+
+
फिल्म :

‘अनपज्डः नयाँ सफर’ : लकडाउनबीच प्रेम र उत्साहको मन छुने कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १३:५४

१२ माघ, काठमाडौं । पछिल्लो दुई वर्षयता अविछिन्न कोरोना सन्त्रास व्याप्त छ । कोरोना महाव्याधि र लकडाउनले जनजीविका तहसनहस बनाइदिएको छ । लकडाउनका क्रममा एकथरी घरबाहिर फ्रन्टलाइनमा काम गर्नुपर्ने बाध्यतामा थिए । अर्कोथरी घरभित्र चौघेराभित्र थुनिएर बस्नुपर्ने अवस्थामा थिए । यस क्षणमा उनीहरु कस्तो मनोदशाबाट गुज्रिए ? प्रस्तुत फिल्मले यसैको सेरोफेरोमा फन्को लगाउँछ ।

‘अनपज्डः नयाँ सफर’मा पाँच फरक-फरक कथा समेटिएका छन् । यी कथाहरुमा प्रेम, भय, मित्रता, भरोसा र क्षमाको भाव छन् । यसमध्ये पनि नागराज मंजुलेको ‘वैकुण्ठ’ र शिखा निर्देशित ‘लड्डु’ एकदमै मनछुने खालको छ । ‘अनपज्डः नयाँ सफर’ २१ जनवरीबाट अमेजन प्राइम भिडियोमा उपलब्ध छ ।

पहिलो फिल्म : द कपल

कथाको शुरुआत हुन्छ, आकृति (श्रेय धनवन्तरी) र डिप्पी (प्रियांशु पेन्युली)बाट, जो एक विवाहित जोडी हुन् । लकडाउनका कारण उनीहरु दुवै वर्क फ्रम होममा छन् । साथै खाना बनाउने, घरको काम गर्ने र ल्यापटपमा घण्टौंसम्म बसेर काम गर्छन्, दुवै । तर, उनीहरुको जीवनमा तब झट्का लाग्छ, जब आकृतिलाई अचानक कामबाट निकालिन्छ । संकटको यो क्षणमा उनीहरुको जीवनमा जसरी अनपेक्षित घटना घट्न पुग्छ, त्यसले श्रीमान र श्रीमतीको सम्बन्धलाई फरक मोडमा पुर्‍याइदिन्छ । उनीहरुकै सम्बन्धको उतारचढावबीच ३० मिनेटको फिल्मले मर्मस्पर्शी कथा भन्छ ।

उनीहरुको यो भोगाइ धेरैको साझा कथा हो । कोभिडकालमा धेरैले रोजगारी गुमाए, धेरैको व्यापार व्यवसाय ठप्प भयो । नूपुर अस्थानाद्वारा निर्देशित यस फिल्मले कोभिडबाट प्रभावित सोही स्थितिको चित्रण गरेको छ । फिल्मले प्रेम, तनाव, आशा जस्ता भावनात्मक पक्षलाई निकै सुन्दर ढंगले पेश गरेको छ ।

दोस्रो फिल्म : वार रुम

महामारीको क्रममा धेरैजसो घरभित्रै बसे । आफन्त, परिवारसँग एकढिक्का भएर दिन काटे । तर एकथरीले भने यो जोखिमपूर्ण क्षणमा पनि घरमा बस्ने फुर्सद पाएनन् । उनीहरु कोभिडकालमा अग्रपंक्तिमा खटिनुपर्ने भयो । यसरी फ्रन्टलाइनमा खटिनेहरुले आफ्नो ज्यानलाई जोखिममा राखेर कसरी काम गरे ?

