+
+
साताका १० गीत :

युट्युबमा आए ‘कर्कलो कोक्याउला’देखि ‘हल्का त लजाउन’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १३:५५

२ माघ, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् । यसअघिजस्तै पछिल्लो साता पनि प्रमोद खरेलका केही गीत युट्युबमा आए । पल शाहको अभिनय रहेका गीतहरु पनि एक भन्दा बढी आए । गायक उदितनारायण झाको स्वर रहेको रोमान्टिक नेपाली गीत पछिल्लो साता सार्वजनिक गरियो ।

हरिवंश आचार्य, शिव परियार, मेलिना राई, आस्था राउत, समीक्षा अधिकारी लगायतको स्वर रहेका गीत पनि युट्युबमा सार्वजनिक भए ।

यता आर्यन सिग्देल, आकाश श्रेष्ठदेखि लक्ष्मी बर्देवा, स्वस्तिमा खड्का, कुञ्जना घिमिरेसम्मको अभिनय रहेका म्युजिक भिडियो पछिल्लो साता सार्वजनिक भएका छन् । अन्य थुप्रै कलाकारहरुका गीतका म्युजिक भिडियो पनि पछिल्लो साता युट्युबमा आएका छन् । गत आइतबारदेखि शनिबारसम्म सार्वजनिक भएकामध्ये १० गीत यस्ता छन् ।

चेलिबेटी बेचबिखनको कथामा ‘कर्कलो कोक्याउला’

कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर तथा अभिनय समेत रहेको गीत ‘कर्कलो कोक्याउला’ गत बिहीबार सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा हरिवंश र अभिनेत्री स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् । मानव सुवेदीको निर्देशन रहेको भिडियोमा श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल लगायतको पनि अभिनय छ ।

चेलिबेटी बेचबिखनको कथा उठान गरिएको गीतले स्रोता-दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र विदेशमा लगेर बेच्न खोज्छन् भन्ने कथामा गीति नाटक शैलीमा यसको भिडियो तयार पारिएको छ । गीतमा गायिका समीक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् ।

सुरक्षा पन्तको पटकथा, सुशील सापकोटाको छायांकनमा तयार भएको भिडियोलाई गज्जब टीभीले प्रस्तुत गरेको हो । गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ । आइतबार दिउँसोसम्म भिडियोको भ्युज ९ लाख ७० हजार बढी पुगिसकेको छ । भिडियो युट्युबमा ४ नम्बर ट्रेण्डिङमा छ ।

प्रमोदको स्वरमा ‘चाहिँदैन तिम्रो माया’

गायक प्रमोद खरेलको एकल स्वरमा एकपछि अर्को गीत सार्वजनिक भइरहेका हुन्छन् । गत बुधबार प्रमोदको एकल स्वर रहेको ‘चाहिँदैन तिम्रो माया’बोलको गीत सार्वजनिक गरिएको हो । कार्की जीको शब्द एवं संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

समीप निरौलाको कथा एवं कन्सेप्ट, गम्भीर विष्टको निर्देशनमा तयार भिडियो फिल्मी शैलीमा तयार पारिएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी, समीप निरौला र शिशिर सिवाकोटीको अभिनय छ । यस प्रेम विरहको गीतको भिडियोलाई आइतबार बिहानसम्म युट्युबमा ३ लाख ४५ हजार बढी भ्युज मिलेको छ भने भिडियो टे«न्डिङको १५ नम्बरमा छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

कार्टुन्ज क्रु’को ‘राजकुमारी’

लोकप्रिय डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ले बिहीबार ‘राजकुमारी’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । मानस राजको शब्द रचना एवं स्वर रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

‘कार्टुन्ज क्रु’का सरोज अधिकारीको कन्सेप्ट, कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोको शीर्ष भूमिकामा उनी स्वयं प्रस्तुत छन् । त्यस्तै आश्मा विश्वकर्मा, विजया अधिकारी, पेम्बा मगर, जित तामाङ लगायतका कलाकारहरुको भिडियोमा अभिनय छ । गीतलाई एक अनौठो प्रेमकथा भनिएको छ । भिडियोले आइतबार दिउँसोसम्म ५ लाख १६ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष ५ स्थान ओगटेको छ । पवन सुस्लिङको छायांकन रहेको भिडियोका सम्पादक सुरोज अधिकारी हुन् ।

आसामी गीतको नेपाली भर्सन ‘हल्का त लजाउन’

हिट आसामी गीत ‘होइन को’को नेपाली भर्सन ‘हल्का त लजाउन’ शुक्रबार सार्वजनिक गरिएको हो । सन्तोष सुनारको शब्द रहेको नेपाली भर्सन गीतमा आसामी गायक अचुज्र्य बोरपात्रको स्वर एवं ट्युन छ । गायक अचुज्र्य नेपाल आएर गीत रेकर्डिङ गरेका हुन् । गीतको भिडियोमा पनि उनी आफैंले अभिनय गरेका छन् ।

