
२६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम अन्तिम चरण्मा पुगेको भन्दै छिट्टै उद्घाटन गर्ने बताएका छन् । कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गरिएको बताए ।
ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘काम सकिनासाथ हामी पोखरीको उद्घाटन गर्छौं,’ मेयर शाक्यले भने । पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरी विकास हुने उनले बताए ।
६ करोड ३६ लाखको लगानीको पोखरी पुनर्निर्माणको काम एक वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण देखाउँदै ढिला भएको हो । कमलपोखरी वरीपरी वृक्षारोपण गर्ने तयारी छ । ‘यहाँका मठ-मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आर्कषित गराउने उद्देश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौं,’ उनले भने, ‘छिटै कमलपोखरीको सम्पदालाई पर्यटनसँग जोड्छौं ।’
एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको मेयर शाक्यको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले कमलपोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढेको पनि बताए ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन पाउादा खुसी लागेको बताइन् ।
काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए ।
प्रतिक्रिया 4