+
+
विशेष रिपोर्ट :

७५३ मध्ये ६५५ नगर र गाउँपालिका अझै दमकलविहीन

आगलागी हुँदा स्थानीयवासीले खबर गर्ने नजिकको निकाय हो स्थानीय सरकार । तर जनताको जीउधन र सम्पत्तिको रक्षा गर्न नभई नहुने दमकल जस्तो उपकरण समेत स्थानीय तहहरूसँग छैन । ७५३ मध्ये ६५५ नगरपालिका दमकलविहीन हुनु आम नागरिक हदैसम्म जोखिममा हुनु हो ।

गौरव पोखरेल गौरव पोखरेल
२०७८ फागुन २ गते १७:०९

२ फागुन, काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकललगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ ।

तर, ७५३ स्थानीय तहमध्ये ६५५ नगरपालिका र गाउँपालिका अझै पनि दमकलविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६ महानगरसँग २१ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

मन्त्रालयका अनुसार, काठमाडौंमा ६, ललितपुरमा ३, पोखरामा ३, भरतपुरमा २, वीरगञ्जमा ३ र विराटनगर महानगरपालिकामा ४ वटा दमकल छन् । तर तीमध्ये सबै चालु अवस्थामा छैनन् ।

झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागढी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाले दमकल खरिद गरेका छन् । त्यसबाहेक ४५२ वटा गाउँपालिका अहिले पनि दमकलविहीन छन् ।

सरकारले अहिले हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि एउटा दमकल राख्ने नीति अघि सारेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि ७५३ वटै स्थानीय तहमा दमकल राख्ने योजना समेटिएको थियो ।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाका उपसचिव ऋषि आचार्यका अनुसार दमकलविहीन २०३ नगरपालिकाले खरिदको प्रयास त गरेका छन् तर, कसैले बजेट अभाव त कसैले जनशक्ति व्यवस्थापनमा समस्या देखाउने गरेका छन् ।

‘करोडको स्कोर्पियो गाडी चढेर हिंड्ने जनप्रतिनिधिलाई जनताको घर, धन सम्पत्ति जल्दा अलिकति पनि छुँदैन’ अग्नि नियन्त्रणविद् किशोर भट्टराई भन्छन्, ‘नभए हरेक स्थानीय तहले एउटा दमकल राख्न त्यति अप्ठ्यारो थिएन ।’

भएका पनि चल्दैनन्

भट्टराईका अनुसार दमकल शहरी क्षेत्रको आगलागी नियन्त्रणमा प्रयोग हुने सबैभन्दा उपयोगी साधन हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले पनि शहरी क्षेत्रका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएको देखाउँछ ।

‘विपद्मा प्रत्येक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ, समयमै गएर गरिएको उद्धार कार्यले क्षति कम गराउँछ’ भट्टराई भन्छन्, ‘त्यसैले यो साधन एकदम जरूरी छ र दमकल आफैं महत्व प्रमाणित भएको एक साधन हो ।’

नेपालकै पुरानो जुद्ध बारुण यन्त्र कार्यालयका पूर्वप्रमुख समेत रहेका भट्टराईका अनुसार यदि दमकल समयमा आगलागी भएको स्थानमा पुग्न सकेन भने यसले उद्देश्य अनुसारको काम गर्न सक्दैन । ‘तर अहिले अधिकांश घटनामा समयमा दमकल पुग्न नसक्दा ठूलो क्षति भइरहेको छ’ भट्टराई भन्छन्, ‘दमकलले सुरुमै इन्टरभेन्ट गर्न सकेन भने आगो फैलिइसक्छ र नियन्त्रणमा लिन समस्या हुन्छ ।’

स्थानीय तहसँग भएका दमकल पनि बिग्रिएर थन्किंदा अहिले यस्तै समस्या देखिइरहेको भट्टराई बताउँछन् । उनले भनेजस्तै देखियो झापाको मेचीनगर नगरपालिका-६, बर्मेली टोलको एसएस फुटवेयरमा २० माघ २०७८ मा आगलागी हुँदा । नजिकै रहेको नगरपालिकाको दमकल आगो निभाउन जान सकेन ।

