+
+

आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति ५ गुणा बढाउने प्रस्ताव

सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्तिलाई अन्तर्राष्ट्रिय सरह बनाउन कानूनको मस्यौदा तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेका अनुसार मन्त्रालयले ‘हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरेर पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पेश गरिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७८ माघ ६ गते १९:२२

६ माघ, काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्तिलाई अन्तर्राष्ट्रिय सरह बनाउन कानूनको मस्यौदा तयार पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेका अनुसार मन्त्रालयले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरेर पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पेश गरिएको छ ।

१२ चैत २०७७ को मन्त्रीस्तरीय निर्णयबाट यो कानूनको मस्यौदा तयार पार्ने जिम्मेवारी मन्त्रालयका सह–सचिव बुद्धसागर लामिछानेको नेतृत्वमा ९ सदस्यीय कार्यदललाई दिइएको थियो ।

सो कार्यदलले तयार पारेको कानूनको मस्यौदा अनुसार आन्तरिक हवाई उडानमा समेत अब मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागु हुनेछन् । जसअनुसार हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर (१ करोड १८ लाख रुपैयाँ) क्षतिपूर्ति पाउने छन् ।

अहिले नेपालमा बार्सा महासन्धिका १९२९ का प्रावधान लागू छन् । जसका कारण क्षतिपूर्ति २० हजार डलर मात्र छ । नयाँ कानून कार्यान्वयनमा आएपछि यस्तो क्षतिपूर्ति ५ गुणा बढ्नेछ । मन्ट्रियल महासन्धी अनुसार अन्तर्राष्ट्रिय उडानमा भने १ लाख ६० हजार अमेरिकी डलर बीमा तोकिएको छ । यो प्रावधान नेपालमा भने सन् २०१८ डिसेम्बरबाट कार्यान्वयनमा आएको हो ।

मस्यौदामा भनिएको छ, ‘यात्राको क्रममा बोर्डिङ चेक गरेपछि वायुयान भित्र जाने क्रमका प्रक्रियामा वा यात्रा अवधिभर वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा संचालन संस्थाले क्षतिपूर्ति वापत एक लाख अमेरिकी डलर व्यहोर्नुपर्नेछ ।’ मृत्यु भएको व्यक्तिको क्षतिपूर्ति मृतकको सबैभन्दा नजिकको हकदारले पाउने छ ।

मृतकको शव निजको परिवारलाई हस्तान्तरण गर्ने र सो क्रममा लाग्ने सबै खर्च बेहोर्ने दायित्व समेत सम्बन्धित वायुसेवा कम्पनीको हुने गरी कानूनको मस्यौदा बनेको छ । मृत्यु संस्कारका लागि मानसिव रकम पेश्कीस्वरुप मृतकको परिवारलाई दिनु पर्ने समेत मस्यौदामा उल्लेख छ । यसरी कानूनमा तोकिएको रकम भन्दा कम दायित्व हुने गरि वायुसेवा संचालन संस्थाले आफ्नो दायित्वको सीमा तोक्ने नपाउने समेत मस्यौदामा उल्लेख छ ।

तर, क्षतिपूर्ति माग गर्ने यात्रुकै गम्भीर लापरवाहीका कारणबाट यात्रुलाई क्षति पुगेमा भने यस्तो रकम दाबी गर्दा क्षतिपूर्ति प्राप्त हुने छैन । यात्रुलाई पहिलेदेखि नै कुनै गम्भीर रोगको कारणबाट यात्रुको अंगभंग भएमा वा मृत्यु भएमा समेत वायुसेवा कम्पनी क्षतिपूर्ति दिन बाध्य नहुने कानूनको मस्यौदामा उल्लेख छ । यात्रुले हवाई कम्पनीको टिकट काटिसकेपछि दुई पक्षबीच सम्झौता भएको मानिन्छ । सोही टिकट र बोर्डिङ पासका आधारमा क्षतिपूर्ति दाबी गर्न सकिने छ ।

प्रत्येक वायुसेवा संचालन संस्थाले आफूले सञ्चालन गरेको वायुयानमा यात्रा गर्ने यात्रु, ओसारपसार गर्ने मालसामान र तेस्रो पक्ष समेतको बीमा गरिएको प्रमाण सरकारले तोकेको निकायमा पेश गर्नुपर्ने समेत प्रावधान राखिएको छ । यो मस्यौदा कानून, अर्थसहितका सरोकारवाला मन्त्रालयको राय लिएर पर्यटन मन्त्रालयले मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने छ । त्यहाँबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ ।

क्षतिपूर्ति दाबी कसरी गर्ने ?

कुनै यात्रुलाई यात्राको क्रममा चोटपटक लागेमा वा घाइते भएका सोको उपचार तथा क्षतिवापतको रकम दाबी गर्न सम्बन्धित वायुसेवा कम्पनी वा उसको एजेन्ट समक्ष ६० दिन भित्र विवरणसहित दाबी पेश गर्नुपर्छ । दाबी परेको ६० दिनभित्र सम्बन्धित वायुसेवा कम्पनीले क्षतिपूर्तिका सम्बन्धमा निर्णय लिइसक्नु पर्छ ।
वायुसेवा कम्पनीको निर्णयमा चित्त नबुझे मुद्दा दायर गर्न सक्ने अधिकार यात्रु समक्ष रहने गरी मस्यौदा बनेको छ । मृत्युको हकमा १ लाख डलर भन्दा कम हुने गरि वायुसेवा कम्पनीले क्षतिपूर्ति निर्धारण गर्न सक्ने छैनन् ।

चोटपटक वा अंगभंग भएको सन्दर्भमा भने यात्रुलाई लागेको चोटपटक वा भएको अंगभंगको अवस्था, प्रकृति र सोबाट यात्रुमा हुन सक्ने अशक्तता, निजले गुमाएको आम्दानी र अवसरको गम्भीरतामा समेत ध्यान दिनु पर्ने छ ।

क्षतिपूर्ति रकम नेपाल सरकारले हरेक १०÷१० वर्षमा पुनरावलोकन गर्ने समेत मस्यौदामा उल्लेख छ । ऐन कार्यान्वयनमा आउँदा यसअघि नै संचालनमा आइसकेका वायुसेवा कम्पनीले ६ महिना भित्र नयाँ ऐन अनुसार बीमा सम्बन्धी प्रावधान पुरा गरिसक्नु पर्ने समेत मस्यौदामा उल्लेख छ ।

टिकट बीना कुनै पनि वायुयानमा यात्रा गराउन पाइने छैन । यात्रा गर्ने यात्रुलाई निर्धारित समयमा सुरक्षित पुर्‍याउने दायित्व वायुसेवा कम्पनीको हुने छ । कारणवश यात्रा सम्भव नहुने भएमा यात्रुलाई अग्रिम जानकारी गराउनु पर्छ । यस ऐनले कार्गो ढुवानी वा ब्यागेजको हकमा समेत क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?