+
+
मृत्यु लेख :

लतालाई सम्झिंदा…

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ माघ २९ गते १८:४१

९२ वर्षको उमेरसम्म एक पूर्ण जीवन जिएर सबैले सरस्वतीको उपमा दिएका सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरले आफ्नो लयलाई सरस्वती पूजाकै दिन विश्राम दिइन् । हालसम्म सबैभन्दा बढी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएकी लताले आफ्नो अति सक्रिय उमेरमै ५० हजारभन्दा गीत रेकर्ड गराइन् ।

भारतको सर्वोत्कृष्ट पदक भारत रत्नले समेत विभूषित गायिकाको अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सरकारी तथा गैरसरकारी व्यक्तिहरुको उल्लेख्य उपस्थिति रह्यो । अन्त्येष्टिको पृष्ठभूमिमा बजिरहेको थियो, ‘नाम गुम जाएगा, चेहेरा ए बदल जाएगा, मेरी आवाज ही पहिचान है, हर याद रहे’ ।

यस वर्षको सुरुवात कोरोना संक्रमणको तेस्रो लहरबाट भयो । यसबाट संसारभरका धेरै मानिस संक्रमित भए । कोरोनाबाट लता पनि अछुतो रहिनन् । कोभिड निमोनिया भएपछि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आईसीयूमा राखेर २९ दिनसम्म उनको उपचार गरियो । तर स्वास्थ्यमा सुधा हुन नसकी अन्ततः माघ २३ गते अर्थात् सरस्वती पूजाको दिन लताको निधन भयो ।

भारत सरकारले उनको सम्मानमा दुई दिन राष्ट्रिय शोक घोषणा गर्‍यो । दक्षिण एशियाका सबै राष्ट्र प्रमुखहरूले शोक वक्तव्य पठाए । मुम्बईको शिवजी पार्कमा भएको अन्त्येष्टिमा  भतिजा आदिनाथ मंगेशकरले दिएको दागबत्तीसहित सबैकी प्रिय भारतका नाइटिङ्गेल, क्वीन अफ मेलोडी, भ्वाइस अफ मिलिनियम, स्वर कालिका, सरस्वती कि वरदानको रूपमा संसारभर चिनिएकी भेट्रान गायिका लताको सांसारिक यात्रा पूरा भयो ।

यति लामो र सफलतासहितको सिंगो इतिहास बोकेको व्यक्तित्वको बारे यो छोटो लेखमा कति विषय समावेश गर्न सम्भव होला र ? मैले विभिन्न माध्यमबाट संकलन गरेको मलाई मन परेका केही घटना पाठकसमक्ष पस्किने प्रयास गरेको छु ।

कार्यक्रममा चलचित्रको एक गीतको संगीत र स्वर दुवैमा उत्कृष्ट पुरस्कार पाउनेको नाम घोषणा हुन्छ, आनन्द घान । तर कोही पनि उठ्दैन । केही समयपछि कार्यक्रम सञ्चालकले विजेता संगीतकार अरु नभएर महसुर गायिका लता मंगेशकर नै भएको सार्वजनिक हुँदा सबै चकित भए

विश्वभरका संगीतप्रेमीमाझ लोकप्रिय गायिका लता मंगेशकरले औपचारिक शिक्षा हासिल गरेका छैनन् भन्दा अचम्म लाग्न सक्छ । करिब पाँच वर्षको उमेरमा उनी नजिकैको विद्यालयमा  पढ्न जाँदा आफूसँगै १० महिनाकी बहिनी आशालाई पनि लिएर गइन् । गुरुले कक्षामा सानो नानी ल्याउन पाइँदैन भनेपछि उनी रिसाएर बहिनी लिएर घर गइन्, त्यसपछि कहिल्यै विद्यालय फर्किनन् । उनले घरमा नै आफूलाई स्याहारसुसार गर्ने धाई दिदीसँग मराठी लेखपढ गर्न सिकेकी थिइन् । पछि उनले नाताले बहिनी इन्दिरासँग हिन्दी  सिकेकी थिइन् । मुम्बई गई सकेपछि मास्टर लेखराज शर्मासँग उर्दू सिके । बिस्तारै बंगाली, पञ्जाबी, तमिल र अलिअलि संस्कृत भाषा पनि सिकिन् ।

