+
+

खाँचो नेता कि नेतृत्वको ?

प्रकाश शर्मा ढकाल प्रकाश शर्मा ढकाल
२०७८ माघ ५ गते ८:५३

संवैधानिक प्रावधान बमोजिम धेरैजसो दलका अधिवेशनहरू अन्तिम घडीमा आएर सम्पन्न भएका छन् । अधिवेशनलाई राजनीतिक विश्लेषकहरूले दलको आवश्यकताले नभई बाध्यताले गरेको भनी आलोचना समेत गरिरहेका छन् । अधिवेशन अघि र सम्पन्न पश्चात् बहसको केन्द्रमा दलको शीर्ष नेता र नेतृत्वकै विषय रहृयो । के कस्तो नीति अख्तियार गर्लान् भन्नेमा कसैको चासो देखिएन । स्वयं दलहरूका गतिविधि हेर्दा पनि नीति, सिद्धान्तमा भन्दा को कुन पदमा चुनिएलान् भन्नेमै रमाएको देखियो । एमाले, कांग्रेस, माओवादी, माले लगायतका दलमा पुरानै नेता अध्यक्ष वा सभापति पदमा चुनिएर आएका छन् भने राप्रपामा नयाँ नेता निर्वाचित भएका छन् । एमालेमा लगभग पुरानै अनुहारको बाहुल्य देखिएको छ भने कांग्रेसमा नयाँ अनुुहारहरू पनि उल्लेख्य रूपमा निर्वाचित भएका छन् ।

धेरैको चासो र सरोकार चाहिं प्रमुख कार्यकारी पदहरूमा युवा नेताहरूको आगमन हुन नसकेकोमा रहेको देखिन्छ । पाका नेताहरूको नेतृत्वको पटक-पटक असफल भएको हुँदा युवा नेताहरूको आवश्यकता देख्नेको सङ्ख्या जति छ त्यति चुनिएका नेताहरूबाट विगतमा जे जस्तो भए पनि भावी दिनमा सफल नेतृत्व प्रदान गर्न सकून् भन्नेमा रहेको देखिन्छ । दल सम्बन्धी विद्यमान नेपाल कानून तथा दलका विधान अनुसार निर्वाचित भएपछि नेता छनोट उपयुक्त भयो वा भएन भन्दा पनि चुनिएका नेतालाई सफल नेतृत्व प्रदान गर्न गराउन दवाब सिर्जना गर्न सकिन्छ वा सकिन्न भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्ने देखिन्छ । दलका कार्यकर्ता मात्र होइन आम नागरिकको खबरदारीलाई महत्व दिन जरूरी छ ।

के हो नेता ?

नेपाली शब्दकोशले नेता भन्नाले कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, कुनै समाजमा नेतृत्व दिने, अगुवा, नाइकेलाई जनाउँदछ भनेको छ । शाब्दिक अर्थ हेर्दा नेता व्यक्ति विशेष हुन्छ । नेता विभिन्न प्रक्रियाबाट जन्मन्छ वा जन्माइन्छ । काम गर्दै जाँदा उसको कार्य, विचार वा व्यवहारबाट प्रभावित भई नेता मान्ने तथा नेता बन्ने परम्परागत अवधारणा देखिन्छ । धार्मिक तथा सामाजिक प्रकृतिका संस्थाहरूमा यस प्रकारको अभ्यास बाक्लै देखिन्छ । योग्यताको परीक्षणद्वारा नेतृत्व तहमा पुग्ने वा नेता बन्ने अर्को अभ्यास खासगरी प्रशासनिक क्षेत्रमा बढी देखिन्छ भने नेताको रूपमा निर्वाचित हुने परिपाटी पनि छ । यस प्रकारको अभ्यास खासगरी राजनीतिक दल तथा राजनीतिक प्रकृतिका संघ-संगठनहरूमा बढी अभ्यास भएको देखिन्छ ।

के हो नेतृत्व ?

