+
+

विवाहेत्तर सम्बन्धले निम्त्याएको अपराध : दोस्रो श्रीमतीबाटै मारिए सिग्देल

नेपालमा अपराध, बहराइन प्रहरीको समन्वयमा पटाक्षेप

गौरव पोखरेल गौरव पोखरेल
२०७८ फागुन १० गते २१:२०

१० फागुन, काठमाडौं । झापा दमकका ४३ वर्षीय दिनेश सिग्देल दश वर्षअघि सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरकी ३० वर्षीया अनिता केसीसँग प्रेमसम्बन्धमा जोडिए । घरका एक्लो सन्तान सिग्देललाई खान लाउनको कमी थिएन, केही काम गर्नुपरेको पनि थिएन ।

अल्लारे भएर हिँडेको भन्दै घरकी श्रीमती उनलाई वेलावेला गाली गरिराख्थिन्, केही काम गर्न सुझाइराख्थिन् । तर श्रीमतीले सम्झाएको उनलाई मन पर्दैनथ्यो । त्यसैले श्रीमतीसँग रुष्ट थिए, त्यति नै बेला आफूभन्दा १३ वर्ष कान्छी केसीसँग उनी नजिकिँदै गए ।

उनीहरुले एक अर्कासँग विवाह नै गर्ने निधो गरे, कान्छी श्रीमती भित्र्याएपछि सिग्देलको परिवारसँग राम्रो सम्बन्ध भएन । त्यसैले कान्छी श्रीमती अनितालाई राख्न सिग्देलले विराटनगर महानगरपालिका–३, पीपलचोकमा कोठा भाडामा लिए ।

घरमा राम्रो सम्बन्ध नभएपछि उनलाई आर्थिक अभाव हुन थाल्यो । पाँच वर्षअघि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए, राम्रो कमाइ नभएपछि बहराइन गए । जीविका ठीकठाकै चलिरहेको थियो । कान्छी श्रीमतीबाट जन्मिएकी छोरी पनि ७ वर्ष पुगिसकेकी थिइन् ।

तर पछिल्लो केही महिनायता सिग्देलको जिन्दगीले अनौठो मोड लियो । कान्छी श्रीमती पाल्न भन्दै कमाउन हिँडेका उनलाई उनैले धोका दिइरहेको शंका हुन थाल्यो । केसी राम्रोसँग बोल्न छाडेकी थिइन्, बोलिहाले पनि झर्को मान्थिन् ।

पछिल्लो समय अनिताको स्वभावमा अनौठो बदलाव आएको दिनेशले साथीहरुलाई बताउने गरेका थिए । विराटनगरमा अर्कै युवकसँग नजिकिएको शंका भएपछि उनी श्रीमती भेट्न भन्दै २० पुसमा छुट्टी लिएर काठमाडौं आएका थिए ।

 

बहराइनमा कार्यरत उनका साथीहरुका अनुसार त्यहाँको कम्पनीमा सामान्यतयाः लामो विदा लिएको एक वर्षसम्म पुनः छुट्टी पाइन्न । उनी नेपालबाट फर्किएको १० महिना मात्र भएको थियो, त्यसैले ‘१५ दिनको जरुरी’ घर विदा लिएका थिए

बहराइनमा कार्यरत उनका साथीहरुका अनुसार त्यहाँको कम्पनीमा सामान्यतयाः लामो विदा लिएको एक वर्षसम्म पुनः छुट्टी पाइन्न । उनी नेपालबाट फर्किएको १० महिना मात्र भएको थियो, त्यसैले ‘१५ दिनको जरुरी’ घर विदा लिएका थिए ।

‘नेपाल आउने बेला जेठी श्रीमतीलाई पनि फोन गरेर कान्छी अर्कैसँग लागेको भनेका रहेछन्’ दिनेशको हत्याको घटना हेरिरहेका एक अनुसन्धान अधिकृत भन्छन्, ‘नेपाल आउनलाई पैसा नभएको बताएर उनले २५ हजार रुपैयाँ पनि मागेको खुलेको छ ।’

