+
+

डलर कारोबारी दिनेशको बयान : १० लाख नेपालीले अनलाइन जुवा खेल्छन्

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ १३ गते १९:४१
अभियुक्त दिनेश खड्का ।

१३ माघ, काठमाडौं । लाखौं डलर अपचलनको आरोपमा पक्राउ परेका कैलालीका दिनेश खड्काले लगभग १० लाख जना नेपालीले अनलाइन जुवा खेल्ने गरेको बयान दिएका छन् ।

११ पुसमा काठमाडौंको कालोपुलबाट पक्राउ परेका खड्कामाथि राजश्व अनुसन्धान विभागले डलर अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

अदालतमा मुद्दा दर्ता गर्नुअघि राजश्व अनुसन्धान विभागले लिएको बयानका क्रममा खड्काले अनलाइन जुवामा १० लाख नेपाली संलग्न रहेको र आफूले उनीहरुलाई चाहिने डलर सटहीमा सहजीकरण गर्न आफ्नो बैंक एकाउण्ट भाडामा दिएको दाबी गरेका छन् ।

उनले ‘फ्रिलान्सिङ’ नामक म्यासेन्जर ग्रुपमार्फत जुवाको भुक्तानी कारोबार गर्ने गरेको स्वीकारेको विभाग स्रोतले बताएको छ ।

भाडामा बैंक खाता

खड्काले बयानका क्रममा बताएअनुसार उनले साथीमार्फत १० हजार रुपैयाँमा ‘इ स्क्रील’ नामक एप खरीद गरेका थिए । यो एपमा अनलाइन जुवामा संलग्न नेपालीहरु आवद्ध छन् । उनी यही एपमार्फत अनलाइन जुवा खेल्नेहरुलाई डलरका लागि आफ्नो बैंक एकाउण्ट भाडामा लगाउँथे ।

‘मैले आफ्नो बैंक एकाउण्ट भाडामा दिएवापत ‘वानएक्स बेट’ बाट कमिसन आउँथ्यो,’ उनले बयानमा भनेका छन्,‘वानएक्स बेट मा संलग्न व्यक्तिहरुले विभिन्न बैंक एकाउण्टबाट पैसा राख्न अनुरोध गरेपछि फ्रिलान्सिङ गरेर आउने सूचना पछि म डलर उपलब्ध गराउँथे ।’

बयानका क्रममा खड्काले आफ्नो साथी अनिता धितालको बैंक एकाउण्टमा नेपाली रुपैयाँ जम्मा गर्न लगाउने गरेको स्वीकार गरेका छन् । विभागका अधिकारीहरुका अनुसार धितालको एकाउन्टबाट अनलाइन बैंकिङ प्रणालीमार्फत आफ्नो खातामा तान्थे र डलरमा एपमार्फत भुक्तानी गर्थे । आफूले तीन महिनाको अवधिमा ८ लाख रुपैयाँको मात्र डलर सटही गरेको खड्काले दाबी गरेका छन् ।

जबकी राजश्व अनुसन्धान विभागले ३१ लाख बढी अमेरिकी डलर अपचलन गरेको दाबी गरेको छ । त्यसका आधारमा कुल ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ विगो र तीन वर्ष जेल सजाय मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

खड्काले अनलाइन जुवाका लागि डलर सटही गर्नु गैर कानुनी हो भन्ने कुरा आफूलाई थाहा नभएको बयान दिएका छन् । जुवा खेल्नेले बैंकमा राखेको नेपाली रुपैयाँ र त्यसको डलर सटहीमा हुने अन्तर मात्र आफ्नो कमाइ भएको उनको दाबी छ । साथीमार्फत एप खरीद गरेको र एपमा भएको मानिसहरुको डलर आवश्याकता पूर्ति गर्दा हुने नाफाका कारण आफूले सो काम गरेको खड्काले दाबी गरेका छन् ।

जुवा खेल्नेले बैंकमा राखेको नेपाली रुपैयाँ र त्यसमा डलर सटहीमा हुने अन्तरको नाफा मात्रै आफ्नो कमाइ भएको उनको दाबी छ । दिनेशले बयानमा डलर कहाँ भुक्तानी गरेको भन्ने खुलाएका छैनन् । डलरको ठूलो कारोबार दिनेशमार्फत भएको र त्यो कुन गेटवे प्रयोग गरेर कुन मुलुकमा भुक्तानी भयो भन्नेबारे थप अनुसन्धान गरिरहेको विभागले बताएको छ ।

दिनेशले दिदी भगवती, बुबा नरबहादुरको खाताको रकम कारोबारबारे अनविज्ञता प्रकट गरेका छन् ।

छोटो समयमै करोडौं कारोबार

अनुसन्धानका क्रममा दिनेश, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिताले डलर कारोबारकै लागि बैंक खाता खोलेको पाइएको विभागका अधिकारीहरुको दावी छ ।