बिहान साढे ११ बजे धुवाँको मुस्लो देख्ने वित्तिकै स्थानीयले मेचीनगर नगरपालिकाको दमकललाई खबर गरेका थिए । तर, बिग्रिएपछि दमकल मर्मतका लागि १८ दिनदेखि बिर्तामोडको ग्यारेजमा थन्किएको चालक कृष्ण चिमरिया बताउँछन् ।

मेचीनगर नगरपालिकाको दमकल । नगरमा पछिल्लो एक महीनामा भएको दुई ठूला आगलागीमा यो परिचालित हुन सकेन ।

आगलागी भएको स्थानबाट करिब तीन किलोमिटरको दूरीमा रहेको दमकल आउन नसकेपछि २५ किलोमिटर टाढा रहेको बिर्तामोड र भद्रपुरको दमकललाई बोलाउनुपर्‍यो । त्यतिञ्जेल आगो नियन्त्रणबाहिर गइसकेको थियो । त्यसैले मोरङ, इलाम र सुनसरीबाट पुगेका दमकल पनि प्रभावकारी भएनन् । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भारतीय समकक्षीसँग पनि छलफल गरेर भारतको नक्सल र मोतीगढबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिए ।

‘आगलागीको तीन चरण हुन्छ- सुरुवाती, चरम र अन्तिम । सुरुवाती अवस्थामा दमकल परिचालन भए मात्र क्षति न्यूनीकरण हुन्छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मेचीनगरमा दमकल नै चरम अवस्थातिर पुगेको देखिन्छ, यस्तो अवस्थामा क्षति न्यूनीकरण सम्भव हुँदैन ।’

मेचीनगरका स्थानीयवासी रुद्र अधिकारी पनि नजिकै रहेको मेचीनगर नगरपालिकाको दमकल नआउँदा एसएस फुटवेयरसहित नजिकै रहेको थप दुई घर समेत जलेर नष्ट भएको बताउँछन् । यो घटनाको १० दिनपछि आइतबार काँकडभिट्टामा आगलागी हुँदा पनि नगरपालिकाको दमकलले काम गरेन ।

भानुटोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेर नष्ट भइसकेपछि मात्रै बिर्तामोड नगरपालिकाको दमकल पुग्यो । आक्रोशित स्थानीयवासीले नगरपालिकाले दमकल मर्मत नगरेको भन्दै सडक अवरुद्ध र नगरपालिकाविरुद्ध नारावाजी पनि गरे ।

बाग्लुङ सदरमुकाम छेउमै १६ मंसिर २०७७ मा आगलागी हुँदा पनि नजिकै रहेको दमकल अग्नि नियन्त्रणमा आउन नसक्दा स्थानीय आक्रोशित बनेका थिए । बाग्लुङ नगरपालिका-४, उपल्लोचौरको कपास उद्योगमा आगलागी सुरु हुनासाथ दमकललाई खबर गरिएको थियो । तर चालक सम्पर्कमा नरहेको जवाफ आयो । उद्योगमा झण्डै १५ लाख रुपैयाँको क्षति पुग्यो ।

तुलसीपुर उपमहानगरपालिका-५, दाङमा २८ माघ २०७८ मा दुई परिवारका पाँच जनाको ज्यान जाने गरी भएको आगलागीमा पनि दमकल समयमा पुग्न सकेको थिएन । दमकल अघि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र स्थानीयले बाल्टीबाट पानी खन्याएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

स्थानीय शेषकान्त ढकालका अनुसार आगलागी भएको झण्डै दुई घन्टापछि मात्रै दमकल पुगेको थियो । तर आगो फैलिसकेपछिको अवस्थामा ३०० लिटर पानी लिएर गएको दमकलको फोहोराले आगो नियन्त्रणमा आउन सकेन । पानी सकिएपछि भर्ने ठाउँ खोज्न गएको दमकललाई फर्किनै ४५ मिनेट लाग्यो ।

दमकल नआएको भन्दै झापामा स्थानीयले गरेको प्रदर्शन ।

‘त्यही भएर पनि दमकललाई आगो नियन्त्रणको अन्तिम विकल्प सोच्नुहुँदैन’ राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल भन्छन्, ‘यो पनि एउटा विधि हो तर सँगै फायर एस्टिङ्ग्विसर (अग्नि नियन्त्रक उपकरण, होज रिल (पानी फाल्ने पाइप), फायर हाईड्रेन्टहरू राख्ने कुरामा पहिल्यै ध्यान पुर्‍याउनुपर्छ ।’

