+
+
कथा :

पोस्टरमुनिकी पागल

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ माघ १९ गते १३:०२
प्रतीकात्मक तस्वीर

अर्धनग्न अवस्थामा हिंड्न उनलार्ई केही अप्ठ्यारो लाग्दैन । देशको राजधानीको चोकहरूमा उनी आफ्नो रात काट्छिन् । दिनभरि माग्दै हिंड्छिन् । उनलार्ई देखेर फोहोरी भन्दै कतिले छिछि-दूरदूर गर्छन् । केहीले दया मानेर खाने कुरा पनि दिन्छन् ।

दिउँसो छिछि भन्नेमध्ये कतिजना रातमा उनी कहाँ सुत्छिन् भन्दै पछि लागेर आउँछन् । उनको ‘फोहोर’ शरीरमा जबरजस्ती मच्चिन्छन् । अनि आफ्नो यौन चाहनालाई उनको शरीरमा बगाएर फेरि ‘फोहोर’ भन्दै हिंड्छन् ।

नामिया आफ्ना बुवा आमाको खोजीमा काठमाडौं पुगेकी थिइन् । उनको जन्म भारत उत्तर प्रदेशको पिलिभितमा भएको थियो । उसका बुवा आमा सीमावर्ती नेपालको कञ्चनपुरमा कृषि मजदुरी गर्थे । भारतमा उनीहरू सुकुम्बासीसरह नै थिए । त्यसैले जीविकोपार्जनको लागि नेपालमा आउजाउ गर्थे । नामिया १३ वर्षकी हुँदा उनीहरू आफ्नो जन्मथलोबाट झिटीगुन्टा बोकेर नेपाल पस्दै थिए । त्यो यात्रा नामियाको जीवनभर कहिल्यै पनि बिर्सन नसक्ने यात्रा थियो ।

नामियाका बुवा आमासँगै उनीहरूको गाउँका अरु पनि हिंड्दै सीमावर्ती बजार वनबासा पुग्दा रात परिसकेको थियो । पिलिभितबाट हिंड्दै वनबासा पुगेका उनीहरू निकै थाकिसकेका थिए । यात्राकै क्रममा नामिया पहिलोपटक महिनावारी भएकी थिइन् । वनबासा रेल्वे स्टेसनको नजिक भत्किएको एउटा घरमा उनीहरूले रात काट्ने निष्कर्ष निकाले । किनभने रातिको समयमा वनबासाको पुल बन्द हुन्थ्यो । हिंडेर जानेलाई छुट भएपनि प्रहरीले केरकार धेरै गर्थे ।

नामिया फेरि एकपटक सडकमा पुगिन् । उनलाई थाहा छ- सडकमा पुग्ने बित्तिकै उनले फेरि पुरानै नियति भोग्नुपर्छ । भयो त्यस्तै । उनले असाध्यै घृणा गर्ने अतीतले पुनः उनलाई गाँज्यो ।

रातिको खाना खाएपछि सबैजना सुते । दिनभरिको हिंडाइले थाकेका सबैजना पल्टिने बित्तिकै निदाइहाले । नामिया भने निदाउन सकेकी थिइनन् । महिनावारीका कारण उनलाई एकदमै सिकसिक लागेको थियो । सबै निदाइसकेको बेला उनी पिसाब फेर्न भत्किएको घरबाट बाहिर निस्किन् । रेल्वे स्टेसनमा बलेको बत्तीले त्यहाँ निकै उज्यालो थियो ।

अरुले देख्लान् कि भनेर नामियाले अलि पर अँध्यारो ठाउँमा गएर पिसाब फेरिन् । रक्तश्रावलाई रोक्न प्रयोग गरेको टालो पनि फेरिन् । फर्किने बेला अँध्यारोबाट कसैले उनको मुख च्याप्प समात्यो । नामियाले चिच्याउन खोजिन्, तर बलिया हातले उनलार्ई जकडिसकेको थियो । अरु पनि कसैले उसको खुट्टा र हात समातेपछि उनी हलचल गर्न नसक्ने भइन् ।

उनीहरूले नामियाको शरीरलाई निचोर्न थाले । नामियाले आफ्नो सम्पूर्ण शक्ति लगाएर फुत्किने कोशिश गरिन् । तर चार जना पुरुषको अगाडि उनी एक्ली र निरीह थिइन् । उनीहरूले पालैपालो नामियाको शरीरलाई कुल्चे ।

