+
+

चिकित्सक दम्पतीको प्रेमकथा : प्रतिस्पर्धाबाट मोडिएको बाटो

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ फागुन २ गते २०:३१

२ फागुन, काठमाडौं । ओशो भन्छन्, ‘प्रेम कुनै उपलब्धि होइन । बरु आफू स्वयंलाई मेटाउने तरिका हो ।’ जब कोही प्रेममा पर्छन्, उसले आफैंलाई भुल्छन् । जात, उमेर, रंगका सीमा र सर्तहरु तोड्छन् ।

यस्तै भएको थियो, डा. ऋषि विष्ट र डा. लैला लामा ताङबेतानीको जीवनमा पनि ।

उनीहरुको जात मिल्दैनथ्यो । संस्कार-संस्कृति मिल्दैनथ्यो । तर प्रेम-रसायनले उनीहरुलाई एउटै आलिङ्नमा बाँधिदियो । अनेकन सीमा र सर्तहरु तोड्दै उनीहरु प्रेम सम्बन्धमा जोडिए । अन्ततः यी चिकित्सक दम्पती प्रणयसूत्रमा बाँधिए ।

प्रेम भएपनि विवाह हुन्छ भन्ने विषयमा दुवै जना पक्का थिएनन् । एमबीबीएसको अध्ययन पूरा गरेर डा. लैला पोखरा (घर) फर्किन् । डा. ऋषि नेपाल मेडिकल कलेजमा काम गर्न थाले । अलग भएपछि दुई जनाको भावना झन् मजबुत बन्न पुग्यो ।

दुवै फरक-फरक पृष्ठभूमिका भएपनि उनीहरु अहिले एक सफल चिकित्सक दम्पतीको रुपमा परिचित छन् । हाल अर्थोपेडिक डा. विष्ट राष्ट्रिय ट्रमा सेन्टर र  यौन तथा छालारोग विशेषज्ञ डा. लामा वीर अस्पतालमा कार्यरत छन् ।

डाक्टरी पेशा यसै पनि धपेडीमा बित्ने । त्यसमाथि श्रीमान-श्रीमती दुवै चिकित्सक भएपछि निजी जीवन अरु साँघुरिने नै भयो । तर उनीहरुले पेशागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थापनलाई एकैसाथ कुशलतापूर्वक निर्वाह गरेका छन् । करिब सात वर्षको प्रेमसम्बन्धपछि विवाहबन्धनमा बाँधिएको यो दम्पतीले आफ्नो पारिवारिक जीवनलाई सफलतापूर्वक अघि बढाइरहेका छन् । एकअर्काबीचको विश्वास, सहयोगले उनीहरूले  कठिन यात्रा तय गर्दै कुशल अभिभावकसमेत बन्न सफल छन् ।

प्रतिस्पर्धा र झगडाले जन्माएको प्रेम भावना

दुवै जना जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्थे । पहिलोपटक सन् १९९९ मा सहपाठीको रुपमा त्यही‌ं भेट भयो । त्यसबेला खासै घनिष्ठ सम्बन्ध पनि थिएन । दुवै जना अध्ययनमा अब्बल थिए । त्यसका साथै एकअर्काका प्रतिस्पर्धी । कसले बढी नम्बर ल्याउने ।

फरक जात, फरक संस्कृति । त्यसबेला उनीहरुबीच सोचाइ बेल्लाबेल्लै खालका थिए । तर एकअर्काबीच समय बिताउँदै जाँदा उनीहरु प्रेम पलाइसकेको थियो । डा. विष्ट ती पुराना दिनहरु सम्झँदै भन्छन्, ‘हामीबीच हुने प्रतिस्पर्धा तथा झगडाबीच नै प्रेम अंकुराइसकेको रहेछ ।’

उनीहरु पढाइको प्रतिस्पर्धाबीच नै कैयौं टकराव हुन्थ्यो । तर त्यही टकरावले उनीहरुलाई नजिक बनाउँथ्यो ।