‘सौगन्ध मुझे इस मिट्टीकी’ बोलको गीत ३० मार्च २०१९ मा भारतीय सेनाप्रति समर्पित गर्दै रेकर्ड गरिएको उनको अन्तिम गीत थियो । त्यसअघि सन् २०१८ डिसेम्बर १२ मा भारतका मात्रै होइन, संसारकै धनाढ्यमध्ये एक मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा बजाउन तयार पारिएको गीतामन्त्र लताकै आवाजमा रेकर्ड गरिएको थियो । उनले अन्तिम पटक सार्वजनिक रूपमा जुममार्फत भागवत गीताको छोटो श्लोक सन् २०२१ को डिसेम्बर २२ मा भारत आजादी अमृत महोत्सव कमिटीको दोस्रो सेसनमा प्रस्तुत गरेकी थिइन् ।

सबैले गायिकाको रूपमा मात्रै चिन्ने लता वास्तवमा एक सफल संगीत निर्देशक पनि थिइन् । उनले पहिलो पटक सन् १९५५ मा ‘राम राम पभहने’ र त्यसपछि चारवटा चलचित्रमासंगीत भरेकी थिइन् । सन् १९६५ मा भालजी पेन्धारकर जीको निर्देशनमा निर्मित एक सफल मराठी चलचित्र ‘साधी  माणसू’को सबै गीतमा लताको संगीत थियो । महाराष्ट्रमा भएको एक संगीत अवार्डको कार्यक्रमपछि मात्रै यो विषय सार्वजनिक भयो ।

कार्यक्रममा चलचित्रको एक गीतको संगीत र बोल दुवैमा उत्कृष्ट पुरस्कार पाउनेको नाम घोषणा हुन्छ, आनन्द घान । तर कोही पनि उठ्दैन । केही समयपछि कार्यक्रम सञ्चालकले विजेता संगीतकार अरु नभएर महसुर गायिका लता मंगेशकर नै भएको सार्वजनिक हुँदा सबै चकित भए । लता मञ्चमा जान बाध्य भइन् । आफूलाई संगीतकारको रूपमा चिनाउन नचाहेको त्यसमा पनि पुरुष नाम राख्नु केवल उनको रहरभन्दा तत्कालीन समयको माग पनि हुन सक्छ ।

उनी आफैंले केही मराठी र हिन्दी चलचित्रहरु पनि  निर्माण गरिन् । सन् १९५३ मा बादल ( मराठी), र झाँझर (सी रामचन्द्र साझेदारी) १९५५ मा कञ्चन गंगा (हिन्दी), १९९० मा लेकिन (हिन्दी) उनले निर्माण गरेका चलचित्र हुन् ।

लतालाई आफ्नै रेडियो किन्ने रहर सानै उमेरदेखि थियो । आफ्ना गीत रेडियोमा बज्न थालेपछि झन् रेडियो किन्न आतुर हुनु स्वाभाविक नै हो । आफूले कमाइ गर्न थालेपछि सुरुमा उनको मासिक तलब २५ रुपैयाँ थियो । आमा, तीन बहिनीभाइ र आफू पालिने मूल र एक मात्र स्रोत आफैं हुँदा पैसा बचाउन गाह्रो भयो । बल्लबल्ल पाँच वर्षपछि जसोतसो गरी  एउटा रेडियो किनिन् । सारै हर्षका साथ सबैलाई जम्मा गरेर रेडियोको ट्युन मिलाउँदा अल इण्डिया रेडियोबाट  साह्रै दुःखद् खबर सुन्न पर्‍यो । लताले आफूलाई यो क्षेत्रमा लागेर शिखरमा पुग्न त्यतिबेलाका नामुद गायक कलाकार कुन्दनलाल सेगललाई सानै उमेरदेखि आफ्नो आदर्शको रूपमा सम्मान गर्थिन् । उनीप्रति लताको अति नै लगाव थियो । उनको मृत्युको खबर सुनाउने यो रेडियोप्रति उनको वितृष्णा भयो । त्यति लामो समयदेखि प्रतीक्षा गरेर पाएको भएपनि उक्त रेडियो तुरुन्तै बेच्ने निर्णय गरिन् । र, त्यसपछि रेडियो किन्ने शौख कहिल्यै पनि गरिनन् ।