होश आउँदा नामिया आँपको बगैंचामा थिइन् । उनको शरीर एकदमै दुखिरहेको थियो । योनीबाट रगत बगिरहेको थियो । शरीरमा एउटा पनि कपडा थिएन । उनको मुखमा बेरिएको दुपट्टा मात्र उनीसँग थियो । उनले त्यही दुपट्टा नजिकैको नालामा चोपेर आफ्नो शरीरको रगत सफा गरिन् । त्यही दुपट्टालाई पखालेर शरीरमा बेरिन् । पातलो दुपट्टाले उनको छोप्नु पर्ने अंगहरू पनि राम्रोसँग छोपिन सकेको थिएन ।

उनी आँपबारीबाट सडकतर्फ आइन् । उनलाई कता जाने केही थाहा थिएन । आफ्ना बुवा आमा नेपाल जान लागेको मात्र थाहा थियो । खुट्टाले जता डोर्‍याउँथ्यो, त्यतै हिंडन थालिन् । केही हिँडेपछि नामिया एउटा बजारमा पुगिन् । उनको राम्रोसँग नछोपिएको शरीरलाई हेरेर त्यहाँका कति व्यापारीहरूले र्‍याल निले । तर के भएको भनेर कसैले सोधेनन् ।

नामिया सडक छेउको एउटा होटलमा पुगिन् । होटलभित्रबाट एउटी महिलाले ‘चाहिए क्या’ भनेर आँखाले इशारा गर्दै नामियालाई प्रश्न गरिन् । नामियाले टाउको हल्लाइन् । ती महिलाले उनलाई हात समातेर होटलको माथिको कोठामा लगिन् । आफ्नो एकजोर कपडा र खानेकुरा दिइन् । खाना खाने बित्तिकै उनी निदाइन् ।

कसैले ढोकाभित्रबाट लगाएको आवाजले उनी ब्युँझिन् । ५० वर्षको पुरुषले उनलाई चिलले चल्ला झपटेझैं समात्यो । त्यो मानिसले उनलाई दुईपटक बलात्कार गरेपछि कोठाबाट बाहिर निस्क्यो ।

नामियाले होटलकी मालिक ती महिलालाई आफ्नो सबै कथा सुनाइन् । आफ्नो बुवा आमा नेपाल गएकाले नेपाल पठाइदिन हारगुहार गरिन् । तर ती महिलाले नेपाल धेरै टाढा भएको र पैसा पनि धेरै लाग्ने भएकाले आफूले पठाउन नसक्ने जवाफ दिइन् । उनले भनिन्, ‘बरु चुपचाप यही काम गरेर बस्, तेरो कामको पैसा जम्मा हुँदै गएपछि पठाइदिउँला ।’

नामियाले आफ्नो अगाडि अरु केही विकल्प देखिनन् । बाध्य भएर उनी हरेक दिन यौन पिपासुहरूबाट भोगिँदै गइन् । उनलाई भोग्न आउनेहरूलाई पनि उनले आफ्नो पीडा सुनाइन् । तर सबैले उनको सोझोपनको फाइदा मात्र उठाए । अझ कतिले सहयोग गर्ने नाममा उनलाई अप्राकृतिक तरिकाले समेत भोगे ।

यस्ता क्रियाकलापमा उनलाई असह्य पीडा हुन्थ्यो । उनलाई भोग्नेहरूको आज्ञालाई नामियाले इन्कार गर्न सक्दैनथिन् । त्यसैले कहिले चुरोट, खैनी त कहिले रक्सी समेत उनले खानुपथ्र्यो । उनलाई आफू र आफ्नो शरीरदेखि घृणा लाग्न थालिसकेको थियो साथै, यो सिंगो समाजप्रति पनि ।

नामियाले लगभग दुई वर्ष यसरी नै बिताइन् । यो बीचमा उनका आमा बुबाले उनको खोजी गरे कि गरेनन्, उनी अनभिज्ञ नै भइन् । उनीहरूको समाजमा छोरी हराउँदा इज्जत गयो भनिन्छ । तर पनि आमा बुवा भेटिन्छ कि भन्ने आशा जीवितै थियो ।

फागुन महिना जान लाग्दै थियो । वनबासा नजिकैको चकरपुरमा ठूलो मेला लाग्थ्यो । यो वर्ष होटलको साहुले मेलामा होटल चलाएर पैसा कमाउने योजना बनाएका थिए । उनीहरूले होटलमा भाडा धुनको लागि नामियालाई पनि त्यहाँ लगे । दुई वर्षपछि नामिया घरबाट बाहिर आएकी थिइन् । मेलामा मान्छेहरूको भीड देखेर नामिया दंग परिन् । बाँसमा प्लाष्टिकले छाएर बनाएको होटलमा धेरै मान्छेहरू आउँदै थिए । त्यहाँ आएका केही केटीहरूको मुखबाट नामियाले नेपाल भन्ने शब्द सुनिन् । ती केटीहरू नेपालबाट मेला हेर्न त्यहाँ पुगेका थिए । नामियाले उनीहरूलाई सोधिन्, ‘नेपालबाट यति टाढा कसरी आयौ ?’ उनले जवाफ दिए, ‘नेपाल त यहीं नजिकै हो ।’