अग्नि नियन्त्रणविद् भट्टराई ८ घन्टासम्म दमकल देखाएर आगो नियन्त्रण गरिरहेका छौं भन्नु जनतालाई भुलाउने विषय मात्रै भएको बताउँछन् । ‘८-९ घन्टामा सबै नष्ट भएपछि आगो आफैं पनि निभ्छ, समयमा रेस्पोन्स नहुनुको अर्थ छैन’, उनी भन्छन् ।

नेपाल प्रहरीको तथ्यांकले पछिल्लो पाँच वर्षमा आगलागीका १० हजार घटना भएको देखाउँछ । ती घटनामा ३०५ जनाको मृत्यु र एक हजार ५७७ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार यो अवधिमा ५ हजार ६७० घर, ६ हजार ९१ चौपाया र १ हजार ७५१ गोठमा क्षति पुगेको छ ।

केसीका अनुसार आर्थिक वर्ष २०७३-७४ मा मात्रै १ हजार ५४१, आर्थिक वर्ष २०७४-५ मा १ हजार ७९२, २०७५-७६ मा २ हजार ३३९ र २०७६-७७ मा २ हजार ८५३ आगलागीका घटना भए । आर्थिक वर्ष २०७७-७८ मा देशभर २ हजार ८५३ आगलागीका घटना भएका छन् ।

दमकल भएकाले पनि चलाउन सकेनन्

सरकारले २०७१ सालमा दमकल खरिदका लागि स्थानीय विकास मन्त्रालयमार्फत विभिन्न स्थानीय तहलाई ६०-६० लाख रुपैयाँको दरले बजेट दिएको थियो । तर, २८ वटा स्थानीय तहले मात्रै दमकल खरिद गरेका थिए, अन्यले खरिद गर्न सकेनन् । दमकल खरिद गरेका कतिपय स्थानीय तहहरूले पनि यसको सञ्चालन गर्न सकेका छैनन् ।

काठमाडौंको चन्द्रागिरि र कागेश्वरी मनोहरा नगरपालिकाले दमकल खरिद गरे पनि जनशक्ति अभावमा सञ्चालन गरेका छैनन् । चन्द्रागिरिका मेयर घनश्याम गिरी दक्ष जनशक्ति नभएकाले दमकल थन्किएको बताउँदै भन्छन्, ‘काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने तयारीमा छौं ।’

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकालाई पनि सरकारले दमकल दिएको थियो तर जनशक्ति अभावमा चलाउन नसकेको भनेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्‍यो । गोरखा नगरपालिकाले पनि अनुदानमा एउटा दमकल पाएको थियो तर पाँच महिनादेखि थन्किएको छ । गोरखाका मेयर राजनराज पन्त भन्छन्, ‘बनाउनलाई पोखरा पठाएका थियौं, अहिलेसम्म बनिएको छैन ।’

स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकता नदिएका हुन्, बर्सेनि आगलागीबाट हुने क्षतिलाई गम्भीरतापूर्वक लिने हो भने जनप्रतिनिधिले दमकल पाल्न झञ्झट मान्ने थिएनन्

काठमाडौं महानगरपालिकासँग ६ वटा दमकल छन् । तीमध्ये तीन वटा मात्रै चालु अवस्थामा छन् । बेलायत सरकारले २०६९ सालमा दिएको भोल्भो, इटालीले १९९२ मा दिएको मर्सिडिज र भारतबाट सात वर्षअघि खरिद गरिएको आइचर कम्पनीको दमकल सञ्चालनमा छन् । यी तीनवटा दमकलले काठमाडौंलाई धान्न धौ-धौ पर्छ ।

२०७३ असार पहिलो साता कीर्तिपुर नगरपालिकाले दमकल चलाउने खर्च धान्न नसकिने भनेर आफूसँग भएको दमकल जुद्ध बारुण यन्त्रलाई दिएको थियो । त्यो दमकललाई महानगरपालिकाले अहिले बौद्धमा राखेको छ ।

ललितपुरमा तीनवटा दमकल रहेकोमा एउटा मात्र सञ्चालनमा छ । भक्तपुरमा ६ वटा दमकलमध्ये दुईवटा मात्रै चालु अवस्थामा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराई भन्छन्, ‘उपत्यकामै तत्कालै अत्याधुनिक दमकल खरिद गर्नुपर्ने आवश्यकता छ ।’

