+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
५४ बलमा ५१ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
70/0 (10.6)
Shares

मैथिली अभियानी निराश बनाउने मधेश नामकरण

‘तराई मधेशका २२ जिल्लालाई संकुचित गरी ८ जिल्लाको नामकरण मधेश प्रदेश गर्नु विगतमा भएको विभिन्न आन्दोलन माथि प्रहार हो । पहिचानको लागि अभियान, बहस र विरोध निरन्तर चल्दै रहन्छ !’

सुजीतकुमार झा सुजीतकुमार झा
२०७८ माघ ४ गते १६:०७

प्रदेश-२ को नामकरण भएपछि मैथिली अभियानी निराश जस्तो देखिएका छन् । मधेश आन्दोलन हुँदा अधिकांश मैथिली अभियानी प्रायः अग्रपंक्तिमै देखिन्थे तर मधेश नामकरण भएपछि अधिकांश मौन बसे । मिडिया पनि मधेशवादतिर नै लागे जस्तो लागिरहेको थियो ! यसले एउटा सन्देश अवश्य गएको छ- पहिला जस्तो मिडिया रहेनन् । अवाजविहीनको अवाज मिडिया बन्न छाडे ।

मूलधारको मिडियामा नआए पनि सामाजिक सञ्जालमा केही निराशाका स्वर अवश्य आए तर, अधिकांश संयमित देखिएका छन् ।

जनकपुरधामका अवकाशप्राप्त प्रधानाध्यापक रामचन्द्र झाले प्रदेशको नामकरण घोषणा हुनासाथै सामाजिक सञ्जालमा लेखे- ‘म साँच्चै भनूँ भने, राजधानीको नामकरण जनकपुरधाम भएकै कारण आनन्दित छु !’ युवा नेता सुशील कर्णले खुलेर विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘सीतालाई अपहेलित भएको मधेश चाहिंदैन ।’ कर्णको स्वर एकदमै कडा थियो तर जुन नाटकीय ढंगले मिथिलालाई समेटिएकोे छैन यो आक्रोश सामान्य हो ।

सीता माताको अर्को नाउँ मैथिली पनि भन्ने गरिन्छ । मिथिलाको नामकरणको एउटा प्रमुख कारण नै मिथिला रहेको छ । मिथिलाको महात्म्य बताउँदै बृहत् विष्णु पुराणको मिथिला-महात्म्य खण्डमा भनिएको छ- ‘गंगादेखि हिमालयको बीच १५ नदीले युक्त परम पवित्र तीरभुक्ति (तिरहुत) छ । तीरभुक्ति मिथिला सीताको निमिकानन रहेछ, ज्ञानको क्षेत्र र कृपाको पीठ हो । जानकीको यो जन्मभूमि मिथिला निष्पाप र निरपेक्ष छ । यो रामको आनन्द दिने तथा मंगलदायिनी छ ।’

उक्त पुराणमा अगाडि लेखिएको छ- ‘प्रयाग आदि तीर्थ लोकमा पुण्य दिने तर रामको प्राप्ति गर्नमा समर्थ छैन, यो मिथिला सबै प्रकारले निश्चित रूपमा रामको तुष्ट गर्नेभन्दा पनि विशेष छ । जसरी साकेत नगरी संसारको कारण स्वरूप रहेको छ त्यसरी नै मिथिला समस्त आनन्दको कारण स्वरूप छ । त्यसकारण महषिर्गण समस्त परिग्रहलाई छोडी रामको आराधनाको लागि प्रयत्नपूर्वक यसै ठाउँमा निवास गर्छन् ।’

वाल्मीकि रामायण तथा विभिन्न पुराणमा मिथिला नाउँको सम्बन्ध राजा निमिका पुत्र मिथिसँग जोडिएको छ । न्यूनाधिक अंतराकासँग यस ग्रन्थमा एउटा कथा सर्वत्र प्राप्त छ । निमिको मृत शरीरको मन्थनबाट मिथिको जन्म भएको थियो । वाल्मीकि रामायणको आधारमा मिथिको वंशजलाई मैथिल भन्ने उल्लेख रहेको छ ।