उनलाई पनि थुक्न मन छ एकपटक ढोंगी मान्छेहरुलाई । उनीहरु निथ्रुक्क भिज्नेगरी । तर आँखामा आँशु निख्रिएजस्तै सुकेको घाँटीमा ढोंगी मान्छेहरुलाई थुक्न थुक पनि आउँदैन ।

यो सुनेर नामिया झसङ्ग भइन् । साथै उनको होटलको साहुले नेपाल टाढा छ भनेर ढाँटेको कुरा बुझिन् । उनले सुटुक्क ती केटीहरूलाई आफूलाई नेपालसम्म पुर्‍याइदिन आग्रह गरिन् । होटल साहुको आँखाबाट बच्दै नामिया ती केटीहरूको पछि लागिन् ।

नेपाल पुगेपछि आफ्नो बुवा आमा भेटिन्छन् भन्ने उनको मनमा उत्साह थियो । वनबासा हँुदै आँपबगैंचा पुग्दा आफू यही ठाउँबाट पश्चिमतर्फ गएको सम्झना आयो । अनि मनमनै सोचिन्, ‘मेरो भाग्यमा यस्तै लेखेको रहेछ शायद, यी सबै दुःख भोग्नु लेखेकाले म त्यो दिन आँपबारीबाट पूर्व नभई पश्चिमतर्फ लागेछु । म त्यो दिन पूर्वतर्फ हिंडेकी भए यस्तो नारकीय जीवन बिताउनु पर्दैनथ्यो होला ।’

गड्डाचौकीमा पुगेपछि ती केटीहरूले नामियालाई छाडे । साँझ परिसकेको थियो । नामिया फेरि एक्लै भइन् । त्यहाँबाट गाडी चढेर महेन्द्रनगर बजार पुगेपछि उनले बगरमा खेती गर्ने भारतीयहरू कता बस्छन् भनेर सोधिन् । नयाँ मान्छे एक्लै केटी देखेर एक जनाले उनलाई आफूसँग हिंड्न भने । रात परिसकेको थियो, बसपार्कको पछाडि सानासाना छाप्रामा होटलमध्ये एउटामा लगेर त्यो मान्छेले नामियालाई यौन सम्पर्कको प्रस्ताव राख्यो ।

यस्तो प्रस्ताव नामियाको लागि कुनै नौलो कुरा थिएन । लोग्ने मान्छेको नियत उनले यसअघि नै राम्रोसँग बुझिसकेकी थिइन् । रातिमा अलपत्र पर्नुभन्दा उसैसँग रात बिताएर बाटो लाग्नु उचित हुने उनले मनमनै निष्कर्ष निकालिन् ।

तर नामियाले सोचेजस्तो सहज भएन । आफूले भोगेपछि उनले आफ्ना साथी बोलाए । त्यो रात नामियालाई ५ जनाले भोगे । बिहान हुने बित्तिकै नामिया बुवा आमाको खोजीमा निस्किइन् । सब्जीमण्डीमा पुगेर उसले तरकारी खेती गर्ने भारतीयहरूको बारेमा सोधिन् । जवाफ आयो- ‘कञ्चनपुरका धेरै नदीको बगरमा भारतीयहरूले तरकारी खेती गर्छन् ।’

उनी भौंतारिँदै नदीका किनारमा डुलिन् । आफ्ना बुवा आमाबारे सोधखोज गरिन् । तर उनलाई सफलता हात लागेन ।

बुवा आमा नभेटिए पनि नामियालाई एक महिलाले आश्रय दिन तयार भइन् । उनको नाम मुस्कान थियो । नामिया मुस्कानकै काम सघाएर बसिन् । नामियाले आफ्नो जीवन निकै सहज भएको महसुस गर्न थालेकी थिइन । तर मनमा आफना बुवा आमा नभेटिएको पीर छँदैथियो ।

केही वर्ष बगरमा तरकारी फलाउन लागेकी नामिया मुस्कानको परिवारकै सदस्यजस्तै भइसकेकी थिइन् । त्यसैले मुस्कानको परिवारले तरकारीको व्यापारको लागि काठमाडौं जाँदा नामियालाई पनि सँगै लगे ।

काठमाडौं शहर नामियालाई एकदमै मन पर्‍यो । उनी निकै रमाइन् पनि । त्यही बेला कालीमाटीमा तरकारीको व्यापार गर्ने एक जना नेपाली केटाले नामियालाई मन पराए । उनले नामियासँग विवाह गर्ने जिद्दी गरे । नयाँ जीवन शुरु गर्न त्यस्तो माया गर्ने केटो पाएपछि नामिया विवाह गर्न तयार भइन् ।