नेतृत्व भनेको कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग प्रदर्शन हो । नेताको काम नेतृत्व हो भनी नेपाली बृहत् शब्दकोशले शाब्दिक अर्थ लगाएको छ । यो व्यक्ति नभएर गुणसँग सम्बन्धित विषय हो । नेता हुँदैमा नेतृत्व र नेतृत्वको गुण हुँदैमा नेता बन्ने अवसर पाउँदछ नै भन्ने पनि हुँदैन । माथि उल्लेख गरिएका विधि र प्रक्रियाबाट आएको नेताको सफलता वा असफलता यही नेतृत्वशैलीको कसीमा परीक्षण हुने गर्दछ/गर्नुपर्दछ ।

आफ्ना कुरा लाद्न चाहने तर अरूका कुरा सुन्नै नचाहने जुन प्रवृत्ति देखा परेको छ, यसले दललाई अहिलेकै जर्जर अवस्थाबाट माथि निस्कन दिंदैन । यसले अन्ततः दलहरूप्रति आम नागरिकको विश्वास कमजोर बन्दै जान्छ

के नेता हुन उमेर बन्देज आवश्यक छ ?

नेता र उमेरलाई लिएर नेपालमा बारम्बार चर्चा हुने गरेको छ । खासगरी यहाँ भएका बहसहरू हेर्दा उमेर छिप्पिंदै गएपछि कुनै दलको माथिल्लो कार्यकारी पदमा बस्नु उपयुक्त हुँदैन वा निजले राम्रोसँग नेतृत्व गर्न सक्दैन भन्ने भाव देखिन्छ । नेता र उमेरको सम्बन्धमा खासगरी राजनीतिक दलमा बन्देज लगाइएका अभ्यास विश्वमा त्यति बाक्लो पाइँदैन । बरु धेरै देशहरूमा कार्यकालका सम्बन्धमा विशेष व्यवस्था गरेको देखिन्छ । प्रमुख कार्यकारी पदहरूमा एक वा दुई कार्यकाल मात्र रहने वा चुनिन पाउने व्यवस्था छ ।्

नेपालको कानूनमा विभिन्न प्रशासनिक तथा राजनीतिक पदको लागि न्यूनतम उमेरको स्पष्ट व्यवस्था गरेको देखिन्छ । यो पनि पद अनुसार फरक फरक रहेको छ । पालिकाको निर्वाचनमा उम्मेदवार बन्नको लागि २१ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गरेको छ । प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको लागि २५ वर्ष एवं राष्ट्रिय सभा सदस्यको लागि ३५ वर्ष, राष्ट्रपति उप-राष्ट्रपतिको लागि ४५ उमेर तोकिएको छ । राजनीतिक नियुक्तिका कतिपय पदहरूमा पनि माथिल्लो उमेर तोकिएको छ । संवैधानिक निकायहरूमध्ये राष्ट्रिय मानवअधिकार आयोग बाहेक अन्य आयोगको हकमा ६५ वर्षको हद तोकिएको छ । अन्य निर्वाचित हुने पदहरूमा सम्भवतः कुनै पनि पदमा माथिल्लो उमेर हद तोकिएको पाइँदैन ।

उमेर र नेतृत्वः केही वैश्विक उदाहरण

विभिन्न एजेन्सीमा उपलब्ध सूचना अनुसार सैनिक शासन विरुद्ध लडिरहेकी म्यानमारकी नेतृ सुकी ७६ वर्षकी भइन् । दक्षिण अपि|mकाका प्रथम राष्ट्रपति मण्डेला ७६ वर्षको उमेरमा राष्ट्रपति बनेका थिए । उनलाई आन्दोलन मात्र होइन राज्य सञ्चालन प्रक्रियामा पनि सफल नेताको रूपमा लिइन्छ । अमेरिकाका वर्तमान राष्ट्रपति बाइडेन ७९ वर्षका भए भने रूसी राष्ट्रपति पुटिन ६९ वर्षका । उमेरका हिसाबले पाका यी दुवै नेता शक्तिशाली प्रभावशाली विश्व नेतामा पर्दछन् । फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनको उमेर ३६ वर्ष मात्र रहेको छ । भर्खरै निर्वाचित चिलीका राष्ट्रपति गाबि्रयल बोरिक ४१ वर्षका भए भने फ्रान्सका राष्ट्रपति एमानुअल राष्ट्रपति चुनिंदा ३९ वर्षका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडा ६१ वर्षका छन् भने भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको उमेर ७५ वर्ष पुगेको छ । तुलनात्मक रूपमा औसत आयु बढी रहेको जापानका राजनीतिक दलका शीर्ष नेताको उमेर ६५ वर्षको आसपासमा देखिन्छ । लिवरल डेमोक्रेटिक दलका अध्यक्ष फूमियो अहिले ६४ वर्षका भए । छिमेकी देश बंगलादेशमा अवामी लिगकी अध्यक्ष शेख हसिना ७३ वर्षकी भइन् भने अर्को दल बंगलादेश नेशनल पार्टीका प्रमुख तारिक रहमान ५४ वर्षमा उक्त दलको नेतृत्व गरिरहेका छन् ।