‘पढाइका क्रममा धेरै झगडा वा प्रतिस्पर्धा एक ठाउँमा भएपनि एकअर्कालाई कलेजको पहिलो दिनदेखि नै याद गरेका थियौं,’ डा. लैला भन्छिन् । प्रेम प्रस्ताव राख्नुअघि उनीहरु सँगै खाजा खाने, एकअर्काबीच बेलाबखतमा भेटघाट भइराख्ने भइरहन्थ्यो । त्यसैबीच साथीभाइले एकअर्काको नाम जोडेर हल्ला चलाइसकेका थिए । शायद, मुख नखुले पनि दुवैका मनमा एकअर्काप्रति प्रेम अंकुराइसकेको थियो ।

एकअर्काप्रतिको यो महसुस प्रेम ठम्याउन एक वर्ष लाग्यो । एमबीबीएस दोस्रो वर्षमा प्रेम प्रस्तावको कारण बन्यो झगडा ।

‘उहाँले नै मलाई प्रेम प्रस्ताव राख्नुभएको थियो,’ डा. लामा भन्छिन्, ‘प्रेम प्रस्तावको कारण नै झगडा थियो । आफूले चाहेको प्रस्ताव आउँदा अस्वीकार हुने कुरा पनि भएन ।’ त्यसपछि दुईबीचको प्रेमसम्बन्ध खुलेर नै अगाडि बढ्यो ।

दुईबीच अचम्मको ‘कम्बिनेसन’ छ । उनीबीच रूचि तथा चाहना नै फरक छ ।  डा. ऋषि निकै फरासिला छन् । जोकोहीसँग छिट्टै घुलमिल भइहाल्छन् । बढीजसो पहाड, हिमाल चढ्न रुचाउँछन् । डा. लैला भद्र स्वभावकी छन् । बिदा वा फुर्सदको समयमा सपिङ, फिल्म वा बाहिर धुम्न रमाउने ।

तर एकअर्काको इच्छालाई ख्याल गर्दै दुवै परिवर्तन हुन्छन् । ‘हामीबीच सोच्ने तरिका, बोल्ने शैली फरक-फरक छ । तर एकअर्काको व्यवहार र इच्छाप्रति सम्मान गर्दै आपसी समझदारी र एकले अर्काको भावना बुझ्दै त्यसको कदर गछौं । जसका कारण झन् सम्बन्ध बलियो हुँदै गएको छ,’ डा. लैला भन्छिन् ।

परिवारको सहज स्वीकार

प्रेम भएपनि विवाह हुन्छ भन्ने विषयमा दुवै जना पक्का थिएनन् । एमबीबीएसको अध्ययन पूरा गरेर डा. लैला पोखरा (घर) फर्किन् । डा. ऋषि नेपाल मेडिकल कलेजमा काम गर्न थाले । अलग भएपछि दुई जनाको भावना झन् मजबुत बन्न पुग्यो । डा. लैला भन्छिन्, ‘एकअर्कासँग जति कम्फर्ट छौं, अरुसँग हुँदैन कि भन्ने महसुस भयो । अलग भएको एक वर्षपछि विवाह जोड्ने हामीहरुले निधो गर्‍यौं ।’

तर दुई जनाबीच आपसी सम्झदारी भएपनि परिवारले सम्बन्धलाई स्वीकार गर्छ कि गर्दैन भन्ने चिन्ता थियो । किनकि, उनीहरुबीच धर्म र जात फरक थियो । डा. ऋषि हिन्दु धर्मावलम्बी हुन् भने डा. लैला बौद्ध धर्मावलम्बी । परिवारलाई एकैसाथ कुरा गर्ने निधो गरे । तर जब घरमा दुवैले एकअर्काको बारेमा बताए उनीहरु अचम्ममा परे । किनभने उनीहरुको परिवारले दुवैलाई सहज रुपमा स्वीकारे ।

‘हामीबीच एकअर्काको हौं भन्ने महसुस हुन समय लाग्यो । तर परिवारले हाम्रो सम्बन्धलाई सहज रुपमा स्वीकार्‍यो,’ डा. ऋषि भन्छन्, ‘त्यसबेला असाध्यै सजिलो र परिवारप्रति झन् आत्मीयता बढ्यो ।’