उनको नयाँ जीवन शुरु भयो । बिहानै हिन्दु संस्कार अनुसार पूजापाठ गर्न थालिन् । दिउँसो श्रीमानलाई व्यापारमा सघाउँथिन् । घरमा सासू थिइन् । उनी पनि सुन्दर बुहारी पाएर खुशी नै थिइन् । नामियाले आफ्नो जीवनमा यस्तो सुखको दिन आउला भनेर कहिल्यै कल्पना गरेकी थिइनन् ।

तर उनको जीवनमा धेरै सुख भोग्ने संयोग रहेनछ । बिहे गरेको ६ महिनामै उनको श्रीमानको सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्युपछि सासूले उनलाई अलच्छिना भन्दै घरबाट निकालिदिइन् ।

नामिया फेरि एकपटक सडकमा पुगिन् । उनलाई थाहा छ- सडकमा पुग्ने बित्तिकै उनले फेरि पुरानै नियति भोग्नुपर्छ । भयो त्यस्तै । उनले असाध्यै घृणा गर्ने अतीतले पुनः उनलाई गाँज्यो । सहयोग गर्ने नाममा साना व्यापारी, ठेकेदारदेखि मजदुरहरूले समेत उनलाई भोग्न थाले । उनी फेरि पुरानै कर्ममा फर्किइन् । दुई छाक खान र रातमा ओत लाग्न उनले आफ्नो शरीर बन्धकी राख्न थालिन् । अनेक दुःख झेल्दै बाँचिरहेकी नामिया सडक पार गर्ने क्रममा एक दिन दुर्घटनामा परिन्, उनको खुट्टा भाँचियो ।

उनीजस्तै काम गर्ने एउटी महिलाले उनलाई अस्पतालसम्म लगिन् । तर पैसाको अभावमा उनको खुट्टाको राम्रो उपचार हुन सकेन । उनको कम्मरमुनिको भाग बाङ्गो भएको थियो ।

कुनैबेलाकी परीजस्तै सुन्दरी नामिया अब कुप्रो परिन् । उनलाई भोग्न मरिहत्ते गर्नेहरू पनि अब उनको शरीरलाई देखेर नजिक नपर्ने भए । राम्रोसँग खान लाउन नपुगेपछि उनको अनुहार पनि कुरूप हुँदै गयो । पेट भर्नका लागि अब उनी मागेर हिंड्न थालिन् । रातहरू फुटपाथमा बिताउँथिन् । दिउँसो छिछि-दूरदूर गरेपनि रातमा उनको शरीरसँग खेल्न कोही न कोही आएकै हुन्थ्यो । रातमा उनलाई फुटपाथबाट उठाएर एकान्तमा लगी गिद्धले सिनो झम्टे झैं उनको शरीरलाई छियाछिया बनाउँथे ।

दिनको उज्यालोमा भने पागल्नी भन्दै थुथु गर्थे । नामिया पनि पेट भर्नको लागि पागल झैं गतिविधि गर्न थालिन् । कसैले दया मान्ला र पेट भर्नका लागि दुःख कम होस् भनेर उनी पागलकै पहिचानमा बस्न रुचाउन थालिन् ।

उनी पागल होइनन् भन्ने कुरा अब उनीबाहेक अरुलाई थाहा छैन । हरेक दिन चोकमा हुँदा उनी कसैलाई नचिनेझैं एक्लै बरबराउँछिन् । तर रातमा उनलाई भोग्न आउने सबैलार्ई उनले चिनेकी छन् । त्यो पसले, नजिकैको क्याम्पसको नाइट गार्ड, त्यो खलासी, त्यो ड्राइभर सबै सबैलाई । राति उनको त्यही फोहर शरीरमा टाँसिएर मच्चिन्छन् । बिहान उनलाई देखेपछि ‘पागल वेश्या’ भन्दै थुथु गर्छन् ।

उनलाई पनि थुक्न मन छ एकपटक ढोंगी मान्छेहरुलाई । उनीहरु निथु्रक्क भिज्नेगरी । तर आँखामा आँशु निख्रिएजस्तै सुकेको घाँटीमा ढोंगी मान्छेहरुलाई थुक्न थुक पनि आउँदैन ।

समृद्धि विज्ञापन गर्दै पोलमा टाँसिएको फोटोतिर हेर्दै उनी बेजोडले हाँसिन् । ‘हैट पागल’ भन्दै एक युवक मुख बिगार्दै करायो । उनले ठम्याउन सकिनन्- त्यो युवक सत्तापक्षको हो कि प्रतिपक्षको । अनुहार झलक्क याद आयो- कतै कोठीमै भेटिएको थियो यो पनि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?