
३ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले पूर्वी युरोपमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च रहेको बताएको छ ।
मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्ति जारी गर्दै पूर्वी युरोपमा ओमिक्रोनको जोखिम उच्च रहेको बताएका हुन् । ओमिक्रोनबाट हुने नयाँ संक्रमणको लहर पूर्वी युरोपतर्फ फैलिन थालेको क्लुगेको भनाइ छ ।
क्षेत्रीय निर्देशक क्लुगेले पछिल्ला दुई हप्तामा आर्मेनिया, अजरबैजान, बेलारुस, जर्जिया, रुस र युक्रेनमा कोभिड संक्रमितको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको समेत बताए । त्यस्तै, उनले अधिकारीहरूलाई खोप अभियान र महामारी नियन्त्रणका अन्य उपायमा सुधार गर्न अपिल गरेका छन् ।
तीव्र परीक्षण र मास्क प्रयोगजस्ता उपाय जारी राख्नु पर्ने भन्दै हालसम्म डब्ल्यूएचओको युरोप क्षेत्रमा १६ करोड ५० लाखभन्दा बढी मानिसमा कोभिड संक्रमण पुष्टि भएको पनि क्लुगेको भनाइ थियो । उनका अनुसार गत हप्तामा युरोपेली क्षेत्रभित्र २५ हजार संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै, क्लुगेले सरकारहरूलाई खोप लगाउनेको संख्या कम हुनुको कारण खोज्नसमेत भनेका छन् । बोस्निया तथा हर्जगोभिना, बुल्गेरिया, किर्गिस्तान, युक्रेन र उज्वेकिस्तानमा ६० वर्षमाथिका ४० प्रतिशतभन्दा कम मानिसले पूर्ण कोभिड खोप लगाएको पनि उनले बताए ।
चेक गणतन्त्र र पोल्याण्डसहितका कैयौं युरोपेली मुलुकले दैनिक संक्रमितको संख्या घट्दै गए आगामी महिनादेखि कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम खुकुलो पार्ने बताएका बेला क्लूगेको भनाइ आएको हो ।
प्रतिक्रिया 4