
६ माघ, काठमाडौं । लेखक नारायण नेपालको पुस्तक ‘शिवगढी प्रतिबन्धसम्म’ सार्वजनिक भएको छ । पुस्तकमा तत्कालीन नेकपा-माओवादीबाट अलग भई नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषण समेटिएको छ ।
विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई लेखक नेपालले पुस्तकमा उल्लेख गरेका छन् ।
२०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरुको विश्लेषण पनि पुस्तकमा पाइन्छ ।
कम्पन मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन बागबजारस्थित भुँडीपुराण प्रकाशनले गरेको छ ।
लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरु (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरु (कवितासंग्रह) प्रकाशित छन् ।
प्रतिक्रिया 4