सहज रूपमा परिवारले स्वीकार गर्नुको कारण चिनजान थियो । किनकि, उनीहरु दुवै परिवारका सदस्यबीच धुलमिल भइसकेका थिए । एकअर्कामा प्रेम अभिव्यक्त गरेको सात वर्षपछि जीवनभर साथ निभाउने अठोटका साथ इन्गेजमेन्ट गरे । तर रोचक कुरा उनीहरुको इन्गेजमेन्ट आफ्नो रीतिरिवाज अनुसार नै भयो । बौद्ध संस्कृतिअनुसार डा. ऋषिका अभिभावक डा. लैलाको हात माग्न पोखरा पुगे ।

‘म साथीभाइसँग काठमाडौंमा थिएँ । तर मेरो  इन्गेजमेन्ट पोखरामा भइरहेको थियो,’ डा.  ऋषि भन्छन्, ‘ प्रेम विवाहमा परिणत भयो ।’

दुवै परिवार शिक्षित भएका कारण पनि विवाहमा कुनै समस्या परेन । उनीहरुको विवाह आ-आफ्नो रीतिरिवाज अनुसार नै भयो ।

परिवारिक व्यवस्थापनमा बराबर सक्रिय

विवाहपछि दुवैको व्यक्तिगत करिअरले अझ गति लिएको उनीहरूको भनाइ छ । ‘विवाहपछिको जीवनमा सुखदुःखमा साथ दिने कोही छ भन्ने भरोसा थपेको छ । चिकित्सा पेशामा भएकाले समय व्यवस्थापन दुवैका लागि मुख्य चुनौती हो । आपसी समझदारीले सबैकुरालाई व्यवस्थापन गर्ने गरेका छौं,’ उनीहरु भन्छन् ।

दाम्पत्य जीवनलाई बलियो बनाउन आपसमा विश्वास हुनुपर्ने उनीहरुको भनाइ छ । ‘घरपरिवारको सबै कुरा बुझेर खासै गाह्रो भएन । एकआपसमा गरिने सम्मान र समझदारीले सम्बन्ध झन् मजबुत बन्ने रहेछ,’ डा. लीला भन्छिन् ।

‘जबसम्म मनबाटै अर्को रीतिरिवाजप्रति सम्मान आउँदैन । त्यो सफल हुँदैन । एकअर्काबीचको संस्कृतिबीच सम्मान भएकै कारण स्वीकार गर्न कुनै गाह्रो भएन,’ डा. ऋषि थप्छन् । त्यही विश्वास र सम्मानबाटै उनी सन् २००७ सालमा उनीहरु विवाह बन्धनमा जोडिए ।

विवाह भएको सात दिनमै लोकसेवा पास गरेर डा. लीलाको पोस्टिङ मुस्ताङ जिल्ला अस्पताल पुगिन् । डा. ऋषि भने नेपाल मेडिकल कलेजमा कार्यरत थिए । तर मुस्ताङमा दुई वर्ष काम गरेर फर्किंदा डा. ऋषि डोल्पा पुगे । त्यसपछि दुवै जनाले सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गर्ने मौका मिल्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट नै डा. लीलाले यौन तथा छालारोग र डा. ऋषिले हाड तथा नसारोगमा स्नातकोत्तर गरे ।

डाक्टरी पेशामा व्यस्तताले कहिले पो छाड्छ र । अत्यधिक व्यस्त हुँदा पारिवारिक व्यवस्थापनलाई भने समानान्तर रूपमा कार्यभार लिइरहेका छन् । उनीहरुका दुई छोरा छन् । संयुक्त परिवारमा बसिरहेका छन् । छोराहरुलाई हजुरबबुवा-हजुरआमाले नै होमवर्क गर्नेदेखि हेरचाह गर्ने गर्दछन् । ‘अलिकति समय भयो भने पनि घरपरिवारलाई समय दिने गरेका छौं । पारिवारिक जिम्मेवारी सबैले बाँडेर लिन्छौं,’ डा. ऋषि भन्छन् ।