अयप्पा केएम निर्देशित फिल्म ‘वार रुम’ले यस्तै कथा भन्छ । संगीता वाघमारे (गीताञ्जली कुलकर्णी) एक प्राथमिक शिक्षक हुन, जो लकडाउनका बेला कोभिड हेल्पलाइन स्टेसन सम्हाल्छिन् । उनी कोभिडबाट संक्रमित व्यक्तिलाई अस्पतालको शय्या खाली भए वा नभएको जानकारी दिने गर्छिन् । हरेक दिन हजारौं फोन कल सम्हाल्छिन् । तर एक दिन उनको हेल्पलाइनमा एक यस्तो फोन आउँछ जसले उनको जिन्दगीको सबैभन्दा दर्दनाक पल उजागर गरिदिन्छ ।

वार रुमको कहानी रोमाञ्चक लाग्छ । तर केही अधुरो पनि लाग्छ ।

तेस्रो फिल्म : तीन तिगाडा

यो कथा तीन चोरको हो, जो चोरीको सामान लिएर एक कारखानामा लुकेका छन् । यद्यपि उनीहरु त्यही फस्न पुग्छन् । उनीहरु लकडाउन अन्त्य हुने प्रतीक्षा गर्छन्, ताकि चोरीको सामान बेचेर पैसा बाँडफाँड गर्न सकियोस् । र, आ आफ्नै जिन्दगीमा फर्किन पाइयोस् । तर उनीहरुको लागि यस्तो समय कहाँ सजिलै आउँछ ?

त्यस क्रममा उनीहरु के कस्ता भावनात्मक उथलपुथलबाट गुज्रिन्छन् ? फिल्मले रोचक तरिकाले यसैको कथा भन्छ । रुचिर अरुण निर्देशित यो फिल्म निकै रमाइलो छ ।

चौथो फिल्म : गोंदको लड्डु

लकडाउनका कारण सुशीला त्रिपाठी (नीना कुलकर्णी) आफ्नी छोरीसँग भेट्न पाउँदिनन्, उनकी छोरी भर्खरै मात्र आमा बनेकी छन् । उनलाई आफ्नो नाति हेर्ने र खेलाउने औधी रहर छ । तर कोरोना सन्त्रासले गर्दा घरको चौघेरामा थुनिएका उनले आफ्नो रहर पूरा गर्न पाउँदिनन् । अनि आफ्नै हातबाट लड्डु बनाउने सोच्छिन् र त्यसलाई अनलाइनबाट सुत्केरी छोरीकहाँ पुर्‍याउने योजना बनाउँछिन् । तर, जुन आमा आजको सूचना प्रविधिबाट पनि विमुख छन्, उनका लागि अनलाइन कुरियर गर्नु अर्को महाभारत छ । यद्यपि अनेक प्रयासपछि उनी आफ्नो रहर पूरा गर्न सफल हुन्छिन् ।

आमाको प्रेम र लगावसँगै निर्देशकले कुरियर सर्भिसवालाको जिन्दगीको झलक पनि देखाइदिएका छन् । शिखा माकन निर्देशित फिल्मले दर्शकको मन छुन्छ ।

पाँचौ फिल्म : वैकुण्ठ

‘यहाँ गरिब र धनीको ओछ्याउन एकै हुन्छ’ । श्मशानको ढोकामा लेखिएको यो पंक्तिले पटकपटक ध्यान तान्छ । त्यहीं काम गर्छन् विकास (नागराज मंजुले) । हरेक दिन ल्याइने लास र त्यसलाई जलाएको दृश्य हेर्दा हेर्दै उनी भावशून्य हुन्छन् । घर मालिकले डेराबाट निकालिदिएपछि उनी आफ्नो छोरासँग श्मशानमा नै बस्ने गर्छन् । यस क्रममा पिता र छोराको निकै मार्मिक सम्बन्ध देखाइएको छ ।

हरेक दिन एम्बुलेन्स आउँछ । कोरोना संक्रमणबाट मृत्यु भएका लास ल्याइन्छ । यस्तो भयावह दृश्यले उनीहरुलाई भित्रभित्रै आतंकित बनाउँछ । उनीहरुको वृद्ध बाबु पनि कोरोनाकै कारण अस्पतालमा भर्ना भएका हुन्छन् । हरेक दिन जल्दै गरेको लास देखेर पनि विकासले आफ्नो मनलाई सकारात्मक बनाउने यत्न गर्छन् ? फिल्मले यस्तै भावनात्मक पक्ष केलाएको छ ।

यी पाँच फिल्मले कोरोनाकालको कथा भनेका छन् । कोरोनाकालमा मान्छेका फरकफरक भोगाइलाई यसमा चित्रण गरिएका छन् । साथै सम्पूर्ण कथाको सार एउटै छ, अँध्यारो रातपछि उज्यालो बिहानी आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?