सन् १९५७ मा निर्मित चलचित्र मदर इण्डियाको ‘दुनियाँ में हम आए है तो जीना ही पडेगा, जीवन हे अगर जहेर तो पिना ही पडेगा’ बोलको गीतमा लता, उषा र मिनाले नै स्वर दिएका थिए । यो चलचित्र ऐतिहासिक बन्यो । लताको जीवनमा अचम्म गरी यो गीत सही साबित हुन पुग्यो । सन् १९६२ मा उनी सिकिस्त बिरामी परिन् । करिब तीन महिनासम्म उनी निष्क्रिय हुनुपर्‍यो ।

एक दिन पेट दुखेर बान्ता भयो । उनी यति कमजोर भइन् कि डाक्टरले घरमै एक्सरे मेसिनसहित लिएर आउनुपर्ने भयो । सबै जाँच पड्तालपछि थाहा भयो, उनको खानामा केही समयदेखि मन्द विष मिसाउने गरिएको थियो । यो थाहा पाउने बित्तिकै बहिनी उषाले अब आइन्दा घरको खाना आफैंले पकाउने सुनाइन् । केही दिनपछि घरमा काम गर्ने मान्छे बिना सूचना बाँकी रहेको पैसा पनि नलिई बेपत्ता भयो । उनीमाथि शंका त थियो, तर मंगेशकर परिवारसँग त्यसको प्रमाण नभएको र थप खोजी पनि नगर्ने निर्णयमा पुग्यो । यो घटनाबारे खासै कुरा उठाउन पनि चाहेनन् ।

पढाइ सकेर घर फर्केपछि उनले लतासँग विवाह गर्ने निर्णयसहित मनसाय व्यक्त गरे, तर राज घरानियाँ भएको कारण अन्य परिवारसँग विवाह हुन नसक्ने क्रूर आदेश आयो । उनले लतासँग विवाह नगर्ने घर परिवारको आदेश त माने, तर जीवनभर विवाह नगर्ने निर्णय मात्रै सुनाएनन् अन्तिमसम्म दृढ पनि रहे

भारतमा एक समय कलाकारहरु पनि प्रत्यक्ष राजनीतिमा सहभागी बन्ने होड नै चल्यो ।  भारतीय जनता पार्टीको समर्थनमा सन् १९९९ नोभेम्बर २२ देखि २००५ नोभेम्बर २१ सम्म ६ वर्षको लागि लता मंगेशकर पनि राज्यसभाको सदस्य पदमा निर्वाचित भइन् । तर यो अवधिमा उनले जम्मा १२ दिन मात्रै सदनमा हाजिरी गरेकी थिइन् । उनको नाममा बैंकमा जम्मा भएको ६ वर्षकै तलब सरकारलाई नै फिर्ता बुझाइन् । उनी भन्ने गर्थिन् एल के आडबाणी, अटल बिहारी बाजपेयीप्रति उच्च सम्मान भएपनि राजनीतिक रूपमा पार्टी सदस्यता लिएर सक्रिय रूपमा राजनीतिमा लाग्ने रुचि नै भएन । उनले सांसदको हैसियतमा सदनमा जम्मा एउटा मात्रै यस्तो प्रश्न सोधिन् । सन् २००० मा भारतमा रेलको पटरीबाट धेरै रेल खसेको घटना सुनियो । त्यसमा पुगेको क्षतिको यकिन र यस्ता घटना हुन नदिन सरकारले के कस्ता कदम चालेको छ ?

सन् १९४७ मा एक नयाँ चलचित्रमा गीत गाउनका लागि सल्लाह गर्न पहिलो पटक लता र दिलीप कुमारबीच भेट भयो । दिलीप कुमारको  खास नाम मोहम्मद युसुफ खान थियो ।  त्यसैले लताले उनलाई युसुफ भाइ भन्थिन् । कुरा गर्दै जाँदा मंगेशकर मराठीले कसरी उर्दू गीत गाउन सम्भव होला ? पहिला उर्दू सिक्न सुझाए । यसले लतामा एउटा ईख पैदा भयो र तुरुन्तै  छिमेकी दाइजस्तै मान्ने शफी इमामबाट उर्दू सिक्न थालिन् । केही समयभित्रै लताले उर्दू गीत गाउन सक्ने प्रमाणित गरिन् । नुरजहाले समेत उनको गीतलाई मुक्तकण्ठले प्रशंसा गरिन् ।