संयुक्त अधिराज्यका प्रमुख दुई दलका शीर्ष नेता ६० वर्ष भन्दा कम उमेरका रहेका छन् । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका नेता बोरिस जोन्सन ५७ वर्षका छन् भने अर्को दल लेवर पार्टीका प्रमुख सर केइर ५९ वर्षका भए । दक्षिण अपि|mकाको प्रमुख दल अपि|mकन नेशनल कंग्रेसका अध्यक्ष अहिले ६६ वर्षका छन् । आधुनिक सिंगापुरका निर्माता मानिने लि क्वान यू ३५ वर्षको उमेरमा प्रधानमन्त्री भई ६७ वर्षको उमेरसम्म सो पदमा रहेका थिए । २२ वर्ष मलेशियाको प्रधानमन्त्री बनेका महाथिर मोहम्मद पछिल्लो पटक ९३ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई मलेशियाको विकासका जननीको रूपमा लिइन्छ । भारतमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको आम आदमी पार्टीका प्रमुख केजरीवाल अहिले ५३ वर्षका भएका छन् ।

यसरी हेर्दा उमेरका हिसाबले पाका नेताले पनि सफल नेतृत्व प्रदान गरेको देखिन्छ । कम उमेरमा उदाएका विश्व नेताहरूले पनि परिपक्व नेतृत्व दिएको देखिन्छ । यसको ठीक उल्टो युवा वा पाका दुवै नेताहरूले सफल नेतृत्व प्रदान गर्न नसकेका प्रशस्तै उदाहरण छन् । यसले नेता होस् वा नेतृत्व दुवैका लागि उमेर महत्वपूर्ण तत्व होइन रहेछ भन्ने नै देखाउँदछ ।

किन छोड्न चाहँदैन पुरानो पुस्ता ?

अधिकार र शक्तिको प्रयोगमा चाहना राख्नु मानवीय स्वभाव नै हो । आफू अधिकारविहीन भएर बस्न शायद कोही चाहँदैन । मानिसमा व्यक्तिवादी सोच हावी भयो भने आफू र आफ्नो समूहलाई केन्द्रमा राखेर सोच्ने गर्दछ । यसो हुँदा उसले आफ्नो मात्र नभई परिवारको सदस्य वा परिवार बाहिरको सदस्य लगायत आफू निकटका मानिसको भविष्यको चिन्ता गर्न थाल्दछ । आफू रहुन्जेल आफैं, आफू हट्नु परेको अवस्थामा आफ्नो परिवारको उत्तराधिकारी वा नजिक रहेको सदस्यलाई उत्तराधिकारी बनाउने उत्कट चाहनाबाट ग्रसित नेताले जतिसुकै आलोचना भए पनि पद छाड्न चाहँदैन ।

त्यसैगरी नजिकका व्यक्ति वा स्वार्थ समूहले निजलाई पदमा कायमै रहिरहन निरन्तर दवाब समेत सिर्जना गरिरहेको पाइन्छ । पद वा शक्ति नै मान सम्मान वा शानको एक मात्र आधार ठानिंदा पनि समस्या पैदा भएको देखिन्छ । त्यसैगरी आफूले छाडेमा दल वा देशको भविष्य के होला ? भन्ने चिन्ता सहितको साँघुरो मानसिकताको उपजको रूपमा पनि देखिन्छ यदाकदा ।

दोस्रो पुस्ता किन आँट गर्दैन ?

