसको पश्चिम भागमा नजिकै पर्दछ)ले ताललाई जलाशयको मूल स्वरूपमा फर्काउँदै ल्याएको छ ।

ताल कि सिमसार ?

बर्जुताल ताल नै हो कि सिमसार हो भन्ने प्रश्न पनि गरिन्छ । नेपालमा सयौं ताल छन् । प्रमुख तालहरूमा रारा, शे-फोक्सुण्डो, फेवा, तिलिचो, इन्द्रसरोवर, मानसरोवर पर्दछन् । त्यस्तै एक सूचीका अनुसार नेपालमा ७७ मध्ये ७३ वटा जिल्लामा तालहरू रहेका देखिन्छन् । सुनसरी जिल्लामा बर्जुतालको अलावा दैत्ता पोखरी, मगर दह, रासा ताल पनि रहेका छन् ।

प्राकृतिक जलाशय एक प्रकारको ताल हो । ताल भनेको पानीको स्थिर शरीर हो, जुन चारैतिरबाट जमीनले घेरिएको हुन्छ, जसको समुद्रसँग कुनै सम्बन्ध हुँदैन । तालको अर्को विशेषता यसको स्थिरता हो । सामान्यतया, ताल भनेको भुइँमा पानीले भरिएका चौडा खाल्डाहरू हुन् । ताल धरतीको कुनै पनि भागमा हुन सक्छ, चाहे त्यो पहाड, पठार वा मैदान किन नहोस् । हुनत ताल समुद्री सतहमुनि पनि पाइन्छ । तराईमा तालहरू सामान्यतया ती नदीहरू नजिक पाइन्छन्, जसको ढलान घटेको छ । तालहरूमा पाइने पानी मुख्यतया वर्षा, हिउँ पग्लने वा मुहान र नदीहरूबाट प्राप्त हुन्छ । तालहरू बन्छन्, विकास हुन्छन्, विस्तारै भरिन्छन् र दलदलमा परिणत हुन्छन् र उत्थान भएपछि तिनीहरू नजिकैको जमीन बराबर हुन्छन् ।

नेपालको राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र भनेको सिमसार हो । त्यसमा धाप लगायतका नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबाली समेत पर्छ । नेपालको तराईमा १६३ वटा र पहाडमा ७९ वटा सिमसार क्षेत्र छन् । सिमसार क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, कीराफट्याङ्ग्रा र बोटका लागि महत्वपूर्ण मानिन्छ । यस प्रकार बर्जुताल एक प्रकारको सिमसार पनि हो । प्राकृतिक घटनाले ताललाई सिमसारमा वा सिमसारलाई तालमा परिवर्तन गर्न सक्दछ । यस प्रकार बर्जुतालको इतिहास र स्वरूप हेर्दा यो ताल र सिमसार दुवै हो भन्न सकिन्छ ।

सिमसारले प्रवासी चराहरूलाई भोजन दिने काम पनि गर्छ । यस क्षेत्रमा लगभग २०० प्रजातिका चराहरू भेटिएका छन् । सन् १९९६ मा संरक्षण कार्यक्रम थालिएपछि यस तालमा आउने प्रवासी चराको संख्यामा वृद्धि भएको पनि एक प्रतिवेदनले देखाएको छ । सन् २००८ मा सप्तकोशी नदीमा आएको बाढीबाट पूर्वी तटबन्ध भत्की सिमसार क्षेत्रको विनाश भएको कारणले चराको संख्यामा कमी आएको थियो । यद्यपि, हाल यसको संख्या सामान्य स्थितिमा पुगेको भनिन्छ । यसरी कोशी टप्पु क्षेत्रबाट विस्थापित भएका चराहरू बर्जुतालमा देखिन थाले । फलतः ती प्रवासी चरा हाल बर्जुतालमा आउन थाले ।

ताल वा सिमसार वा दुवै, जे नाम लिए पनि बर्जुताल मुलुकको ठूलो प्राकृतिक रमणीय धरोहर हो । तालले बाढी र खडेरीको प्रभावलाई कम गर्न सक्छ । ठूलो मात्रामा पानी भण्डारण गरेर र अभावको समयमा छोड्ने गर्दछ । तालहरूले भूमिगत पानीलाई पुनः पूर्ति गर्ने, डाउनस्ट्रिम जलस्रोतहरूका पानीको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने र क्षेत्रको जैविक विविधता र वासस्थानको संरक्षण गर्ने काम गर्दछन् । यसको अतिरिक्त तालको महत्व पर्यटन व्यवसायको लागि पनि उत्तिकै छ । तसर्थ तालको भौतिक एवं जैविक संरक्षण हुनु आवश्यक छ ।