दिलीप कुमारले सन् १९७४ मा लण्डनको रोयल अल्बर्ट हलमा आयोजित कार्यक्रममा लतालाई यसरी परिचय गराएका थिए– ‘जसरी फूलको सुगन्धको कुनै रंग हुँदैन, जसरी बग्ने हावा वा पानीको सीमाना हुँदैन, जसरी सूर्यको किरणको कुनै धार्मिक विभेद हुँदैन, लता मंगेशकरको स्वर पनि प्रकृतिको चमत्कार  हो ।’ यो नै लताको विदेशी भूमिमा भएको पहिलो कार्यक्रम थियो भने अल्बर्ट हलमा प्रस्तुति दिने पहिलो भारतीय कलाकार पनि उनी नै भइन्  । सम्पूर्ण टिकट अग्रिम बिक्री भएको उक्त कार्यक्रममा रेकर्ड गरिएको क्यासेट मात्रै १३ लाख तीन हजार थान बिक्री भएको थियो ।

लता जीवनभर अविवाहित रहिन् । जवानीको सुरुवातमा परिवारप्रतिको जिम्मेवारी सम्हाल्नुपर्‍यो । आफूभन्दा भाइबहिनीहरुको भविष्यको लागि चिन्तित भइन् । त्यसो त उनले कसैलाई मन नपराएको वा कसैले उनलाई मन नपराएको भने पक्कै होइन । केही व्यक्तिसँग उनको पनि सामीप्य रह्यो । तर एक जनासँग भने उनको विवाह हुनेसम्मको अवस्था आयो । दुईबीच अधिक प्रेम हुँदाहुँदै पनि पारिवारिक पृष्ठभूमिका कारण त्यो सम्बन्ध विवाहमा परिणत हुन भने नपाएको बताइन्छ । सामाजिक परिवेशले गर्दा यति सफल व्यक्तिहरुले पनि त्यो सीमा रेखालाई नाघ्न सकेनन् ।

लतालाई गीत–संगीतपछि क्रिकेटमा दिलचस्पी थियो । त्यतिबेला राजस्थानका नामुद खेलाडीमध्ये एक थिए राज सिंह दुँगारपुर । पछि उनी भारतीय क्रिकेट टिमको म्यानेजर पनि भए । दुँगारपुरका शासक महारावल लक्ष्मण सिंहका कान्छा छोरा राज सिंहसँग लताका भाइ हृदयनाथको राम्रो सम्बन्ध थियो । सन् १९५९ मा राज सिंह मुम्बईमा कानुन विषय अध्ययन गर्न आएका थिए । त्यहाँ क्रिकेट खेल्दा यी दुईबीच सम्पर्क भयो । त्यसैले घरमा आउने जाने गर्दा लतासँग पनि सम्बन्ध प्रगाढ हुँदै मायामा परिणत भयो । राज सिंह संगीतको अति पारखी थिए । त्यसैले पनि यी दुईको सम्बन्धलाई थप मलजल गर्‍यो ।

पढाइ सकेर घर फर्केपछि उनले लतासँग विवाह गर्ने निर्णयसहित मनसाय व्यक्त गरे, तर राज घरानियाँ भएको कारण अन्य परिवारसँग विवाह हुन नसक्ने क्रूर आदेश आयो । उनले लतासँग विवाह नगर्ने घर परिवारको आदेश त माने, तर जीवनभर विवाह नगर्ने निर्णय मात्रै सुनाएनन् अन्तिमसम्म दृढ पनि रहे । लतासँग उनको भेटघाट भइरहन्थ्यो । सन् २००९ मा उनको देहावसान हुँदा लता पनि गोप्य रुपमा राजको पार्थिव शरीरको अन्तिम दर्शन गर्न पुगेकी थिइन् ।