नेपालका राजनीतिक दलहरूमा नेतृत्वको जन्म जनताबाट भन्दा पनि दल भित्रबाट भएको देखिन्छ । यसको मतलब आम नागरिकलाई प्रभाव पार्दै त्यसको प्रभाव राजनीतिक दलका प्रतिनिधिहरू मार्फत नेतृत्व छनोटको अभ्यास उति सारो देखिंदैन । नेपालका राजनीतिक दलहरूको निर्णय प्रक्रिया एकदमै केन्द्रीकृत रहेको छ । सामूहिक निर्णय प्रक्रियाको अभावमा शीर्ष नेता नै सर्वेसर्वा देखिन्छन् । इतर गुटको नेताले सभापति वा अध्यक्षको एकल अधिकार वा शक्तिलाई कहिलेकाहीं चुनौती दिने गरे पनि सामूहिक नेतृत्व प्रणाली कुनै पनि दलमा विकास हुनसकेको छैन । राजनीतिक दलका विद्यमान नेताहरूको आशीर्वाद वा निजको चाहनाको आधारमा चुनिने गरेको देखिन्छ । यसले युवा पुस्तामा के मनोवैज्ञानिक प्रभाव परिरहेको देखिन्छ भने शीर्ष नेताको फेरो नसमातेसम्म वा कुनै गुटमा लागेर सो गुटको सौदावाजी बेगर नेतृत्वमा पुगिंदैन । शीर्ष नेतालाई चुनौती दिनु भनेको राजनीतिक भागदौडबाट हट्नु सरह हो भन्ने बुझाइ युवा नेताहरूमा रहेको छ । यसलाई अवसर भन्दा पनि चुनौतीको रूपमा बुझ्ने र चुनौतीलाई अवसरको रूपमा लिने आँट देखिंदैन ।

युवा प्रतिनिधि किन पाका नेता चुन्दछन् ?

नेपालका राजनीतिक दलहरूका अधिवेशनमा आउने प्रतिनिधिहरू धेरैजसो पाका उमेरका नै देखिन्छन् । स्थानीय स्तरमा पनि पाका नेताहरूलाई चुनौती दिन नचाहने, माउ पार्टीमा भन्दा भ्रातृ संगठनको राजनीतिमा चासो राख्ने कारण पनि स्थानीय स्तरबाट धेरै पाका प्रतिनिधिहरू चुनिएर आएको देखिन्छ ।
पछिल्ला वर्षमा भने युवाहरूको प्रतिनिधित्व राम्रै देखिएको छ । थोरै सङ्ख्यामा आएका प्रतिनिधिहरूमा स्वतन्त्र रूपमा मतदानमा भन्दा जिल्ला वा क्षेत्रीय हिसाबमा एकमतको प्रयास गरी पुरानै नेतालाई चुन्न प्रयासरत रहेको देखिन्छ । युवा पुस्ता तर्फभन्दा पाका नेताको निकट वा पक्षमा रहँदा स्थानीय राजनीतिमा आफ्नो प्रभाव बढी पर्ने आकलन पनि प्रतिनिधिहरूमा देखिन्छ ।

नेता र नेतृत्वको सफलता/असफलता

सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओली ७० वर्षका भए । उनीसँग प्रतिस्पर्धामा देखिएका भीम रावल ६५ वर्षका । यो दलका अन्य प्रमुख नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुवास नेवाङ, रामबहादुर थापा पनि ६५ देखि ७० वर्षको बीचमा रहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७५ वर्षका भए भने उनका प्रतिद्वन्द्वी शेखर कोइराला ७० वर्षका । यो दलमा पनि शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ ७० वर्ष काटिसकेका नेताहरू हुन् । माओवादी अध्यक्ष प्रचण्ड ६७ वर्षका भए ।

माओवादीमा उनी निर्विकल्प अध्यक्ष बने । वैकल्पिक शक्तिको वकालत गर्दै आएका बाबुराम भट्टराई अहिले ६७ वर्षका भइसकेका छन् भने विवेकशील साझा दलका नेता रवीन्द्र मिश्र चाहिं ५४ वर्षका पुगे । मधेशकेन्दि्रत दलका नेताहरू महन्थ ठाकुर ७८ वर्ष, उपेन्द्र यादव ६० वर्ष, राजेन्द्र महतो ६३ वर्षका भए भने लक्ष्मणलाल कर्ण ७५ कटिसकेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ५५ वर्षका मात्र भए ।