राजीव समरको कोरियोग्राफी र शान थापाको निर्देशनमा बनेको भिडियोमा आसामी गायक अचुज्र्यसँग नेपाली अभिनेत्री रुविना थापाले स्क्रिन शेयर गरेकी छन् । हरि हुमागाईंको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । ‘हल्का त लजाउन’ लाई मनोज बस्नेत एण्ड एट के. मोसन पिक्चर्सले प्रस्तुत गरेको हो ।

नेपाली टिकटक प्रयोगकर्तामाझ समेत ‘होइन को’ले लोकप्रियता कमाएको थियो । नेपाली भर्सनको गीतलाई पनि स्रोता-दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । टिकटकमा समेत गीत हिट बन्दैछ । भिडियो सार्वजनिक भएको दुई दिन नबित्दै आइतबार दिउँसोसम्म २ लाख ५ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको १९ नम्बरमा छ ।

पल अभिनित थारु भाषाको गीत ‘ओ सजन २’

अभिनेता पल शाह र मोडल कविता राय अभिनित गीत ‘ओ सजन २’ गत सोमबार सार्वजनिक गरिएको हो । यो थारु भाषाको प्रेमगीत हो । यसअघि ‘ओ सजन’बोलको गीत सार्वजनिक भइसकेको थियो ।

थारु भाषामा आफ्नो प्रिय मान्छे एवं प्रेमी÷प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । त्यही थिमबाट यो गीत तयार पारिएको छ । थारु भाषाका गीतमा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् । नरेश जोगीकै शब्द, संगीत रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन् ।

विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा कृष्ण जोशी, विद्या कार्की, जुरी ठाकुर, लोकेन्द्र राजचौधरी लगायतको पनि अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । भिडियोले आइतबार दिउँसोसम्म ३ लाख ४२ हजार बढी भ्युज पाएको छ ।

उदितनारायण झाको स्वरमा ‘स्वतन्त्र मन’

गायक उदितनारायण झाको स्वर रहेको ‘स्वतन्त्र मन’ बोलको गीत शनिबार सार्वजनिक गरिएको हो । मुम्बईमा रेकर्डिङ भएको गीतमा डा. प्रकाश पौडेलको शब्द, राज सागरको संगीत र राजन ईशानको एरेन्ज छ ।

रोमान्टिक यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचरिङ छन् । विजेश र राजनको निर्देशन रहेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विजेश पौडेलको सम्पादन तथा कलर छ । गीतको भिडियोको भ्युज भने अपेक्षित छैन ।

सिर्जुको ‘नजरैले हानेर’

गायिका सिर्जु अधिकारीले शनिबार ‘नजरैले हानेर’ बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन् । सिर्जु र गायक प्रविन बेडवालको स्वर रहेको गीतको भिडियोमा अभिनेताद्वय आर्यन सिग्देल र आकाश श्रेष्ठसँग सिर्जु स्वयंले अभिनय गरेकी छन् । सिर्जुकै शब्द, संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

महंगो बजेटमा निर्माण गरिएको भनिएको भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन् । सौरभ लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् । गोमा केसीको लगानी रहेको यस प्रेम गीतलाई आइतबार दिउँसोसम्म युटयुबमा १ लाख ४० हजार बढीले हेरिसकेका छन् । गायिका सिर्जुकै युट्युबमा यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

आस्था राउतको स्वरमा ‘कम्पनी माला’

गायिका आस्था राउतको स्वर रहेको ‘कम्पनी माला’बोलको गीत माघे संक्रान्तिको अवसर पारेर शनिबार सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा आस्था स्वयं प्रस्तुत छिन् । साथमा मोडल रियाशा दाहाललाई भिडियोमा हेर्न सकिन्छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । आइतबार दिउँसोसम्म भिडियोले २५ हजार भ्युज पाएको छ ।

रियल जोडी अभिनित ‘तिमीले सोचेजस्तो छैन’

रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘तिमीले सोचेजस्तो छैन’ गीत शनिबार मात्रै सार्वजनिक गरिएको हो । यो गीतमा गायक प्रमोद खरेलको स्वर छ ।

यज्ञराज पौडेलको शब्द र हरि लम्सालको संगीत रहेको गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् । यो गीतको भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका छन् । भिडियोमा यी दुईका अलवा विक्रम श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

कुञ्जना र सागर अभिनित ‘जाला जोवन’

कुञ्जना घिमिरे र सागर लम्सालको अभिनय रहेको ‘जाला जोवन’ गीतको भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

यो गीतमा रेवती घिमिरे र समीक्षा अधिकारीको स्वर छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज छ । गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

मायाप्रेमको यो गीतलाई आइतबार दिउँसोसम्म युट्युबमा ४७ हजार बढी पटक हेरिएको छ । भिडियो ‘धुर्मुस सुन्तली’ युट्युबमा सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?