लता १३ वर्षको हुँदा बुबाको मृत्यु भयो । घरको सबैभन्दा जेठी भएकाले सबै जिम्मेवारी उनको काँधमा आयो । पूरा परिवारको पालनपोषण हेरचाह गर्ने अभिभारा उनलाई आयो । साथीको मृत्युपछि परिवारमा परेको बज्रपात देखेर मंगेशकर परिवारको हात थाम्न मास्टर विनायक तयार भए । लतालाई गायनमा नै निखारिने रहर थियो तर तुरुन्तै आम्दानी चाहिएकाले मनले नचाहँदा नचाहँदै पनि रंगमञ्चमा उत्रिनु परेको थियो ।

मास्टर विनायकले लतालाई सन् १९४२ मै मराठी चलचित्र ‘किती हसल’को लागि गीत गाउने मौका दिए । तर अन्तिममा यो गीत उक्त चलचित्रबाट हटाइएकाले लता हतोत्साही हुन पुगिन् । तर उनलाई तुरुन्तै अर्को मराठी चलचित्रमै गीत गाउने मौका मिल्यो । सन् १९४३ मा  अर्को मराठी चलचित्रमा पहिलो पटक हिन्दी गीत गाउने अवसर पाइन् ।

सन् १९४५ मा मास्टर विनायकको फिल्म कम्पनी मुम्बई सरेपछि लता पनि उनीसँगै गइन् । त्यहाँ उनले भारतीय शास्त्रीय संगीतमा बढी ध्यान दिइन् । बहिनी आशाले पनि छोटो भूमिका निभाउन थालिन् । सन् १९४८ सम्म लताले केही चलचित्रमा स्वर भरिसकेकी थिइन् । भविष्यको मधुरो रेखा कोरिसकेकी थिइन्, तर अप्रत्यासित रुपमा मास्टर विनायकले पनि यो धर्ती छाडे । त्यसपछि विनायकका मित्र गुलाम हैदरले लतालाई साथ दिन थाले । उनले संगीतकार शशाधर मुखर्जीसँग परिचय गराइदियो । त्यतिबेला उनले ‘शहीद’ चलचित्र निर्माण गर्दै थिए । लताको अति नै तिखो स्वर भएका कारण तुरुन्त अवसर दिन नसक्ने बताए । तर त्यसै सालको अन्त्यतिर उनैले बनाएको चलचित्र ‘मजबूर’मा भने लतालाई गाउने मौका दियो । त्यसपछि भने उनले फर्केर हेर्नु परेन । भारतका सबै नयाँ पुराना जानेमाने गीतकार संगीतकारसँग काम गरिन् । उनले तीनवटा नेपाली गीत समेत गाएकी छन् । मबीबी शाहको ‘आकाशको मिर्मिरे तारा’, चलचित्र माइतीघरको ‘जुन माटोमा जन्मिउँ हामी’, रामकृष्ण ढकालसँगको युगल ‘बाँचुञ्जेलीलाई’ गीत उनले गाएकी छन् ।

मराठी नाट्यका प्रख्यात कलाकार, संगीतकार तथा भारतीय शास्त्रीय गायक पण्डित दीनानाथ मंगेशकर तथा शेभान्तीको कोखबाट सन् १९२९ सेप्टेम्बर २८ का दिन तत्कालीन महाराष्ट्र प्रदेश इन्दौर (हाल मध्यप्रदेश राज्य)मा लता मंगेशकरको जन्म भएको थियो । पहिलो सन्तान भएर हुनुपर्छ उनलाई छोरा नै भनेर बोलाइन्थ्यो । उनको जन्मको नाम भने हेमा थियो । पण्डित दीनानाथ ज्योतिष विद्यामा पनि दख्खल राख्थे । छोरीलाई सानै उमेरदेखि गायन  संगीतको  शिक्षा उपलब्ध गराएका थिए । बाबुसँग रंगमञ्चमा पनि उनको राम्रो सहभागिता रह्यो । तर सुप्रसिद्ध गायिका लता मंगेशकर अब हामीबीच छैनन् । नयाँ गीतमा उनको स्वर सुन्न नपाएपनि उनले छाडेर गएका धुनहरु संसारभरका संगीतप्रेमीका कानमा युगौंयुगसम्म गुञ्जिरहनेछन् । अलबिदा

(लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका श्रेष्ठ विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।)

लेखकको बारेमा
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दि’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?