
१० माघ, काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा नयाँ टिमको रुपमा थपिएको लखनउले टिमको अधिकारिक नाम सार्वजनिक गरेको छ ।
आरपी सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा रहेको लखनउको नाम लखनउ सुपर जायन्ट्स राखिएको छ ।
केएल राहुल कप्तानीमा रहने टिमको आधिकारिक शान फ्रेन्चाइजले सोमबार घोषण गरेको हो । लखनउसँगै अहमदवाद यस सिजन नयाँ टिमको रुपमा आइपीएल खेल्दैछन् ।
आरपी सन्जिव गोएन्का ग्रुपले आइपीएलमा टिम लिएको यो पहिलो पटक हवइन । यसअघि चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्स सस्पेन्ड हुँदा सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा राइजिङ पुने सुपर जायन्ट्सले सन् २०१६ र २०१७ मा आइपीएल खेलेको थियो ।
लखनउले मेगा अक्सनअघि यसअघि नै केएल राहुलसहित तीन खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।
लखनउले राहुललाई कीर्तिमानी १७ करोड भारुमा अनुबन्ध गरिसकेको छ । यस्तै टिमले अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोइनिसलाई ९.२ करोड भारु तथा अनक्याप्ड भारतीय लेग स्पिनर रभी बिस्नोईलाई ४ करोडमा भारुमा अनुबन्ध गरेको छ ।
यसैगरी लखनउले जिम्बाव्वेका पूर्व कप्तान तथा इंग्ल्यान्ड प्रशिक्षक एन्डी फ्लावरलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ । यस्तै कोलकता नाइट राइडर्सलाई आफ्नो कप्तानीमा दुई पटक आइपीएल उपाधि जिताइसकेका गौतम गम्भिर लखनउको मेन्टरको रुपमा छन् ।
आपीएलको अर्को नयाँ टिम अहमदावादले भने आधिकारिक नाम सार्वजनिक गरेको छैन । अहमदावादले कप्तानको रुपमा भारतीय अलराउण्डर हार्दिक पाण्ड्यालाई १५ करोड भारुमा अनुबन्ध गरिसकेको छ।
यस्तै टिमले अफगानिस्तानका स्पीनर रासिद खानलाई पनि १५ करोड भारु र भारतीय ब्याट्सम्यान शुभमन गिललाई ८ करोड भारुमा अनुबन्ध गरेको छ ।
आइपीएलको १५औं सिजन आगामी मार्च अन्तिम सातादेखि सुरु गर्ने तयारी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया 4