+
+
पुस्तक समीक्षा :

महाभारा उपन्यास : माओवादी विद्रोहले सताएको समय, प्रेम र समाजको कथा

गणेश कार्की गणेश कार्की
२०७८ माघ ८ गते १८:२०

पोहोर माघ १५ मा एउटा खबर आयो। खबरको शीर्षक थियो- ९० हजार शब्दको लामो स्टोरी तयार पारेर बसेका सम्पादक। बसन्त बस्नेतले एउटा उपन्यास तयार पारिसकेका छन् र यसको नाम ‘टाढा पहाडमा’ हुने सूचना उक्त सामग्रीमा प्रकाशित थियो। समाचार प्रकाशित भएको एक वर्ष हुन केही दिन बाँकी रहँदा तपाईंले त्यो नामको उपन्यास खोज्नुभयो भने पाउनु हुन्न। बरु उनै बस्नेतको अर्कै नामको उपन्यास भने प्रकाशित भइसकेको छ। नाम छ- महाभारा।

सो समाचारमा भनिएको ‘टाढा पहाडमा’ नामको उपन्यास नै अहिले महाभारा नाम राखेर प्रकाशित भएको हो भन्ने तपाईंले पुस्तक पढ्न शुरु गर्ने बित्तिकै थाहा पाउनुहुनेछ। उपन्यासको पहिलो पाठ नै टाढा पहाडमा शीर्षकमा छ।

स्थानीयहरूले महाभारत पहाडी शृङ्खलालाई महाभारा भन्ने गर्छन्। सोही क्षेत्र र जनताको कथालाई प्रतिनिधित्व गर्न उपयुक्त नाम हो- महाभारा ।

उपन्यासको नाम नै बोक्न ठिक्क परेको पहिलो पाठ वास्तवमा उपन्यासको ‘टिजर’ मात्रै हो। यसले पहाडको कुनै स्थान र त्यहाँका पात्रहरूको झिल्का छोड्छ। तपाईंलाई कौतूहल जगाउँछ। उपन्यासको भूमिका पनि बाँध्छ। कुन समयको उपन्यास हो भन्ने संकेत पनि गर्छ तर यो फेरि गएर कथासँग जोडिंदैन। कथा बाहिर भएर पनि सम्पूर्ण जानकारी दिन्छ, संकेतका रुपमा। यसको पूरा मज्जा लिन उपन्यास सबै छिचोलिसकेपछि पुन: यो पाठ पढ्न म सिफारिश गर्छु ।

उपन्यासमा के ?

२०५५ सालदेखि २०६२ सम्मको समयको नेपालको पूर्वी पहाडको कथा छ उपन्यासमा। कथानकका रुपमा यो उमेर पुगेका तामाङ केटा र लिम्बू केटीको प्रेमकथा हो। उनीहरू देहातका साधारण मानिस हुन्। उनीहरूका सानामसिना अर्गानिक सपनाहरू छन्। उनीहरूलाई राजनीतिको चासो छैन।

तर माओवादी विद्रोहको समय थियो त्यो। अप्ठ्यारो राजनीति भोगिरहेको समाज थियो त्यो। राजनीतिको बाछिटाबाट उनीहरू पनि मुक्त हुन सक्दैनन्। राजनीतिमा उनीहरूको कतै छाप पनि पर्दैन तर राजनीतिको सानो छापले उनीहरूको जीवनमा ठूलो प्रभाव छोड्छ। सामान्य सपना र अतिसाधारण जीवन पनि जटिल बन्न थाल्छ। त्यही जटिलताको विवरण नै उपन्यास हो ।

