+
+

बागमतीमा एक महिनाको अवधिमा झण्डै ४०० कर्मचारीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १२:४१

२ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारले एक महिनाको अवधिमा करिब ४०० कर्मचारीहरु सरुवा गरेको छ । प्रदेशले बनाएको सरुवा तथा पदस्थापना कार्यविधि २०७६ लाई संशोधन गरेर ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो ।

सरुवा तथा पदस्थापना कार्यविधि २०७६ को अनुसार प्रत्येक आर्थिक वर्षको भदौ महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कर्मचारी र असोज महिनामा प्रदेशका अन्य मन्त्रालयका कर्मचारीहरु सरुवा गर्न सकिनेछ । तर प्रदेश सरकारले उक्त कार्यविधिमा संशोधन गरी माघ मसान्त उल्लेख गरेर कर्मचारीहरुको सरुवा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यमलाल भुसालले राजनीतिक अस्थिरताको कारण विगतमा कर्मचारीहरु सरुवा हुन नसकेकाले मन्त्रिपरिषदको स्वीकृतिमा कार्यविधि संशोधन गरी सरुवा गरिएको बताए ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेश कुमार उपाध्याय लुईंटेलले दुई वर्षसम्म एकै स्थानमा काम गरेका कर्मचारीहरुलाई सरुवा गरिएको बताए । लामो समयसम्म एकै स्थानमा एउटै कर्मचारी हुँदा सेवा प्रवाह प्रभावकारी नहुने भएकाले कार्यविधि संशोधन गरेर कर्मचारी सरुवा गर्नु बाध्यात्मक कारण भएको उनले दाबी गरे ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले माघ १६ गते १२२ जना कर्मचारीहरु सरुवा गरेको जनाएको छ । यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले माघ २७ गते १०७ जना कर्मचारी सरुवा भएका छन् ।

यस्तै २७ गते नै भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ जना, कृषि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माघ २८ गते १६ जना, उद्योग वन तथा वातावरण मन्त्रालयले माघ २५ गते २६ जना र स्वास्थ्य मन्त्रालयले ६४ जना कर्मचारी सरुवा गरेको प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यस्तै अन्य प्रदेश मन्त्रालयहरुले पनि कर्मचारी सरुवा गरेको तर तथ्यांक आउन बाँकी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?