पौराणिक उल्लेखका अनुसार यस क्षेत्रको सर्वाधिक प्राचीन नाउँ मिथिला नै रहेको छ, साथै विदेह नाउँ पनि भनिएको छ । तीरभुक्ति (तिरहुत) नाउँ पनि केही स्थानमा देखिएको छ । बृहद् विष्णु पुराणमा मिथिलाको सीमाको सम्बन्धमा भनिएको छ-

पूर्वमा कोशीदेखि प्रारम्भ भई पश्चिममा गण्डकीसम्म २४ योजन तथा दक्षिणमा गंगा नदीदेखि प्रारम्भ भई उत्तरमा हिमालय वन तराईसम्म १६ योजन मिथिलाको सीमा रहेको छ । ‘९६ कोस लामो र ६४ कोस चौडा मिथिला रहेको’ ‘मिथिलातत्त्व विमर्श’ मा परमेश्वर झाले लेखेका छन् ।

पूर्व प्राज्ञ एवं लेखक रमेश रञ्जनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिथिलाको ऐतिहासिकता समाप्त गरिएको छ, अर्थात् पाँच हजार वर्षको विदेह सभ्यताको अस्तित्व अस्वीकार गरेका छन् ८० जना प्रदेश सांसदले ।’

उनको यो स्टाटस निकै निराशाले भरिएको छ । उनी पहिचानवादीका लागि कालो दिनको संज्ञा दिन्छन् । जो जहाँ रहेको भए पनि कुनै न कुनै रूपमा विरोध प्रकट गर्न उनले आहृवान पनि गरेका छन् ।

भारतमा बम्बईबाट त्यहाँका मराठीहरूको भावनालाई बुझाउन मुम्बई बनाएकै हो । चेन्नई, बेंगलुरु परिवर्तितै रूप हुन् । यी नामका पक्षमा पहिला एक-दुई जना नै लागेका होलान् तर, पछि जनमत बन्दै गयो । यो तर्कलाई नकार्न सकिंदैन ।

मधेश नाउँले ऐतिहासिकता र संस्कृति माथि जोडदार प्रहार भएको बताउँदै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पनि मिथिलावासीहरूको कालो दिन रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘तराई मधेशका २२ जिल्लालाई संकुचित गरी ८ जिल्लाको नामकरण मधेश प्रदेश गर्नु विगतमा भएको विभिन्न आन्दोलन माथि प्रहार हो । पहिचानको लागि अभियान, बहस र विरोध निरन्तर चल्दै रहन्छ !’

संघीयताको झन्डै पाँच वर्षको अभ्यासपछि प्रदेश-२ को नाम र राजधानी टुंगो लागेको छ । प्रदेश सभाको दुई तिहाइले नाम मधेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको हो । प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेशको नाम मधेश राख्ने पक्षमा ८० र राजधानी जनकपुरधाम राख्ने पक्षमा ७८ मत खस्यो । प्रदेश सभामा १०४ सदस्य छन् ।

राजधानी जनकपुरधाम राख्ने विषयमा सबै दल एकमत भए पनि प्रदेशको नामका विषयमा भने दलहरू धु्रवीकृत थिए । मधेश प्रदेश राख्न जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्ऽको साझा प्रस्ताव थियो । अन्य राजनीतिक मुद्दामा फरक ठाउँमा रहँदै आएका एमाले र एकीकृत समाजवादी भने यो विषयमा एकमत थिए । उनीहरू नाउँ जानकी राख्ने पक्षमा थिए । त्यस्तै कांग्रेसले नाउँ मिथिला-भोजपुरा राख्न खोजेको थियो ।