जानकारहरूका अनुसार सामान्यतया एउटा दमकलको मूल्य ७० लाख रुपैयाँभन्दा बढी पर्छ । यसका लागि कम्तीमा पनि तीन जना कर्मचारी २४ सै घन्टा खटिनुपर्छ । दुई सिफ्टमा कर्मचारी राख्नुपर्ने र दमकल बिग्रिरहने हुँदा स्थानीय तहले दमकल राख्न झञ्झट मान्ने गरेका छन् ।

नवलपरासी पूर्वको कावासोती नगरपालिकाका अग्नि नियन्त्रक तुलसी गिरी भन्छन्, ‘खासमा स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकता नदिएका हुन्, बर्सेनि आगलागीबाट हुने क्षतिलाई गम्भीरतापूर्वक लिने हो भने जनप्रतिनिधिले दमकल पाल्न झञ्झट मान्ने थिएनन् ।’ तर, कतिपय जनप्रतिनिधि चाहिं स्थानीय तहसँग दमकल सञ्चालनसम्बन्धी कार्यविधि नभएको बताएर पन्छिरहेका छन् ।

छैन तालिम

पर्वतको कुश्मा नगरपालिकाका अग्नि नियन्त्रक चिरञ्जीवी शर्माले दमकलमा काम गरेको चार वर्ष भयो । तर अहिलेसम्म आगो कसरी नियन्त्रण गर्ने भन्ने तालिम लिएका छैनन् । ‘पहिले यसमा काम गर्ने एक जना दाइ हुनुहुन्थ्यो, उहाँले नै सिकाएर काम गर्न थालेको हुँ’ शर्माले अनलाइनखबरसँग भने, ‘त्यसबाहेक अहिलेसम्म तालिम लिएको छैन ।’ पानी भर्ने, फ्याँक्ने र अन्य सामान्य कुरा जाँच गर्नेबाहेक आफूलाई धेरै ज्ञान नभएको उनी बताउँछन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाले चलाएको दमकलमा अग्नि नियन्त्रकका रूपमा काम गरिरहेका तुल्सीराम तिम्सिना चाहिं ६ वर्षअघि आफूले एकपटक तालिम लिएको बताउँछन् । ‘अहिलेसम्म तालिम लिएकै त्यति हो, त्यसमा पानीको फोहोरा कसरी हान्ने, आफूलाई कसरी जोगाउने र कम क्षतिमा कसरी आगो नियन्त्रणमा लिने भन्ने सिकाइएको थियो’ उनी भन्छन्, ‘धनगढी नगरपालिकामा एकपटक तालिम भएको थियो, त्यसयता केही पनि भएको छैन ।’

सुरक्षागार्डका रूपमा दुबई जाँदा अग्नि नियन्त्रण सम्बन्धी तालिमसमेत लिएका कावासोती नगरपालिकाका अग्नि नियन्त्रक गणेश गिरी चाहिं आगो नियन्त्रणसम्बन्धी जानकारी विना हुने परिचालनले झन् क्षति बढाउने बताउँछन् ।

‘अहिले धेरैतिर अन्धाधुन्द पानी हालिरहेको देख्छु, खासमा पानी हाल्ने पनि प्रक्रिया हुन्छ’ गिरीले भने, ‘हावाको वेग, आगलागी भएको मुख्य भाग, आगोको प्रकार जस्ता कुरामा ध्यान दिएर परिचालन हुनसके मात्र क्षति कम हुने हो र आगो पनि चाँडै नियन्त्रणमा आउने हो ।’

अहिलेका दमकलले प्रयोग गर्ने गरेको विधिले क्षति घटाउने नभई बढाउने काम गरिरहेको उनको बुझाइ छ । ‘कस्तो अवस्थामा केमिकल प्रयोग गर्ने भन्ने पनि धेरैलाई थाहा हुँदैन’ उनी भन्छन्, ‘कतिपयमा त मुख्य आगो लागेको ठाउँ छोडेर अर्कोतिर पानी हाल्दा बच्न सक्ने चिजहरूमा पनि क्षति पुगिरहेको हुन्छ ।’

विशेष रिपोर्ट
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?