+
+

जैविक प्रविधिले हाम्रो जीवनलाई कसरी सुधार गर्न सक्छ ?

महेश आचार्य महेश आचार्य
२०७८ फागुन ११ गते १२:३८

जैविक प्रविधि कुनै नयाँ त हैन, तर पछिल्लो केही दशकदेखि यस्ाले बढी चर्चा पाउन थालेको छ । अहिले जस्तो जटिल विज्ञानको प्रयोग नभए पनि मानिसले अञ्जानमा नै हजारौं वर्ष पहिलेदेखि नै जैविक प्रविधिलाई विभिन्न क्षेत्रमा प्रयोगमा ल्याइसकेका थिए । सूक्ष्म जीवहरूको प्रयोग गरेर पाउरोटी बनाउने, बियर बनाउने जस्ता परम्परागत जैविक प्रविधिको उपयोग सयौं वर्षदेखि मानिसले उपयोग गरिआएका छन् ।

जैविक प्रविधिमा आधुनिकता सन् १९७० को बीचदेखि १९८० को प्रारम्भसम्ममा भएको हो । यसैबेला जीवहरूको आनुवंशिक बनोटमा हेरफेर गर्ने नयाँ प्रविधि ‘जेनेटिक इन्जिनियरिङ’को थालनी भयो ।

व्यावहारिक रूपमा जैविक प्रविधि भनेको जीव विज्ञानलाई आर्थिक वा मानवीय फाइदाका लागि अपनाइने प्रविधि भन्ने बुझिन्छ । जैविक प्रविधिको सही उपयोग गरेर विश्वमा देखिएका खाद्यान्न संकट, स्वास्थ्य संकट, वातावरणीय समस्या जस्ता गम्भीर समस्या समाधान गर्न सकिन्छ । साथै जैविक प्रविधिले स्वास्थ्य, वातावरण, कृषि आदि क्षेत्रहरूमा नवीन सम्भावनाहरू पनि देखाएको छ ।

बढ्दो जनसंख्याले गर्दा हुने खाद्यान्नको माग धान्न सन् २०५० मा अहिलेको भन्दा ७० प्रतिशत बढी खाद्यान्न उत्पादन गर्नुपर्ने हुन्छ । विश्वमा अहिले पनि सवा दुई अर्बभन्दा बढी मानिसले पर्याप्त मात्रामा खाना खान पाइरहेका छैनन् । आनुवंशिक संरचनामा परिवर्तन गरी विकास गरिएका ‘जेनेटिकल्ली मोडिफाइड’ खाद्यान्न बालीले अहिलेको र भविष्यको खाद्यान्नको मागलाई पूरा गर्न सक्छ ।

जैविक प्रविधिको माध्यमबाट आनुवंशिक संरचनामा परिवर्तन गरी माटो र हावापानी सुहाउँदो तथा बढी उत्पादकत्व भएको बालीको विकास गरेर खाद्य संकटको समाधान गर्न सकिन्छ । साथै, जैविक प्रविधिको प्रयोग गरी खाद्यपदार्थको पौष्टिकता वृद्धि गर्न पनि सकिन्छ ।

जैविक प्रविधिको माध्यमबाट भिटामिन ए युक्त बनाइएको गोल्डेन राइस यसको एउटा उदाहरण हो । विश्वमा बर्सेनि लाखौं बालबालिकाले भिटामिन ए को कमिले गर्दा ज्यान गुमाइरहेको बेला, यस्तो धानको विकास हुनुलाई जैविक प्रविधिको सकारात्मक उपलब्धि मान्नुपर्छ । तर यसका विरोधीहरूले गर्दा फिलिपिन्स बाहेक अरू देशका सरकारले गोल्डेन राइसको खेती गर्न अनुमति दिएका छैनन् ।

विभिन्न वैज्ञानिक अध्ययनलाई आधार मानेर लाखौं बालबालिकाको जीवन बचाउनको लागि किसानलाई गोल्डेन राइस उत्पादनको अनुमति दिन अब ढिला गर्नुहुँदैन । त्यसैगरी जैविक प्रविधिको प्रयोग गरी रोग र कीट प्रतिरोधात्मक कृषिबाली विकास गरिएको छ । जसले गर्दा कीट र रोगबाट हुने बाली विनाशलाई कम गर्न सकिएको छ । ‘बिटी कपास’ र ‘बिटी मकै’ कीट प्रतिरोधात्मक बालीका उदाहरण हुन् ।

जलवायु परिवर्तनले गर्दा बाढी, पहिरोका घटना बढिरहेका छन् । लामो खडेरी पर्न थालेको छ । र, जलवायु परिवर्तनले कतिपय कृषि बालीलाई प्रतिकूल प्रभाव पार्ने देखिन्छ । वैज्ञानिकहरूले जैविक प्रविधिको प्रयोग गरेर प्रतिकूल वातावरणीय अवस्थामा पनि हुनसक्ने बालीका जातहरूको विकास गरेका छन् । उदाहरणको लागि दुई हप्तासम्म डुबानमा परे पनि बाँच्न सक्ने ‘जेनेटिकल्ली मोडिफाइड’ धानको विकास गरिएको छ ।

खनिज इन्धनको मुख्य विकल्पमा जैविक प्रविधिमार्फत ब्याक्टेरिया, ढुसी अथवा वनस्पति प्रयोग गरेर इन्धन र अन्य उपयोगी रसायन बनाउन सकिन्छ