संक्षिप्तमा कथानक

कथा पूर्वी नेपालको पाँचथरको कुनै दुर्गम गाउँबाट शुरु हुन्छ। उपन्यासको पात्र डुक्पाकै भाषामा भन्ने हो भने चाइनाको छेउको नेपाली गाउँ हो त्यो। डुक्पा उपन्यासको मुख्य पात्र हो। डुक्पा सानैदेखि रौसे र जोसिलो हुन्छ। उसलाई पढ्न बाहेक ‘सबैथोक’ गर्न आउँछ। उसलाई पढ्ने बाहेक अरु सबैथोकमा मान्छेहरूले मन पराउँछन्। स्कूलमा साथीको लहलहैमा गरेको फट्याइँका कारण सरको गाली र चुटाइ भेट्छ अनि ऊ पढ्न बन्द गर्छ । तर ऊ भलिबल राम्रो खेल्छ। ऊ राम्रोसँग गीत गाउँछ। ऊ गजबले नाँच्छ। उसको नाचलाई डुक्पा डान्स भनेर रुचाइन्छ। त्यही नाचगानबाट उसले मेलामा सुक्मती नामकी युवती भेट्छ। दुईजनाको मन मिल्छ। प्रेम हुन्छ।

पुस्तक पढिसकेर लेखकको भनाइ पढेपछि ‘महाभारा’ उपन्यासको पहिलो मस्यौदा पढ्ने मन छ

तर डुक्पालाई सानैदेखि ट्रक ड्राइभर बन्नु छ। त्यही सपना पूरा गर्न नागरिकता पनि नबन्ने उमेरमा ऊ घर, गाउँ, भर्खरै बनेकी प्रेमिका कसैलाई थाहै नदिई बिर्तामोड आउँछ। कुल्ली बन्छ। सहचालक बन्छ। राम्रा अक्षर भएकाले बेला बेला ब्यानर र बोर्ड लेख्छ। जे काम आयो, त्यही गर्छ।

ट्रक ड्राइभर बन्नका लागि साना गाडीहरू चलाउन सिक्छ। हितैषी साथीहरू बनाउँछ। डुक्पाबाट डेनी बन्छ। नागरिकता पनि नबनी घरबाट भागेको भएर उसले जति संघर्ष गरेर जुन गाडी सिके पनि लाइसेन्स बनाउन पाउँदैन। अनि विदेश गएको साथीको लाइसेन्स बोकेर आफू गाडी चलाउन थाल्छ। डेनी ड्राइभर बन्छ। र, एउटा व्यापारीको गाडी चलाउन थाल्छ। ट्रक ड्राइभर बनेर सुक्मतीसँग सुखी जीवन बिताउने सपना सजाइरहन्छ।

त्यही समय एउटा घटना घटिदिन्छ। स्थानीय युवकहरूको समूहले एकजना ट्रक ड्राइभरलाई मारिदिन्छन्। आन्दोलन हुन्छ। थाहै नपाई जोसजोसैमा डुक्पा त्यो आन्दोलनको अग्रभागमा पुग्छ। लगभग नेतृत्व लिए झैं। त्यही कारणले ऊ भूमिगत रहेका स्थानीय माओवादी नेताको नजरमा पर्छ। उनीहरूले डुक्पालाई फकाउँछन् र आफ्ना सानातिना कामहरूमा सहयोग माग्न थाल्छन्। डुक्पालाई माओवादीहरूको संसर्ग शुरुमा अफ्ठ्यारो र विस्तारै रोमाञ्चक लाग्न थाल्छ। कामविशेषले तिनै माओवादी नेताहरूको पछि लागेर पुन: डुक्पा पहाड उक्लिन्छ। र, पुग्छ आफ्नै गाउँमा ।

तर उसले सुक्मतीलाई भेट्दैन। माओवादीकै कारण सुक्मतीले गाउँ छोडिसकेकी हुन्छे। पाँचथरको लारुम्बा भन्ने स्थानमा एकजना किराँती धर्मगुरुको आश्रम हुन्छ जहाँ चाँडै नै पृथ्वी ध्वस्त हुने र गुरुले मात्रै बचाउन सक्ने भन्दै मान्छेहरू थातथलो छोडेर गुरुसँग शरण माग्न पुगेका हुन्छन्। सुक्मती आफ्नो निराशाको कारण संन्यासी झैं भएर लारुम्बामै धर्मगुरुको आश्रममा शरण लिन पुगेकी हुन्छे।

