
२० माघ, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत १०औं चरणका खेलहरु यही माघ अन्तिमदेखि शुरू गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले तयारी गरेको छ ।
गत मंसिर ३ देखि शुरू भएको यस सिजनको लिगको नवौं चरणसम्मको खेल भएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र गोल्डकप प्रतियोगिताको लागि स्थगित गरिएको थियो ।
लिग कमिटीका निर्देशक सन्जिव मिश्रले माघ २८ देखि लिग फेरि शुरू गर्ने तयारी भएको जानकारी दिए ।
माघ ३ गतेसम्म नवौं चरणका खेलहरु भएको थियो। माघ २ गतेलाई तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भने च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।
उक्त खेल भने आगामी शनिबार अर्थात माघ २२ गते गर्ने एन्फाले निर्णय गरिसकेको छ ।
यसपटक विकेण्डमा लिग आयोजना भएको थियो। सोही अनुसार १०औं चरणका खेलहरु पनि माघ २८ गते शुक्रबार देखि नै आयोजना गर्ने तयारी भएको हो ।
१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा अब चार चरणको खेल बाँकी छ । एन्फाले बाँकी रहेको खेलको तालिका, समय र खेल स्थल केही दिनमै तय गर्नेछ ।
यसअघि नवौं चरणका ६२ खेल हुँदा पोखरामा ३ खेल भएको थियो भने बाँकी खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइएको थियो ।
साबिक विजेता मछिन्द्र एफसी ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा छ । यस्तै च्यासल र फ्रेण्ड्स क्लब अन्तिम दुई स्थानमा छन् र रेलिगेसनबाट जोगिन संघर्षरत छन् ।
ए डिभिजन लिगको विजेताले नगद ७५ लाख पाउने छन् भने अन्तिम दुई स्थानमा रहने टोली रेलिगेसनमा पर्नेछन् ।
मछिन्द्र एफसी, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी एफसी, थ्रीस्टार क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा, एनआरटी, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एपीएफ एफसी, ब्रिगेड ब्वाइज क्लब, च्यासल युथ क्लब र फ्रेण्ड्स क्लबले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4