बर्जुतालमा धेरै प्रजातिका माछा पाइन्छन् । तर अत्यधिक मत्स्य शिकारका कारण माछाको संख्या घट्दै गएको एक प्रतिवेदनले देखाएको छ । यसबाहेक अतिक्रमणले सिमसार क्षेत्रलाई संकुचित गरिरहेको अवस्था छ । बर्जुतालको जग्गा अतिक्रमण गर्ने नाममा स्थानीय जनता र राजनीतिक दल निकै लामो समयसम्म विवादास्पद रहे । पछि गएर उनीहरूबीच बर्जुताललाई अनतिक्रम्य बनाउने र तालको पर्यटकीय विकासमा सबै पक्षले योगदान गर्ने सहमति पनि भयो । यो सहमतिले बर्जुतालको संरक्षण एवं सम्वर्द्धनको मार्गलाई खुला र स्वस्फूर्त बनाएको छ ।

नेपाल सरकारले ताल/सिमसारको अतिक्रमण हटाउने योजनामाथि काम गरिरहेको छ । फेवातालमाथिको अतिक्रमण रोक्न र अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन वि.सं. २०६९ मा सर्वोच्च अदालतले आदेश नै गरेको थियो । एक प्रतिवेदनमा बर्जुतालको अतिक्रमण रोक्ने कार्यमा बर्जु गाउँपालिकाको कार्य स्थानीय तहको भूमिकाको अर्थमा एक सफल उदाहरण हो भनिएको छ ।

बर्जु गाउँपालिका कार्यालयले बर्जुताललाई निकै महत्व दिएको छ । बर्जुतालकै नाममा स्थानीय तहको नामकरणले बर्जुताललाई जहिले पनि स्थानीय तहको केन्द्रमा राख्नेछ । यसबाट बर्जुतालको संरक्षण एवं सम्वर्द्धन कार्यमा ठूलो बल प्राप्त भइरहनेछ । कुनै प्राकृतिक सम्पदाको अभिभावकत्व लिनु आफैंमा महत्वपूर्ण कुरा हो । बर्जु गाउँपालिकाको नारा नै ‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार ः सुन्दर, समृद्ध बर्जुको आधार’ रहेको छ । पालिकाले आफ्नो नीति तथा कार्यक्रममा पर्यटनलाई चौथो प्राथमिकतामा राखेको छ ।

पर्यटकीय सेवा, सुविधा, विकास र विस्तारका लागि निजी क्षेत्रको लगानी आकषिर्त गरिने, पर्यटकीय स्थलको र उपजको विविधीकरण विस्तार गरी ग्रामीण पर्यटन मार्फत थप रोजगारीका अवसर सिर्जना गर्नु, निजी क्षेत्रद्वारा सञ्चालित पर्यटकीय स्थलहरूलाई व्यवस्थित गरी सञ्चालन गर्न अभिप्रेरित गर्नु, पर्यटक स्थल आसपास होटल व्यवसाय, होमस्टे, रिसोर्ट, पार्क सञ्चालन गर्न स्थानीयलाई सहयोग गर्नु जस्ता स्थानीय तहको प्रतिबद्धताले निकै महत्व राख्दछ ।

बर्जु गाउँपालिकाले एक अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । त्यो हो पर्यटन स्थलसम्म पर्यटकहरूको सहज पहुँचका लागि सडकको विस्तार तथा स्तरोन्नति गर्नु । पर्यटनको विकासमा सडकको महत्वको आँकलन गर्न कठिन छ । सडक पूर्वाधारले पर्यटन विकास र पर्यटनबाट हुने आम्दानीमा ठूलो भूमिका खेल्छ । सडक पूर्वाधार र सडक यातायातको योगदानलाई बेवास्ता गर्दा पर्यटनको उद्देश्य पूरा हुन सक्दैन । सडक पूर्वाधार र यातायात पर्यटन उद्योगको अभिन्न अंग हो । सडक पूर्वाधार र सडक यातायातले विभिन्न गन्तव्यहरूलाई जोड्दछ, वास्तवमा यसले विभिन्न पर्यटकीय क्षेत्रहरूलाई मुख्य शहरसँग जोड्दछ । यसले देश र विश्वभरको पर्यटनको पहुँचलाई असर गर्छ र पर्यटन विकासबाट हुने आम्दानीमा पनि प्रभाव पार्छ । सडक पूर्वाधारको मुख्य काम सडक यातायातको पूर्वशर्तलाई ट्रान्जिटको रूपमा र गन्तव्यहरूबीच जोड्ने सुविधा प्रदान गर्नु हो ।