डुक्पा माओवादी भएको कसैलाई थाहा हुँदैन तर सोही बेला माओवादीहरूले गाउँकै स्कूलको हेडसरलाई कालोमोसो दलेर जनकारबाही गर्छन्। कारबाहीकै बेला कुनै जानकारी र योजना विना एकजना माओवादी नेताले सबैको अगाडि डुक्पालाई पार्टी कार्यकर्ताका रूपमा सार्वजनिक गरिदिन्छन्। डुक्पाको लागि यो अनपेक्षित र जटिल परिस्थिति बनिदिन्छ। डुक्पासँग अब माओवादी नै बनिराख्नुको विकल्प रहँदैन।

माओवादीहरूको सरकारसँग शान्ति वार्ता चलिरहेको कारण युद्धविराम भएको हुन्छ। ऊ लारुम्बा पुगेर सुक्मतीलाई भेट्न चाहन्छ। विवाह गरेर घर बसाउन चाहन्छ। तर लारुम्बामा धार्मिक आवरणमा माओवादी विरुद्धको राजनीतिक गतिविधि तीव्र हुन्छ। माओवादीको तालिम केन्द्र राख्ने विषयमा विवाद हुँदा आश्रम र माओवादीबीचमा वैमनस्य झन् बढ्छ ।

यस्तो विषम अवस्थामा पनि ज्यानकै बाजी लगाएर डुक्पाले सुक्मतीसम्म खबर पुर्‍याउँछ। भेट गर्छ। तर लामो समयले खाली बनाएको दुईजनाको सम्बन्धमा प्रेमको सट्टामा धार्मिक र राजनीतिक विचारको विभेद भरिन्छ। त्यहीबेला वार्ता भंग भएर माओवादीहरू पुन: भूमिगत हुनुपर्ने अवस्था बन्छ।

पाठकले लेखकलाई मात्रै पढ्न अब पाइन्छ कि पाइँदैन ? प्रकाशकको ६ पटकसम्म सम्पादनमा परेको पुस्तकमा लेखकको लेखकीय पढिन्छ कि प्रकाशकको बजार मनोविज्ञानको प्रभाव थोपरिन्छ ? शंका उब्जिन्छन्

यही समयदेखि डुक्पा र सुक्मतीको प्रेम व्यक्तिगत, धार्मिक, राजनीतिक टकरावको चेपुवामा पर्छ। त्यसपछि डुक्पाको ज्यानलाई के हुन्छ ? सँगैका माओवादीहरू प्रहरी र सेनाले पक्राउ गर्दा, गोली हानेर मारिरहँदा, दोहोरो भिडन्तमा डुक्पाको अवस्था के बन्छ ? डुक्पाको जीवन सामान्य अवस्थामा फर्किन्छ कि फर्किंदैन ? प्रेम, सपना, राजनीति र धर्मको चौतर्फी घेरामा परेको डुक्पाको जीवन के हुन्छ ? सुक्मतीसँग भेट हुन्छ कि हुँदैन ? स्वयम् सुक्मतीसँगै बेमेल भएपछि उसको प्रेम के हुन्छ ? यी हरेक प्रश्नको जवाफ थाहा पाउन पूरा उपन्यास पढ्नै पर्छ।

उपन्यासको सबल पक्ष

उपन्यासमा प्रशस्त प्रेमकथा छ, त्यति नै राजनीति छ। त्यति नै अन्य सामाजिक विषयहरू छन्। तर प्रेमकथा भएर पनि सस्तो प्रेम प्रदर्शन छैन। राजनीति भएर पनि कागजी दर्शन र अनावश्यक नाराबाजी मात्रै छैन। सामाजिक विषयहरू भएर पनि पट्यारलाग्दो छैन। यसमा राजनीतिले व्यक्ति र समाजलाई गिजोलेको विवरण छ। त्यत्रो लामो समय देशलाई अल्मल्याएको विद्रोहलाई ऐना देखाएको छ। आजभन्दा दुई दशक अगाडिको समाज र राजनीतिमा उभिएको उपन्यास सामाजिक हिसाबले तरोताजा विषय हो। सो समयका लुकेको पक्षलाई सरल कथानकमा उपन्यासमा देखाइनु उपन्यासको सबैभन्दा बलियो पक्ष हो।

