+
+

आन्दोलनकारीको घानमा फुटपाथ र बोटबिरुवा

प्रहरीलाई प्रहार गर्न प्रयोग गरिएका यस्ता वस्तु कतैबाट बोकेर ल्याइएको थिएन । सडक, सडकपेटी, डिभाइडर, त्यहाँ रोपिएका रूख–बिरुवालाई नै आन्दोलनकारीले ‘हतियार’ बनाएका थिए ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन १० गते २०:४०

१० फागुन, काठमाडौं । आइतबार एमसीसी विरोधी पक्ष र प्रहरीबीचको झडपले रणमैदान बनेको नयाँबानेश्वर क्षेत्रमा उर्लिएको भीडले के–के गर्‍यो ? सोमबार शान्त अवस्थामा फर्किएको त्यही ठाउँ पुग्दा देखिने दृश्य नै जवाफका लागि काफी थियो ।

काठमाडौं महानगरपालिकाले सरसफाइ गरेपछि पनि ठाउँ–ठाउँमा ढुंगा, इँटा र क्रंकिटका टुक्रा, भाँचिएका लाठी र रूख–बिरुवाका हरिया हाँगाबिंगा सडक किनारभरि देखिन्थे ।

प्रहरीलाई प्रहार गर्न प्रयोग गरिएका यस्ता वस्तु कतैबाट बोकेर ल्याइएको थिएन । सडक, सडकपेटी, डिभाइडर, त्यहाँ रोपिएका रूख–बिरुवालाई नै आन्दोलनकारीले ‘हतियार’ बनाएका थिए ।

माइतीघर–तीनकुने सडक विस्तारको झण्डै एक दशकपछि सजिलो बनाइएको पेटी भत्काउने, एक दशकअघि रोपेर हुर्काइँदै गरेका बोटबिरुवा लाछ्ने आन्दोलनकारीको कृत्य सायदै रुचाएका होलान् ।

बानेश्वरको एक बैंकका सुरक्षा गार्ड रामेश्वर सुनारलाई आन्दोलनले दिने लाभ के कति हो थाहा छैन, तर आन्दोलनको उद्दण्ड शैली र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण देख्दा निकै नराम्रो लागेको छ ।

उनको आँखैअघि फुटपाथको टायलहरू उप्काइएर सडकमा पछारेर फुटाउँदै प्रहरीमाथि प्रहार भयो । यस्तो गतिविधि गर्न हुन्न भनेर पढालेखाहरूको त्यत्रो भीडबाट कोही ननिस्किएको उनले बताए ।

‘त्यस्तो नाश गर्ने कर्म ठिक हुँदै होइन भन्ने त मजस्ता सामान्य मान्छेहरूलाई पनि थाहा छ’ उनी भन्छन्, ‘धेरै तोडफोड गरेपछि, आगो झोसेपछि मात्र सुन्ने सरकारको बानीका कारण पनि त्यस्तो विध्वंस मच्चाएका होलान्, तर माग जायज हो भने जसले जसरी आवाज उठाए पनि सुन्दा हुन्छ त !’

बानेश्वर क्षेत्रको सडकपेटीका धेरै ठाउँमा टायल उप्काइएको छ । टायल सजिलै निस्किएको ठाउँमा खाल्डो नै पारेर झिकिएका छन् । आन्दोनकारीले ढुंगा नभेटेपछि टायल टुक्रा पारेर प्रहरीलाई हानेका थिए ।

बानेश्वरमा कपडा व्यापार गर्ने राधेश्याम मण्डलका अनुसार, आन्दोलनकारीले हानेका ढुंगा र टायलहरूले लागेर इन्टरनेटको बक्स नै फुटेर सोमबार दिउँसोसम्म नेट चलेन । ‘बानेश्वरमा इन्टरनेट नचल्दा सरकारलाई के अप्ठ्यारो पर्‍यो होला त’ उनी भन्छन्, ‘यसरी जनतालाई नै दुःख दिने आन्दोलन त कसैले नगरेकै राम्रो ।’

व्यापारीलाई मात्रै हैन, बानेश्वर भएर पैदलयात्रा गर्नेहरू पनि सार्वजनिक सम्पत्तिलाई आफ्नै ठानेर आन्दोलन गर्न सुझाव दिन्छन् ।

‘कसैप्रतिको आक्रोश सबैलाई चाहिने साझा सम्पत्तिमा क्षति पुर्‍याएर मेट्ने हैन’ बानेश्वरमा किनमेल गरेर फर्किंदै गरेकी बुद्धनगरकी रमिला दवाडीले भनिन्, ‘जनताले रगत–पसिना चुहाएर तिरेको करबाट बनेका चिजहरू किन भत्काउनु, किन बिगार्नु ?’