तर जेठी श्रीमतीले पैसा दिइनन् । त्यसपछि सिग्देलले आफूसँगै काम गर्ने एक जना साथीसँग ६० हजार रुपैयाँ सापटी लिएर आएको प्रहरीले भेटेको छ ।

नेपाल आएकै भोलिपल्ट हत्या

जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार सिग्देल २० पुसमा काठमाडौं ओर्लिए । भोलिपल्ट सिधै विराटनगर गएका उनलाई लिन कान्छी श्रीमती केसी कञ्चनबारी गएकी थिइन् ।

‘उनी काठमाडौंबाटै हल्का मादक पदार्थ सेवन गरेर गएका रहेछन्, त्यसपछि विराटनगरकै फेमिली होटलमा बसेछन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अर्को दिन उनीहरु विराटनगर बजार घुमेको र जोगबनी पनि गएर आएको देखिन्छ ।’ प्रहरी अधिकृतहरुका अनुसार अर्को दिन कोठामा पुगेपछि मात्रै दिनेश र कान्छी श्रीमती केसीबीच विवाद भएको देखिएको छ ।

झगडा भएपछि केसीले फोन गरेर आफूसँग जोडिएका विराटनगर–४, इक्राही टोलका २९ वर्षीय सरोज भण्डारीलाई बोलाइन् । ‘विदेशमा कमाएको पैसा जति सबै कान्छी श्रीमतीलाई नै पठाएका रहेछन्, पैसाको विषयमा पनि झगडा भएको देखिएको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सरोजलाई एक लाख रुपैयाँ ऋण दिएकी थिइन्, उनीबारे पनि प्रश्न गर्न थालेपछि भण्डारीलाई बोलाइएको रहेछ ।’

त्यतिबेलासम्म सिग्देललाई लागेको थियो, भण्डारी आएपछि छलफल हुन्छ र विवाद साम्य हुन्छ । तर कान्छी श्रीमती केसीले मौका मिल्नेवित्तिकै उनलाई सिध्याउने योजना बुनिसकेकी थिइन् ।

 

श्रीमान् सिग्देलको हत्या गरे थप ७५ हजार रुपैयाँ दिने र विवाह गर्ने प्रलोभन उनले प्रेमीलाई दिएको अनुसन्धानबाट खुलेको छ – सञ्जयसिंह थापा, एसपी, सुनसरी

‘भण्डारी आउनेवित्तिकै चर्काचर्की सुरु भइहाल्यो, मौका हेरेर गलबन्दीले घाँटीमा कसेर हत्या गरिहाले’ एसपी थापा भन्छन्, ‘खासमा हत्या योजना पहिल्यै बनेको देखिन्छ, भण्डारीले घाँटी कस्दा उनले (कान्छी श्रीमती केसी) पनि सहयोग गरिन् ।’ श्रीमान् सिग्देलको हत्या गरे थप ७५ हजार रुपैयाँ दिने र विवाह गर्ने उनले प्रलोभन दिएको खुलेको एसपी थापा बताउँछन् ।

प्रहरीका अनुसार सिग्देलले २२ पुसमा ज्यान गुमाए, हत्यामा संलग्न कान्छी श्रीमती र उनका प्रेमी चाहिँ कोठामै शव छाडेर बाहिर बस्न गए । एसपी थापाका अनुसार २३ पुसको बिहान दुवै जनाले विराटनगरको एक पसलबाट शव व्यवस्थापनका लागि ग्रेण्डर मेसिन, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरे ।

‘ती सामग्री घरमा ल्याएपछि मृतकको टाउको काटेको देखिएको छ’ उनी भन्छन्, ‘दाहिने तीघ्राको भाग पनि काटेर एउटा झोला र शरीरको अरु भागलाई अर्को झोलामा हालेको देखिएको छ ।’ शवलाई पोको पारेपछि त्यही दिन साँझ टेम्पो भाडामा लिएर धरानतिर लगेको केसीले बयान दिएकी छन् ।