भाषा प्रयोगमा पनि उपन्यास बलियो छ। स्थानीय लवज तथा स्थानीय समाजमा प्रयोग भइरहने तर बाहिरकालाई थाहा नभएका शब्दहरूको भरपुर प्रयोगले उपन्यासलाई प्राङ्गारिक बनाएको छ। लेखकका अनुसार ९० हजार शब्दको किताबमा बृहत् नेपाली शब्दकोशमा नभेटिने झन्डै एक हजार नयाँ शब्द छन्। पूर्वी नेपालमा प्रयोग हुने ती शब्दहरूले त्यहाँका पाठकहरूलाई स्थानीयताको स्वाद दिन्छ भने अन्य पाठकहरूले ती शब्दहरूको नयाँपन पाउनेछन् ।

लेखकले भाषालाई रसपूर्ण बनाउन जति मिहिनेत गरेका छन्, त्यति नै मिहिनेत उपन्यासका पात्रहरूको निर्माणमा गरेका छन्। कुनै पनि पात्र कथामा उसै आउँदैन। सानो भन्दा सानो समयका लागि देखिएको पात्र पनि कथामा बलियो गरेर टेकेको छ। हरेक पात्रको उपस्थितिले कथामा प्रभाव छोडेको छ। उपन्यासका हरेक पात्रहरूको यति प्रभावकारी उपस्थिति निकै कम उपन्यासमा मात्रै पाइन्छ। पात्रहरूको संवादले उपन्यासमा प्राण भरेको छ। संवादहरू मीठा छन् ।

यो उपन्यास पाठकको हातमा पर्नु भन्दा अगाडि निकै चरणको यात्रा तय गरेको छ। उपन्यासकार तथा पत्रकार नारायण वाग्ले, बुद्धिसागर लगायतले उपन्यासमा उकेरा लगाएका छन्। सम्पादनको सातौं चरण पार गरेपछि मात्रै उपन्यास छपाइको लागि योग्य भएको थियो। यही चरणहरूमा धेरै जनाले धेरै पक्षहरू केलाएका छन्। कमजोरीहरूका बारेमा लेखकलाई जानकारी गराएका छन्। र, लेखकले प्रशस्त समय र परिश्रम दिएर ती कमजोरीहरू निखारेका छन्।

कमजोरीको कसीमा उपन्यास  

एकदमै धेरै सम्पादनको चरण पार गरेको भए पनि तथा धेरै साहित्यकार तथा विज्ञहरूसँग छलफल भएको भए पनि उपन्यास सम्पूर्ण रुपमा कमजोरीविहीन भने हुनसकेको छैन।

पात्र निर्माणमा बढी केन्द्रित हुँदा कतिपय प्रसंगहरू अनावश्यक थपिएको देखिन्छ। पाठकहरूले पात्रलाई ध्यान दिइसक्दा पनि लेखक अझै पनि पात्रका बारेमा बुझाउन परिश्रम गरिरहेका जस्तो लाग्छ। बुझिसकेको कुरालाई पुन: बुझाइरहँदा नराखे हुने केही प्रसङ्गहरूले पाठकलाई केही पटक कथा भड्किए जस्तो वा रोकिए जस्तो आभास हुन्छ। यसले पुस्तकलाई आकारमा ठूलो बनाएको छ। विशेष गरेर मिङ्सोको चरित्र निर्माणका लागि लेखकले गरेको दुःख अनावश्यक लाग्छ ।

यस्तै, कुनै कुनै स्थानमा पात्रहरूको चरित्रको क्षमताले भ्याउने भन्दा भारी संवादहरू छन्। यसले कहिलेकाहीं जबरजस्ती संवाद लादिए जस्तो देखिन्छ। पात्रको स्वतन्त्रतामा यसले फरक पारेको छ ।

पूर्वको भाषाको सौन्दर्यका लागि महाभारा आँखीझ्याल हो। तर यो आँखीझ्याल घरीघरी धमिलो अनि कतै बढी सफाई गरेर खुइलिएको जस्तो देखिन्छ।

लेखकलाई सोध्नु

एक वर्ष अगाडिको समाचारमा र पुस्तकमा लेखक बस्नेतले आफ्ना भनाइहरूमा पनि उपन्यासको पटक पटक मस्यौदा गरिएको जानकारी दिएका छन्।