रूख बिरुवासँग केको रिस ?

आन्दोलनकारीले सडकपेटी मात्र नभई हरियालीका लागि सडक बीचमा बनाइएको मेडियन पनि ठाउँ–ठाउँमा भत्काएका छन् । कति ठाउँमा भत्काउन नसकेर छाडेका छन् ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख नारायण निउरे सडक नै सबैको रिस पोख्ने ठाउँ भए पनि सडककै संरचनालाई मुख्य तारो बनाउनु दुखद् भएको बताउँछन् ।
‘आन्दोलनकारीले विवेक गुमाउँदा यस्तो उपद्रो हुन्छ’ उनी भन्छन्, ‘बलपूर्वक क्षतिग्रस्त बनाइएको सार्वजनिक संरचनाको पुनर्निर्माण गर्न सरकारले थप समय, जनशक्ति र लगानी खर्चिनुपर्छ । यसले सोझो रूपमा सरकार र घुमाउरो रूपमा कर तिर्ने जनतामाथि भार थप्छ ।’

यसै पनि काठमाडौंमा सडक संरचना सबैका लागि सहज र अनुकूल ढंगले बनेका छैनन् । त्यसमाथि पेटीमा खाल्डो पर्ने गरी टायल उप्काउने कृत्य आन्दोलनकारीकै लागि लज्जाको विषय बनेको छ ।

‘बालबालिका, वृद्धवृद्धा, अपांग सबै हिंड्ने सडकपेटीलाई दुरुस्त राख्नु सबैको कर्तव्य हुन्छ’ निउरे भन्छन्, ‘यस्ता गतिविधिले कसैको भलो गर्दैन, स्वयम् आन्दोलनकारीले पनि के फाइदा पाउलान् र ?’

आन्दोलनकारीले सडकको बीच र छेउका रूख–बिरुवामा पनि क्षति पु¥याएका छन् । कति ठाउँमा फेदबाटै रूख बिरुवा भाँचिएका छन् भने कति ठाउँमा हाँगा लाछिएका छन् ।

माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । यो सानो मिहिनेतले बनेको हैन । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दुबो रोपिएको थियो ।

सुरुमा छाडा चौपाया र मनलाग्दी सडक पार गर्नेहरूले क्षति पुर्‍याए । बल्लबल्ल रोपेको बोटबिरुवा मासिने अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा आलोचना भएपछि प्रहरीले नै गस्ती गरेर बोटबिरुवा हुर्काउन काठमाडौं महानगरपालिकालाई सघाएको थियो ।

महानगरपालिकाले जिम्मा पाए पनि विज्ञापन बोर्ड राख्न दिने शर्तमा हरियाली प्रवर्द्धनको काम गर्ने गरी नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । त्यसअनुसार नै नेपाल टेकिलमले गत पाँच वर्षदेखि यस क्षेत्रको बोटबिरुवा र दुबो गोडमेल, मलजल र संरक्षणको काम गर्दै आएको थियो । सम्झौता अवधि सकिएपछि अहिले महानगरपालिकाको वातावरण विभागले यो खण्डको हरियाली संरक्षण गर्दै आएको छ ।

महानगरपालिकाको वातावरण विभागकी निमित्त प्रमुख सरिता राई माइतीघर–बानेश्वर सडक खण्डको हरियालीलाई १० वर्षको परिश्रमको नतिजा भन्छिन् । यसरी बोटबिरुवा नाश पार्ने काम मानव सभ्यतासँग नमिल्ने उनले बताइन् ।

‘सहर राम्रो पार्ने जिम्मा सबै नागरिकको हो’ उनले भनिन्, ‘सहरको भीडभाडयुक्त सडक र फुटपाथमा १० वर्ष लगाएर हुर्काइएको बिरुवा भाँच्नुअघि सोच्नुपर्ने हो, फेरि त्यस्तै बिरुवा हुर्किन त अर्को १० वर्ष लाग्छ ।’

ती बोटबिरुवाको संरक्षणमा अझै पनि खर्च भइरहेको उनले बताइन् । ‘अहिले पनि त्यहाँ दैनिक मालीहरू खटिन्छन्, ट्यांकरबाट पानी हाल्नुपर्छ’ उनले भनिन्, ‘यसरी हुर्काइएको रूखबिरुवा जोगाउनु सबैको कर्तव्य हो ।’

तस्वीर र भिडियो : चन्द्रबहादुर आले

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?