यस हिसाबले हेर्दा नेपालका प्रमुख दलहरूमा कम्तीमा पनि अबको चार/पाँच वर्ष अर्थात अर्को अधिवेशनले नयाँ नेतृत्व नचुनेसम्म यिनै पाका नेताहरूको नेतृत्व निर्विकल्प देखियो । प्रमुख दलका शीर्ष नेताहरू २०४६ को आन्दोलनको अग्रमोर्चामा रहेर आन्दोलनमा होमिएका तथा २०१७ सालको राजा महेन्द्रको कु विरुद्ध कुनै न कुनै रूपमा संघर्षको मैदानमा होमिएका नेताहरू छन् भने केही नेताहरू २०६२/६३ को आन्दोलनमा उदाएका युवा नेताहरू । राजनीतिक परिवर्तनमा यी नेताहरूको योगदान अतुलनीय रहेको छ । आफ्नो व्यक्तिगत, पारिवारिक स्वार्थबाट माथि उठेर पञ्चायती शासनमा लोकतन्त्रका लागि लडेका नेताहरू लोकतन्त्रको बहाली पछि भने जनताको आर्थिक, सामाजिक अवस्थामा गुणात्मक सुधार ल्याउन नसकेको भनी आलोचित भइरहेको अवस्था छ ।

२०४६ को परिवर्तनलाई सम्हाल्न वा सम्बोधन गर्न नसक्दा पुनः २०६२/६३ को आन्दोलनमा होमिनु परेको भनी आलोचना पनि भैरहेको छ । सधैं आन्दोलनकै लागि ठूलो धनजन र समयको क्षति व्यहोर्नुपर्ने नागरिकको जीवनमा सार्थक परिवर्तन नआउने अवस्थाबाट पार पाउन राजनीतिक दलका शीर्ष नेताहरू थप जिम्मेवार र जवाफदेही हुन जरुरी छ । त्योभन्दा बढी आवश्यक दूरगामी सोचयुक्त भावी नेतृत्व जन्माउने र उनीहरूको हातमा दल तथा समग्र राज्य प्रणाली हस्तान्तरण गर्नु देखिन्छ ।

तसर्थ अब नेतृत्वमा उमेरको बहसको पछि दौडिनु भन्दा भैराखेका नेताहरूको नेतृत्व शैली कसरी प्रभावकारी बनाउने र भावी नेता वा नेतृत्व कस्तो विकास गर्ने भन्नेमा केन्दि्रत हुनुपर्ने देखिन्छ । यसका लागि केही विषयमा जोड दिन आवश्यक छ ।

सामूहिक नेतृत्व प्रणालीमा जाने

राजनीतिक दलको निर्णय निर्माण प्रक्रिया अत्यन्तै केन्द्रीकृत रहेको छ । जटिल तथा बृहत् प्रकृतिका निर्णयमा त झन् अध्यक्ष वा सभापतिलाई एकल अधिकार दिने गरी औपचारिक निर्णय गर्ने गरेको पाइन्छ । गठन भएका समिति वा कार्यदलहरूले मूल विषयमा भन्दा साना मसिना विषयमा सुझाव दिई मूल विषय अध्यक्ष वा सभापतिलाई जिम्मा दिन सिफारिश गर्ने गर्दछन् । यसले निर्णय र सोको कार्यान्वयन दुवै प्रभावकारी हुन सकिरहेको छैन भने अन्य नेताहरूमा निर्णय क्षमता तथा नेतृत्व शैलीको समेत विकास हुन पाएको छैन । त्यसैले सामूहिक निर्णय पद्धतिको विकास गर्नु पहिलो आवश्यकता हो । आगामी वर्षमा तीनै तहको निर्वाचन हुने भएकोले निर्वाचनमा उम्मेदवार छनोटको विषयले निकै विवाद उत्पन्न गराउने भएकोले सामूहिक निर्णय पद्धतिको टड्कारो आवश्यकता देखिन्छ । यो सबैभन्दा उत्तम अभ्यास पनि हो ।