प्रदेश सभामा जसपाका ३७, लोसपाका १६ र माओवादी केन्द्रका ८ जना सांसद छन् । यी तीनै दलका सांसदको संख्या ६१ मात्रै थियो । तर, मधेश नाउँ राख्ने उनीहरूको प्रस्तावको पक्षमा ८० मत खसेको छ । यसले एउटा संकेत अवश्य दिएको छ । पार्टीभन्दा माथि उठेर प्रदेशको नाम मधेश राख्न कांग्रेस सहित अरू दलबाट पनि मत क्रस भएकै हो ।

नाम र राजधानी निश्चित गर्ने मधेश छैटौं प्रदेश हो । प्रदेश-१ भने अहिलेसम्म अनिणिर्त छ । यसअघि नाम तोकिएका वागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम पुरानै नाम दोहोरिए भने ‘मधेश’ नयाँ नाम छानिएको छ ।

‘आवश्यक थियो प्रदेशको विशिष्ट सांस्कृतिक अन्तर्विरोध सबैलाई समेटी निर्णय गर्नु । यो आगामी दिनमा नयाँ-नयाँ अन्तर्विरोध र अस्थिर राजनीतिको कारक बन्नेछ’, लेखक रोशन जनकपुरीको चेतावनी रहेको छ ।

चर्चित गायक एवं शिक्षासेवी सुनिल मल्लिक लेख्छन्- ‘अब मधेश माध्यमिकी परिक्रमा पनि पारित गर्नुस् सभासदजी ! जहाँ-जहाँ मिथिला छन् त्यहाँ मधेश बनाउनुस् । मैथिली संस्कृति चाँडै विस्थापित गर्नुस् ।’ उनको लेखाइमा पनि आक्रोश देखिएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतो मात्रै होइन, जनता समाजवादीका केन्द्रीय नेताको मधेशको नाउँमा फरक धारणा कहिल्यै थिएन । उनीहरू मधेश नाउँबाट टसमस भइरहेका थिएनन् । प्रदेशको मन्त्रालय रहेको जनकपुर चुरोट कारखाना परिसरलाई मधेश भवन नामकरण गर्नु, जनकपुर अस्पताललाई मधेश स्वास्थ्य प्रतिष्ठान बनाउनु दुवै पार्टीको रणनीतिकै चाल थियो । शनै शनै आफ्नो लक्ष्यतर्फ बढ्दै थिए । उनीहरूको रणनीतिलाई मैथिली अभियानीहरूले मात्रै नभई कांग्रेस कम्युनिष्ट पार्टीले बुझ्न सकेनन् ।

केही दिनअघि काठमाडौंको एउटा टेलिभिजन अन्तर्वार्तामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए- ‘मधेश कहाँ छ मधेशी को हो मलाई थाहा छैन, हामी समाजवादको पक्षधर मात्रै हौं ।’ यसरी पनि धेरैलाई भ्रममा राखियो । कुन बाध्यताले मधेश बनाउने अभियानमा उपेन्द्रजी लागे, यो बुझ्ने विषय होइन । अब लाग्छ- यो पनि रणनीतिकै एउटा चाल थियो ।

मधेश आन्दोलनको इतिहास लामो छ । अधिकार, सम्मान, समानताका लागि भएको मधेश विद्रोह समय-समयमा सत्ता स्वार्थका कारण विभाजन र एकता भएको इतिहास छ । नेपाली कम्युनिष्ट पार्टी जस्तै विभाजन र एकताको अनुभव मधेश विद्रोहसँग पनि उस्तै छ । आफूलाई पहिचानवादी भन्दै पहिचानकै लागि सयौं होनहार युवायुवतीलाई शहीद बनाउने राजनीतिक दलहरूको पहिचान विषयमा जुन सोच, समझ तथा दर्शन देखियो, त्यो अत्यन्त सतही रहेको केही विश्लेषकहरूको दाबी रहेको छ ।

मिथिला, मैथिल र मैथिलीको अस्तित्व सदियौंदेखि चल्दै आएको छ । अनेक प्रकारको कुचक्रबाट गुज्रिए पनि आजसम्म जीवन्त छ । यसका पछाडि निश्चित रूपमा मैथिल सभ्यता-संस्कृतिको सर्वाधिक योगदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?