ओहो ! यो पुस्तकमा यत्रो मिहिनेत, यति धेरै मानिसहरूको यत्रो सहभागिता भन्ने आश्चर्य लाग्छ। पुस्तकप्रतिको अपेक्षा बढ्छ। यो स्वाभाविक हो। तर कुनै पनि पुस्तक यति धेरै मस्यौदामा जाँदै गर्दा, त्यति धेरै मान्छेहरूको सम्पादन वा सुझाव पछि थपिएका तीस हजार शब्दहरूका बीचमा कतै लेखक हरायो कि हराएन ? सँगै प्रश्न उठ्छ।

पाठकले लेखकलाई मात्रै पढ्न अब पाइन्छ कि पाइँदैन ? प्रकाशकको ६ पटकसम्म सम्पादनमा परेको पुस्तकमा लेखकको लेखकीय पढिन्छ कि प्रकाशकको बजार मनोविज्ञानको प्रभाव थोपरिन्छ ? शंका उब्जिन्छन्।

पुस्तक पढिसकेर लेखकको भनाइ पढेको निकै समयसम्म मेरो मनमा यी प्रश्नहरू छन्। मलाई महाभारा उपन्यासको पहिलो मस्यौदा पढ्ने मन छ ।

अन्त्यमा, लेखकले राजनीतिक रुपमा आफूलाई असाध्यै बचाएका छन्। उनी कुनै पनि विषय वा समूहको पक्षपोषण र विरोधमा लागेका छैनन्। बरु समाजका तत्कालीन समयका विभिन्न पक्षहरूको सूची नै बनाएर ती सबैलाई समेटेको हो कि भन्ने देखिन्छ।

सरल जीवनमा आउने उथलपुथल, पूर्वी नेपालको भाषा रसस्वादन र माओवादी विद्रोहको समयमा थाहा नपाएका पक्षहरू थाहा पाउन तथा लुकेका इतिहास बुझ्न चाहनेहरूका लागि यो उपन्यास पठनीय मान्न सकिन्छ।

केही उद्दरण

– “यो युद्धलाई तिमीले बेठीक भन्दैमा बेठीक हुँदैन, सुक्मती। न त यसलाई मैले ठीक भन्दैमा ठीक भइहाल्छ। यो त इतिहासको एउटा यथार्थ हो ।” (पेज २७१)

– “सरासरी जानु है, कान्छा। तैंले मलाई यत्रो सिकाइस्, बुझाइस्। तर मैले तँलाई केही दिन सकिनँ। सरासरी है छोरा, सरासरी ।” – सेनाले छोरो मारेपछि दागबत्ती दिंदै एक पिता। (पेज २९५)

– “हेर मरिना, यो ईश्वर भनेको गफाडीको गफ हो। यो साँच्चिकै हुन्छ भने पनि धनीहरूको ईश्वर र गरीबहरूको ईश्वर एउटै हुँदैन। धनीले चढाउने भेटी र गरीबको भेटी उस्तै हुँदैन। ईश्वरले दिने आशीर्वाद पनि एउटै हुँदैन। ईश्वर छ भने पनि पक्षपाती छ ।” (पेज ३०२)

– “यो हत्या-आतंक रोक्नुस् यार। तपाईंहरूले दुईचार हजार खुनखराबी गर्नुहोला। तर यो युद्ध जित्न सक्नुहुन्न। … बन्दूकले प्रजातन्त्र कमजोर पार्न सकिएला, ढाल्न सकिंदैन ।” – (पेज ३३९)

– “आखिर यहाँ धर्मले राजनीति गर्न खोजेकै हो। राजनीतिले पनि आफ्नो इमानधर्म छाडेकै हो। … इतिहासै हो, सरापेर हुँदैन। सिक्ने हो त्यसबाट ।” (पेज ३३०)

– “जिल्ला कमिटीले डिसिजन गरिहाल्यो। प्रतिक्रियावादीहरूलाई गाउँ छिर्न रोक्ने भनेर पुल काटियो। दुस्मन आउनैपर्‍यो भने त आकाश, पातालबाटै छिर्न सक्ने रछ नि। त्यसबेला कुरो बुझिएन ।” (पेज ३३०)

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?