कार्यकाल तोक्ने

निर्वाचन पद्धतिबाट नेताको चयन हुने भएपछि अवधि तोकी बन्देज लगाइनुहुँदैन भन्ने मत पनि देखिन्छ । आम कार्यकर्ताबीच जो लोकपि्रय छ, ऊ चुनिएर आउनु अझ बढी सान्दर्भिक नै देखिन्छ । आफ्नो इच्छा होउञ्जेल पदमा रहिरहने हो भने भावी नेतृत्वको विकास कसरी हुन्छ ? भन्ने तर्कलाई पनि कम आकलन गर्नु चाहिं हुँदैन । एउटा सामान्य संगठनमा त उत्तराधिकारी योजनाको महत्व हुन्छ भने देश हाँक्ने दलहरूमा यस प्रकारको योजना नहुनु वा चाहिंदैन भन्नुलाई युक्तिसंगत मान्न सकिंदैन । हाम्रा दलका विगतका अभ्यास तथा हाल देखिएको प्रवृत्ति हेर्दा कुनै न कुनै बाध्यात्मक व्यवस्था विना नेतृत्व छाड्न वा नेतृत्व दावी गर्न पाका वा युवा नेताहरू चाहँदैनन् भन्ने नै देखिन्छ । दलका प्रमुख कार्यकारी पदहरू मध्ये एउटै पदमा एक वा दुई पटकसम्म मात्र चुनिन वा उम्मेदवार हुन पाउने व्यवस्था सबैभन्दा उत्तम व्यवस्था हो । उसको पहिलो कार्यकालको कार्यसम्पादन हेरी प्रतिनिधिहरूले अर्को कार्यकालका लागि निर्वाचित गर्ने वा नगर्ने निश्चित गर्दछन् । दुई कार्यकाल भनेको ८ देखि १० वर्षको समय भएकोले पर्याप्त हो । त्यसपछि यसको अभिभावकीय एवं सल्लाहकारी भूमिका निर्वाह गर्न सक्दछ । प्रधानमन्त्री तथा राष्ट्रपतिको हकमा पनि यस्तो व्यवस्था गर्नुपर्ने देखिन्छ ।

निर्णयमा स्थिर

अहिले दलहरूमा देखिएको समस्या भनेको नीति वा निर्णयमा अस्थिरता पनि हो । तथ्य वा परिस्थितिले पूर्ववत् निर्णयलाई अप्रासंगिक बनाएको अवस्थामा आधार र कारण सहित निर्णय परिवर्तन गर्नु आवश्यक हुन्छ । एउटा निर्णय गर्ने र सो को सन्दर्भ अनुसार व्याख्या गरिदिने परिपाटी दलहरूमा देखिन्छ । निर्णयको व्याख्या पदाधिकारी अनुसार पृथक् पृथक रूपमा आउने गरेको पनि छ ।

सत्तामा हुँदा र सत्ता बाहिर हुँदा एउटै विषयमा फरक फरक धारणा राख्दा दलहरूका गतिविधि अनुमानयोग्य बन्न सकेनन् । यसले दलहरूको नैतिक धरातल कमजोर बन्ने मात्र होइन आम नागरिकमा दलहरू प्रति नैराश्यता पैदा गरिदिन्छ । निर्णय निर्माणमा पारदर्शिता, निर्णय कार्यान्वयनको सुनिश्चितता र प्रतिबद्धता विना नेतृत्व सफल बन्न सक्दैन ।

आन्तरिक लोकतन्त्रको सुदृढीकरण

आन्तरिक लोकतन्त्रको पक्ष कमजोर बन्दै गएको भनी दलहरूको आलोचना भैरहेको छ । विधि, विधानहरूको निर्माण होस् वा सङ्ख्यात्मक वर्ग वा क्षेत्रगत प्रतिनिधित्वको प्रश्न हाम्रा दलहरूको अवस्था कमजोर नै देखिन्छ । राजनीतिक दल सम्बन्धी विद्यमान नेपाल कानूनका साथै दलहरूका आफ्नै विधानहरूको अक्षरशः पालना गर्नु गराउनु अपरिहार्य छ । महाधिवेशन लगत्तै गठन गर्नुपर्ने दलका आन्तरिक आयोग, समितिहरूको नियुक्ति पत्र अर्को महाधिवेशन हलमा बाँड्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हो ।

भ्रातृ संगठनको क्रियाशीलताका लागि नेतृत्वले हस्तक्षेप गर्नुपर्नेमा निष्त्रिmय पार्न वा आफू अनुकूल संचालन गर्न हस्तक्षेप गर्ने परिपाटीको अन्त्य आजैबाट हुनुपर्दछ । आन्तरिक लोकतन्त्र दलको केन्द्रीय संरचनामा मात्र होइन यो स्थानीयस्तरबाटै विकास हुँदै आउनुपर्ने देखिन्छ । आन्तरिक लोकतन्त्रको सबलीकरणको लागि पनि दलमा सामूहिक नेतृत्व प्रणाली अपरिहार्य देखिन्छ । प्रत्येक निर्णय वा कार्यका लागि व्यक्तिगत एवं सामूहिक जवाफदेहिता र उत्तरदायित्व प्रणाली विकास गर्नै पर्दछ ।

