+
+

आकास खाली गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय) मा परीक्षण उडानका लागि नेपाल आएको एरो थाइ विमानले एक हप्तासम्म भैरहवा क्षेत्रको आकास खाली गरेर क्यालिब्रेसन प्रकिया पूरा गर्नेछ ।

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन ५ गते १९:०१

५ फागुन, काठमाडौं । नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यसमा परीक्षण उडानका लागि नेपाल आएको एरो थाइ विमानले एक हप्तासम्म भैरहवा क्षेत्रको आकास खाली गरेर क्यालिब्रेसन प्रकिया पूरा गर्नेछ ।

यो विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय) मा आवश्यक सबै उपकरहरुण समेत जडान भइसकेका छन् । जडान भएका उपकरणहरुले काम गरे/नगरेको जाँचका लागि थाइल्याण्डबाट बिहीबार मात्रै एरो थाइको जहाज नेपाल आइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने छ । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे/नगरेको परीक्षण गर्नेछ । जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ ।

तालिका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टीमबीच ब्रिफिङको काम हुनेछ । त्यसपछि भने उडान सुरु हुनेछ । जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसअगाडि २३ फेब्रुअरीका दिन सबै क्रु मेम्बर र प्राविधिकहरुको आरामका लागि बिदा दिइएको छ । त्यसबाहेक १८ फेब्रुअरीदेखि २७ सम्म हरेक दिनजसो जहाजले उपकरणहरुको जाँच गर्नेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरु निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।

१५ दिनपछि आउने छ रिर्पोट

एरो थाइको जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसपछिको १५ दिनमा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिर्पोट बुझाउने छ । यस्तो रिर्पोट आएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो जहाजबाट परीक्षण उडान गर्न सक्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार प्राधिकरणले रिर्पोट परीक्षण गरी प्रकाशित गर्छ । त्यसरी प्रकाशित भएको ५६ दिनपछि विमानस्थल व्यावसायिक सञ्चालनका लागि तयार हुन्छ । यसरी तोकिएको तालिका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलबाट २ जेठ (बुद्ध पूर्णीमा)देखि व्यावसायिक रुपमा सञ्चालन गर्ने गरी उडान मिति तोकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ।

तोकिएको मितिबाट जहाज उड्ने सुनिश्चितताका लागि प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग समेत छलफल थालेको छ । महानिर्देशक अधिकारीले यो विमानस्थल काठमाडौंकै क्षमतामा बनेको दाबी गर्छन् । यहाँ जडान भएका उपकरण काठमाडौं विमानस्थलमा जडान भएकाभन्दा अत्यधुनिक छन् । अर्कोतर्फ खासगरी वैदेशिक रोजगारीमा जाने नेपाली र बुद्धिष्ट मुलुकका पर्यटक आकर्षित गर्ने गरी यो विमानस्थलको व्यावसायिक प्रचार–प्रसार गरिने भएको छ । जसले गर्दा वायुसेवा कम्पनीलाई यस विमानस्थलमा आकर्षित गर्न सहज हुने छ ।

परीक्षण अवधिभर आन्तरिक उडान प्रभावित हुने

प्राधिकरणका अनुसार शुक्रबारबाट २७ फेब्रुअरीसम्म हरेक दिनजसो आन्तरिक उडान भने प्रभावित हुनेछ ।

इन्जिनियर मिश्रका अनुसार क्यालिब्रेसन उडान अवधिभर तोकिएको निश्चित क्षेत्र भित्र आकासमा अन्य जहाजको मुभमेन्ट हुनु हुँदैन । जसले गर्दा त्यहाँको आन्तरिक उडान प्रभावित हुनेछ । यसबारे प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई जानकारी समेत दिइसकेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?