घरपरिवारको व्यवस्थापनमा डा. लीलाले नै फुर्सद निकाल्ने गरेकी छन् । त्यसैगरी बच्चाहरुको स्कुलको व्यवस्थापनतिर डा. ऋषिको जिम्मेवारी छ । बिहान ८ बजे उनी उनीहरू घरबाट (जावलाखेल) निस्कने गरेका छन् । घरपरिवार, पेशाको समयभन्दा बाहिर बसमा उनीहरुले एकअर्कोलाई समय दिने गरेका छन् । दैनिक क्रियाकलापको योजना बसमा निकाल्छन् । बेलुकी ५ बजे घर फर्किन्छन् । ‘कहिलेकाहीं अप्रेसन लम्बिएको खण्डमा ढिलो हुन्छ । तर अधिकांश समय भने सँगै आउने-जाने गरेका छौं । त्यही बेलामा दैनिक क्रियाकलापको बारेमा छलफल हुन्छ,’ डा. ऋषिले भने, ‘परिवारको साथ मिल्यो भने करिअर पनि अगाडि बढ्छ ।  अहिले बाबुआमाको समय र दैनिकीमा बच्चासमेत अभ्यस्त भइसकेका छन् ।’

खाना पकाउनमा विशेष रूचि डा. लीला नै राख्छिन् । कहिलेकाहीं फुर्सदको समयमा मीठोे-मीठो परिकार बनाएर परिवारलाई खुवाउँछिन् । तर खाना बनाउने सवालमा भने ऋषि सोख ठिक विपरीत छ । खाना बनाउन रुचि राख्दैनन् । उनीहरू पेशागत जिम्मेवारीबाट केही समय निकालेर बच्चाहरूका लागि समय दिन चुक्दैनन् ।

‘बिदाको दिन पारेर बच्चाहरूलाई घुमाउन लैजाने गरेका छौं,’ उनी भन्छिन् । घरमै हुँदा पनि दुवै जनालाई कामको प्रेसर, एकअर्कासँग त्यति धेरै बोल्ने समय पनि हुँदैन ।

विवाह भएको १७ वर्ष भइसकेको छ । विवाह अघिको प्रेम र अहिलेको प्रेममा कुनै परिवर्तन नभएको उनीहरु बताउँछन् । डा. लीला भन्छिन्, ‘परिवारमा कसैको आमाबुबा, कसैको छोराबुहारीको रूपमा छौं । विभिन्न सम्बन्धमा प्रेम गर्ने अभिव्यक्ति फरक होला । तर हामी श्रीमान् श्रीमती भन्दा पनि प्रेमी प्रेमिकाको व्यवहार गर्छौं ।’

अहिले पनि अस्पतालमा फुर्सदको बेला सामाजिक सञ्जालबाट एकापसमा जिस्किरहेका हुन्छन् । सबैभन्दा पहिला सुख-दुःखको खबर एकअर्कामा साट्छन् । दम्पतीमा कहिलेकाहीं सामान्य ठाकठुक पर्नु स्वाभाविकै हो । उनीहरुबीच अहिले पनि स-साना कुरामा पनि झगडा भइरहन्छ । तर त्यो झगडाले झ्न माया प्रगाढ बनाउँछ ।

‘सामान्य भनाभनपछि हाम्रो झगडा सकिसक्छ, लामो समयसम्म रहँदैन,’ डा. ऋषि भन्छन्, ‘केही समयपछि नै कारण र समाधानसम्म पुग्ने गर्छौं । जसका कारण माया झन् बलियो बन्दै गएको छ ।’

विवाहपछि दुवैको व्यक्तिगत करिअरले अझ गति लिएको उनीहरूको भनाइ छ । ‘विवाहपछिको जीवनमा सुखदुःखमा साथ दिने कोही छ भन्ने भरोसा थपेको छ ।

चिकित्सा पेशामा भएकाले समय व्यवस्थापन दुवैका लागि मुख्य चुनौती हो । आपसी समझदारीले सबैकुरालाई व्यवस्थापन गर्ने गरेका छौं,’ उनीहरु भन्छन् ।

सम्बन्ध बलियो हुन एकअर्कामा समर्पणको भावना हुनुपर्छ । डा. लीला थप्छिन्, ‘हामीले एकअर्काको भावनालाई बुझ्नु सक्नुपर्छ । त्यसबीचमा केही समस्या परे खुलेर छलफल पनि गर्नुपर्छ । त्यसो भयो भने सम्बन्ध बलियो हुन्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?