बर्जुताल हुलाकी मार्गमा पर्दछ । हुलाकी मार्गको पुनरुत्थान नहुनाको क्षति बर्जुतालले बेहोर्दै आएको छ । प्रदेश १ को राजधानी र देशकै औद्योगिक राजधानी विराटनगर नजिक हुनु बर्जुतालको सौभाग्य हो । विराटनगरबाट बर्जुताल केवल १२ किलोमिटर पश्चिम पर्दछ । यस्तै महेन्द्र राजमार्गको लौकहीबाट बर्जुताल केवल १७ किमि पूर्व पर्दछ ।
विराटनगरदेखि केशलिया नदीसम्मको सडकमा कालोपत्रे गर्ने काम मरिया खोलामा पुल निर्माण भए यो सडक चालू हुनेछ । हुलाकी मार्गबाट मात्र दुई मिनेटको बाटो तय गरी बर्जुताललाई टेक्न सकिन्छ । हुलाकी मार्गबाट पूर्व र पश्चिम दुवै दिशामा लिंक रोड बनाइएका छन्, जसको ग्राभेल र कालोपत्रे गर्ने काम बाँकी छ । यी दुवै प्वाइन्टमा बर्जुताल प्रवेशद्वार भनेर आकर्षक गेट निर्माण गरिएको छ । बर्जुतालमा अघिदेखि पनि केही न केही काम भइरहेका देखिन्छन् । तालमा नौकाविहार गर्ने सुविधा छ । चिल्ड्रेन पार्क पनि निर्माण गरिएको छ । १६५ बिघाको तीनवटै तालका डिलमा पर्यटकको भ्रमण अवलोकनको लागि बाटो बनाइएको छ । बाटोमा ठाउँ-ठाउँमा पर्यटकको विश्रामको लागि बस्ने व्यवस्था मिलाइएको छ । त्यहाँ वरिपरि पुष्परोपण गरिएका छन् ।

सरकार, निजी क्षेत्र र जनता (स्थानीय) गरी यी तीन पक्षको साझेदारी भए मात्र काम सफल भएको मानिनेछ । पर्यटन क्षेत्रबाट प्राप्त हुने प्रतिफलको समान हिस्सेदार सरकार र निजी क्षेत्रसँगै स्थानीयवासीलाई अनिवार्य रूपमा बनाइनुपर्छ । यस स्थानीय क्षेत्रबाट हुने लगानीको लागि दीर्घकालीन, सस्तो ब्याज दरको, छोटो तर नियमित किस्ताबाट फर्सिने किसिमको ऋण लगानी हुनुपर्छ । स्थानीय विस्थापित हुने अथवा कमारो बन्ने किसिमले निजी क्षेत्रलाई सर्वाधिकारसम्पन्न बनाइनुहुँदैन । स्थानीयलाई सीप र सोचको प्रशिक्षण दिएर अभिप्रेरित गर्नुपर्छ । बर्जु महोत्सवमा सीमित हुनुहुँदैन । कार्यक्रममा निरन्तरता, विविधता र विभिन्नता दिइनुपर्छ । यसले तालको प्रचारप्रसारलाई बढावा दिन्छ ।

बर्जुताललाई प्रदेश १ कै गौरवको रूपमा वर्णन गरिएको देखिन्छ । तर प्रदेश तहबाट बर्जुतालको पर्यटकीय प्रचारप्रसारमा खासै काम भएको देखिएको छैन । सीमावर्ती क्षेत्रमा भएकाले पर्यटकीय लाभ बढी लिन विभिन्न प्रजातिका आकर्षक र मनमोहक पुष्परोपण तथा वृक्षरोपण गरेर जैविक विविधतालाई बढावा दिइनुपर्छ । यसैगरी यस तालको प्रचारप्रसारलाई बढावा दिइनुपर्छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?