तर प्रहरीले हालसम्म कुन टेम्पोमा लगियो भन्ने फेला पारेको छैन । भण्डारी आफैं पनि सिटी रिक्सा चालक भएकाले आफ्नै सवारीसाधन पनि प्रयोग भएको हुनसक्ने आशंका छ ।

‘अरुको टेम्पो भए धरानसम्म लैजाँदा थाहा हुनसक्थ्यो, थप व्यक्तिको पनि संलग्नता हुनसक्छ’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्म त्यस्तो देखिएको छैन, तर गहन अनुसन्धान भइरहेको छ ।’

धरानमा लगेर राति नै धरान–धनकुटा सडकखण्ड अन्तर्गत सडकबाट ४५ फिट पश्चिमतिर जेब्रा झोला फ्याँकेको पाइएको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी नरेन्द्र कुँवर बताउँछन् ।

‘दाउरा खोज्न जाने मजदूरहरुले शव देखेपछि खबर गरेका थिए, त्यसपछि १ नं. प्रदेशको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) सहितको सहयोगमा अनुसन्धान थालेका थियौं’ उनले भने, ‘सुरुमा टाउको र खुट्टा मात्र भेटिएको थियो, पछि ५० वटा अपराध अनुसन्धानमा विज्ञ कुकुरसहितको टोली लगेर खर्च गर्दा डेढ किलोमिटर माथि सडकभन्दा तल जेब्रा झोलामा नै शरीरका अन्य भाग फेला परेको थियो ।’

बहराइन प्रहरीको सहयोगमा खुल्यो रहस्य

अनुसन्धान अधिकृतहरुका अनुसार शव बरामद भएपनि सनाखत गर्न प्रहरीलाई हम्मेहम्मे भएको थियो । शरीरका अंगहरु गल्न थालिसकेका थिए, त्यसैले प्रहरीले महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको सहयोगमा मृतकको स्केच तयार गरेर खोजी थालेको थियो ।

पछिल्लो ६ महिनामा पूर्वबाट हराएका व्यक्तिको हुलिया निवेदन पनि प्रहरीले छानबिन गर्न परिपत्र गरेको थियो । तर कतै हुलियासँग मिल्दो प्रकृतिको मानिस हराएको देखिएको थिएन । त्यहीबेला अनुसन्धान अधिकृतको नजर घटनास्थलबाट बरामद ‘एसेट प्रोटक्सन तत्वीर पेट्रोलियम’ लेखिएको मास्कमा प¥यो । त्यहीँ ‘रियो टुर्स’ लेखिएको भिटिजिङ कार्ड पनि थियो ।

प्रहरीले बनाएको मृतक दिनेश सिग्देलको स्केच । तस्वीरः नेपाल प्रहरी

‘त्यो कम्पनीबारे खोजी गर्दा बहराइमा रहेको खुल्यो, त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालको सहयोगमा इन्टरपोलसँग समन्वय ग¥यौं’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘इन्टरपोलले बहराइन प्रहरीसँग कुराकानी गरेर हुलिया त्यो कम्पनीसम्म पठायो, त्यसपछि ती व्यक्ति दिनेश सिग्देल भएको खुल्यो ।’

प्रहरीले त्यहाँ काम गर्ने सिग्देलका साथीहरुसँग पनि अनलाइनमार्फत बयान लियो । त्यसक्रममा उनले आफूलाई कान्छी श्रीमतीले धोका दिएको भन्दै साथीबाट सापटी लिएर हिँडेको खुल्यो ।

‘त्यसपछि कान्छी श्रीमतीलाई पक्राउ गरेर अनुसन्धान थालेका थियौं’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर उनी चाहिँ उल्टै दिनेश अर्को केटी लिएर भारततिर गएको बताइरहेकी थिइन् ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हत्यालगत्तै केसी दमकस्थित उनको घरमा पुगेकी थिइन् र दिनेशको बुबालाई ‘उनले अर्को केटी लिएर हिँडेको’ बताएकी थिइन् । आफूलाई खोजे मारिदिने भन्दै उनले धम्की दिएको पनि केसीले बताएकी थिइन् ।

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?