सहनशीलता विकास

नेतृत्व सम्बन्धी प्रतिपादित सिद्धान्त, अनुसन्धानहरूले सफल नेतृत्वको लागि सहनशीलता अनिवार्य तत्व मानेको देखिन्छ । अरूका कुरा सुन्ने, आलोचनालाई सुधारको लागि सुझावको रूपमा बुझ्नुपर्दछ । फोन, सामाजिक सञ्जाल, इमेल इन्टरनेटका साथसाथै भौतिक रूपमा हुने भेटघाट अन्तरसम्वादलाई विगतको आधारमा वर्तमानको मूल्याङ्कन गर्दै भावी कार्यदिशा कस्तो बनाउन सकिएला भन्ने विषयमा केन्दि्रत गर्नु पर्दछ । आफ्ना कुरा लाद्न चाहने तर अरुका कुरा सुन्नै नचाहने जुन प्रवृत्ति देखा परेको छ, यसले दललाई अहिलेकै जर्जर अवस्थाबाट माथि निस्कन दिंदैन । यसले अन्ततः दलहरूप्रति आम नागरिकको विश्वास कमजोर बन्दै जान्छ ।

दल र जनताबीचको दूरी

प्रायः सबै राजनीतिक दलहरू चुनावी नाफा घाटा हेरेर मात्र नागरिक समक्ष पुग्दछन् भनिन्छ । निर्वाचनको समयमा हात जोडेर घर-घर पुग्ने दल तथा नेताहरू चुनाव पछि किन जनताको सुखदुखमा सहकार्य गर्न सक्दैनन् ? यो प्रश्नको उत्तरको खोजी स्वयं राजनीतिक दलहरूले समेत गर्नुपर्दछ । कुनै पनि नेताको नेतृत्व आम नागरिक/कार्यकर्तासँग दूरी कायम गरेर हुन सक्दैन । भौतिक रूपमा सबै ठाउँमा उपस्थित हुन असम्भव हुने हुँदा उनीहरूको सामीप्यमा रहनुपर्दछ ।

यो युग सूचनाप्रविधिको युग पनि भएकोले सोको प्रयोग गर्ने, केन्द्रीय नेताहरू प्रदेश, जिल्ला एवं क्षेत्रसम्म पुग्ने, प्रदेशहरूको जिम्मेवारीमा रहेका नेताहरू जिल्ला तथा स्थानीय वडा तहसम्म पुग्नुपर्ने देखिन्छ । यसले स्थानीयस्तरमा दलप्रतिको दृष्टिकोण र अपेक्षा के रहेको छ भन्ने जानकारी मात्र हुँदैन, आम नागरिकका आवश्यकता पहिचानमा समेत सहजीकरण गर्दछ । सामाजिक सञ्जालको प्रयोग मार्फत दल र नागरिकबीचको दूरी कम गर्ने प्रयास विश्वभर भैरहेको छ । कोभिड महामारी पश्चात त यसको महत्व झन् बढेर गएको छ ।

समृद्ध नेपाल निर्माणको लागि देशको तालाचाबी युवा पुस्तामा हस्तान्तरण हुनै पर्दछ भन्ने एकतर्फी सोच राखियो भने हामी अझै पछि पर्दै जाने निश्चित छ । दूरगामी सोच सहितको इमानदार नेतृत्व आजको आवश्यकता हो न कि उमेरका हिसाबले कम वा बढी । नेताहरूको विगत तथा वर्तमानलाई हेरेर निराश हुनुभन्दा समृद्ध नेपाल निर्माणका लागि वर्तमान नेतृत्वमाथि सकारात्मक दवाब सिर्जना गर्दै भावी नेतृृत्व विकासका लागि राजनीतिक दल, दलका नेता/कार्यकर्ता, नागरिक समाज समेत एकाकार हुन जरूरी देखिन्छ ।

(लेखक राजनीतिशास्त्रका विद्यार्थी हुन् ।)

लेखकको बारेमा
प्रकाश शर्मा ढकाल

लेखक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उपसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?