+
+

केन्द्रीय समिति ‘जम्बो’ भएपछि कार्यसम्पादन समिति गठन गर्दै देउवा

पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गनुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठनमा हतारो गरेका हुन् ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ माघ १३ गते २०:२२

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका छन् । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समिति गठनकै लागि शुक्रबार कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भर्चुअल बस्ने बैठकमा समिति गठनको प्रस्ताव पेश गर्न तयारी भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । ‘भोलि (शुक्रबार) बैठक बस्ने प्रयोजन नै कार्यसम्पादन समिति गठन गर्ने नै हो,’ उनले अनलाइनखबरसँग भने, ‘बैठकमा यही एउटा एजेण्डा मात्रै हो ।’

१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।

‘अस्ति नै कार्यसम्पादन समिति बनाउने तयारी थियो । तर कोरोनाका कारण बैठक बस्न सकेन । अब भर्चुअल बसेर भएपनि कार्यसम्पादन बनाऔं भन्ने समझदारी सभापतिज्यूसँग भएको हो,’ महामन्त्री थापाले भने, ‘कार्यसम्पादन बनाएपछि पार्टीका बाँकी नियमित कामहरु समितिबाटै गर्न सकिन्छ भनेर सभापतिज्यूसँग कुराकानी भएको हो ।’

पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गनुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठनमा हतारो गरेका हुन् ।

कांर्यसम्पादन समितिमा पार्टी पदाधिकारीहरु स्वतः पदेन सदस्य हुनेछन् भने सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने विधानको व्यवस्था छ । सभापतिको प्रस्ताव केन्द्रीय समिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्नेछ । त्यस्तै कार्यसम्पादन समितिमा पार्टी प्रवक्ता पनि पदेन सदस्य हुनेछन् भने संसदीय दलको नेता पनि कार्यसम्पादन समितिको पदेन सदस्य रहने विधानमा व्यवस्था छ ।

कांग्रेसमा अहिले १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनोनित हुन बाँकी छ । त्यस्तै प्रवक्ता पद पनि रिक्त छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा स्वयम् नै भएकाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।

सभापति देउवाले अघिल्लो कार्यकालमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरे पनि विवादका कारण विघटन गरेका थिए । कार्यसम्पादन समिति नभएका कारण पदाधिकारी बैठक बसेर महत्वपूर्ण निर्णय हुने गरेका थिए । कांग्रेस विधानमा पदाधिकारी बैठकको कुनै व्यवस्था नभएको भन्दै कतिपय केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

‘विधानले नचिनेको पदाधिकारी बैठकका नाममा निर्णय गर्ने विगतमा गलत परम्परा बस्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, अब त्यस्तो विधानविपरीतको काम रोकिनुपर्छ, आवश्यक निर्णय गर्नुपरे कार्यसम्पादन समिति गठन गर्न सकिन्छ । विधानले त्यो अधिकार पनि दिएको छ ।’

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कार्यसम्पादन समिति गठन गर्न ढिलाई गर्न नहुने बताए । ‘केन्द्रीय समितिको बैठक बस्न नसकेका बेला कार्यसम्पादन समितिबाट निर्णय गर्न सकिन्छ,’ उनले भने, ‘यो वैधानिक व्यवस्था पनि हो ।’ उनले पनि सभापति देउवाले कार्यसम्पादन समिति गठनको तयारी गरेको जानकारी दिए ।

पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गनुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठनमा हतारो गरेका हुन् । स्थानीय तहको चुनावका विषयमा पार्टीभित्र थरीथरीका धारणा आइरहेका छन् भने भ्रातृसंस्थाहरुको वैधानिक अस्तित्व जोगाउनुपर्ने चुनौती पनि कांग्रेसलाई छ ।

कांग्रेसको नर्सरीका रुपमा लिइने नेपाल विद्यार्थी संघको अहिलेको कार्यसमितिको समयावधि माघ १६ गते सकिदैछ । ६ महिनाभित्र अधिवेशन गर्ने गरी दुई वर्षअघि राजीव ढुंगानाको नेतृत्वमा नेविसंघको कार्यसमिति गठन भएको थियो । तर उनले कार्यसमितिलाई पूर्णता दिन नपाउँदै दुई वर्ष बितिसकेको छ भने उनी पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

त्यस्तै नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघका केन्द्रीय सभापति पार्टीको केन्द्रीय सदस्य बनेका छन् । कांग्रेसको विधानमा भ्रातृसंस्थाका पदाधिकारी पार्टीको कुनै पनि संगठनमा चयन भए भ्रातृसंस्थामा रहेको पद स्वत: रिक्त हुने प्रावधान छ । त्यस्तै १६ जिल्लामा कांग्रेसको जिल्ला अविधेशन हुन सकेको छैन ।

पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको जिल्ला अधिवेशनका बारेमा पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता रहेको एक पदाधिकारीले बताए । कांग्रेसमा केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ ।

‘महाधिवेशनका बेला पछि क्रियाशील सदस्यता विवाद सल्टाउने समझदारी भएको थियो, त्यसलाई तत्काल टुंग्याउनुपर्नेछ,’ ती पदाधिकारीले भने, ‘राष्ट्रिय राजनीतिका पनि धेरै विषय छन्, जसमा पार्टीले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने आवश्यकता छ । अब कार्यसम्पादन समितिबाट यी सबै विषयमा छलफल हुन्छ ।’

ओझेलमा केन्द्रीय समिति

कांग्रेसमा सबैभन्दा माथिल्लो शक्तिशाली निकाय नै केन्द्रीय कार्यसमिति हो । पार्टी निर्णयहरु केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नैपर्ने विधानको व्यवस्था छ । तर केन्द्रीय समितिको आकार ठूलो भएपछि अब केन्द्रीय समिति कार्यसम्पादन समितिको छाँया बन्ने निश्चित छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिले अनुमोदन गर्ने थलो मात्रै केन्द्रीय समिति बन्ने सम्भावना छ ।

‘पार्टी पदाधिकारी र वरिष्ठ नेताहरु कार्यसम्पादन समितिमा भएपछि उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यसलाई ताली बजाएर हामीले अनुमोदन गर्ने काम मात्रै होला जस्तो भयो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समितिमा एजेण्डामा छलफल हुने र हामीले आफ्ना कुरा राख्ने अवस्था होला जस्तो लाग्दैन ।’

१४ औं महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिका दुई वटा बैठक बसेका छन् । दुई वटै बैठकमा महामन्त्रीले प्रस्ताव पेश गर्ने र केन्द्रीय सदस्यहरुले ताली बजाउनेबाहेक कुनै छलफल नै भए । पहिलो बैठक आधा घण्टा नपुग्दै सकियो भने दोस्रो बैठक दश मिनेटमै स्थगित भएको थियो ।

विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढी मत पाउने स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डाक्टर शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?