दिनेशले २३ असार २०७८ मा ग्लोबल आईएमई बैंकमा खाता खोलेका थिए । यो खातामा अन्तिम कारोबार १४ पुसमा भएको छ । झण्डै ६ महिनाको अवधिमा खड्काको खातामा ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ ७७ पैसा जम्मा भएको पाइएको विभागले जनाएको छ ।

उनकी साथी अनिता धितालको खाता विवरण पनि उस्तै छ । धितालले डलर कारोबारका लागि प्रयोग गरेको पहिलो बैंक खाता ग्लोबल आईएमईको थियो । त्यसपछि क्रमशः मेगा, लक्ष्मी, सानिमा बैंक र मुक्तिनाथ विकास बैंकको खाता प्रयोग भएको थियो ।

पहिलो बैंक खाता २०७८ साउन २५ मा खुलेको थियो भने पाँचौ बैंक खाता मंसिर ७ मा खुलेको थियो । सबै खातामा मंसिर २८ देखि पुस पहिलो सातासम्म अन्तिम कारोबार भएको छ । पाँच बैंकमा जम्मा गरिएको कुल रकम ५ करोड ७७ लाख ६ हजार ८ सय २६ रुपैयाँ ५१ पैसा थियो ।

आरोपित खड्काकी दिदी भगवतीको खाताको कारोबार त झनै अचम्मित पार्ने खालको भेटिएको विभागका अधिकारीहरुको भनाइ छ ।

२०७७ मंसिर २० गते खुलेको एनआईसी एसिया बैंकको उनको खातामा २०७८ पुस १६ गतेसम्म १९ करोड ५२ लाख ६४ हजार रुपैयाँ जम्मा भएको छ । २०७८ असार ६ गते खुलेको ग्लोबल आईएमई बैंकको खातामा पनि ९० लाख ३० हजार रुपैयाँ जम्मा भएको थियो । उनको दुई खातामा गरेर २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ जम्मा भएको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

बुबा नरबहादुर खड्काको २०७८ जेठ २५ मा खुलेको ग्लोबल आईएमई बैंकको खातामा २०७८ पुस १८ गतेसम्म कारोबार भएको विभागका अधिकारीहरु बताउँछन् । यो खातामा एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ ३५ पैसा जम्मा भएको देखिएको छ ।

बैंकहरुले ठूलो मात्रामा रकम जम्मा गर्दा आम्दानी स्रोत खोज्नुपर्ने हो, तर दिनेश र उनको परिवारका सदस्यहरुको खातामा यसरी अप्रत्यासित रुपमा रकम जम्मा भएको विषयलाई कुनै पनि बैंकले जानकारी नगराएको विभागका अधिकारीहरु बताउँछन् । ‘भर्खरै विदेशबाट फर्किएको विद्यार्थीको खातामा २० करोड रुपैयाँ जम्मा हुँदा बैंकले राष्ट्र बैंक लगायतको निकायमा खबर नगरेको पाइयो,’ एक अधिकारीले भने ।

अर्थमन्त्री गुहार्नुपर्‍यो 

विदेशी मुद्रा अपचलनको मुद्धामा अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागलाई नेपाल राष्ट्र बैंक र बैंकहरुबाटै असहयोग भएको अर्थ मन्त्रालयको गुनासो छ । सूचना दिन आनाकानी गरेपछि विभागले अर्थमन्त्री जर्नादन शर्मालाई गुहारेको थियो ।

‘बैकिङ प्रणालीकै छिद्रमा टेकेर भएको अपराध नियमन गर्नु पर्नेबाटै अहसयोग भएको लिखित जानकारी विभागले मन्त्री शर्मालाई बुझाएको थियो, त्यसपछि सहजीकरण भयो,’ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने ‘आफैंले नियमन गर्नु पर्ने विषय राजश्वको हातमा पुगेपछि राष्ट्र बैंक पनि पन्छिन खोज्यो ।’

मन्त्रालयमा प्राप्त थप सूचनाअनुसार पछिल्लो समय रेमिट्यान्समा देखिएको गिरावट यसैसँग सम्बन्धित छ । दिनेश खड्का लगायतको गिरोहको बैंक खातामा जम्मा भएको नेपाली रुपैयाँको डलर भुक्तानी हङकङबाट हुने सूचना मन्त्रालयमा पुगेको छ । यसमा विदेशमा रहेका नेपालीहरु पनि संलग्न रहेको र उनीहरुले कमाई कुनै ठाउँमा जम्मा भएर हङकङ पुग्न गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

त्यसबाहेक नेपालमा अनलाइन जुवा खेल्नेहरुदले हङकङमा जम्मा भएको डलरलाई खेलमा प्रयोग गर्न दिनेश लगायतले खोलेको नेपालको बैंक खाता नेपाली पैसा जम्मा गर्ने गरेको पाइएको छ । रेमिट्यान्सले मात्रै हङकङमा हुने डलरको भुक्तानी सन्तुलन मिलेन भने नेपालबाट अण्डर भ्यालुमा एलसी खोलेर डलर लैजानेसम्मको काम भइरहेको सूचना मन्त्रालय स्रोतले बतायो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?