जैविक प्रविधिलाई विश्वले सामना गरिरहेको प्लास्टिक प्रदूषण जस्ता गम्भीर वातावरणीय समस्या समाधान गर्न पनि प्रयोग गर्न सकिन्छ । विश्व प्रसिद्ध जर्नल ‘साइन्स’ मा प्रकाशित एक लेखका अनुसार सन् २०१९ मा मात्र विश्वभरि ३६८ मिलियन मेटि्रक टन प्लास्टिक उत्पादन भएको थियो । प्लास्टिकजन्य पदार्थहरू माटोमा जैविक रूपमा नष्ट हुन सयौं वर्ष लाग्छ ।

वैज्ञानिक अनुसन्धानको क्रममा प्लास्टिकलाई डिग्रेड गर्ने ब्याक्टेरिया (प्लास्टिक खाने ब्याक्टेरिया) पत्ता लागेका छन् । तर प्राकृतिक रूपमा पाइने ब्याक्टेरियाले प्लास्टिकलाई डिग्रेड गर्ने दर भने निकै सुस्त छ । त्यस्ता ब्याक्टेरियालाई उपयोगी बनाउन जेनेटिक इन्जिनियरिङको प्रयोग गरेर छोटो समयमा नै धेरै प्लास्टिक डिग्रेड गर्ने बनाउनुपर्छ र यस दिशामा केही प्रगति पनि भइसकेको हुनाले हामीले निकट भविष्यमै ‘जेनेटिकल्ली इन्जिनियरिङ’ ब्याक्टेरियालाई उपयोग गरेर प्लास्टिक प्रदूषण घटाउन सक्ने छौं ।

संसारमा लाखौं मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् भने अंग अभावका कारण प्रति महिना हजारौं मानिस ज्यान गुमाउन बाध्य छन् । सन् २०२२ को सुरुतिर अमेरिकामा एकजना मुटुरोगीको शरीरमा सफलतापूर्वक बंगुरको मुटु प्रत्यारोपण गरेको समाचारले विश्वलाई नै तरंगित बनाएको थियो । ती मुटुरोगीको शरीरमा बजारमा पाइने बंगुरको मुटु प्रत्यारोपण गरिएको भने होइन । उक्त बंगुर पूर्णरूपमा प्राकृतिक नभएर ‘जेनेटिकल्ली मोडिफाइड’ बंगुर थियो । त्यो बंगुरको विभिन्न १० ठाउँमा जेनेटिक मोडिफिकेशन गरिएको थियो ।

बंगुरको चार वटा जिनलाई निष्क्रिय बनाइएको थियो भने मान्छेको ६ वटा जिन बंगुरमा हालिएको थियो । बंगुरको मुटु सफलतापूर्वक मान्छेमा प्रत्यारोपण गर्न सक्नुले, अंग अभावको समस्या जनावरले पूरा गर्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।

जैविक प्रविधि रोग निदान गर्न, रोगको उपचार गर्न र भ्याक्सिनको विकास गर्नको लागि पनि उपयोगी सावित भएको छ । केही वर्ष अगाडि मात्र पत्ता लागेको क्रिस्पर केस नाइन प्रविधि प्रयोग गरेर क्रोमोजोनमा भएको जिनलाई सम्पादन गर्न सक्छौं । क्रिस्पर केस नाइन एउटा यस्तो प्रविधि हो जसको प्रयोग गरेर क्रोमोजोनमा रहेका समस्याग्रस्त जिनलाई निष्क्रिय पार्न वा सच्याउन सकिन्छ ।

कुनै जिनको कामलाई परिवर्तन गराइदिन सकिन्छ, र जिनलाई रिपियर गर्न पनि सकिन्छ । क्रिस्पर केस नाइन प्रविधिलाई जेनेटिक सिजर (जिन काट्ने कैंची) पनि भन्ने गरिन्छ । यो प्रविधि मान्छेमा देखिने सिस्टिक फाइब्रोसिस, सिकलसेल जस्ता जेनेटिक डिसअर्डरको उपचार गर्न उपयोगी हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । जिनमा हुने म्युटेसनले गर्दा मानिसमा हजारौं प्रकारका जेनेटिक डिसअर्डर देखिन्छन् ।

विश्वमा एकातिर खनिज इन्धनको भण्डार रित्तिंदै गएको छ भने अर्कोतिर खनिज इन्धनको प्रयोगले उत्सर्जन हुने हरितगृह ग्याँसले पृथ्वीको तापक्रम बढिरहेको छ । त्यसकारण तापक्रम वृद्धिलाई न्यूनीकरण गर्दै मानव सभ्यताको रक्षा गर्ने उपाय भनेको खनिज इन्धन माथिको निर्भरतालाई अन्त्य गरी वैकल्पिक ऊर्जा प्रतिस्थापन गर्नु हो । खनिज इन्धनको मुख्य विकल्पमा जैविक प्रविधि मार्फत ब्याक्टेरिया, ढुसी अथवा वनस्पति प्रयोग गरेर इन्धन र अन्य उपयोगी रसायन बनाउन सकिन्छ ।

संसारमा अहिले प्रयोग भइरहेको इन्धनले पृथ्वी र पर्यावरणलाई मात्र नोक्सान गरेको छैन, यो महँगो पनि छ । यसको राम्रो र दीर्घकालीन विकल्प जैविक इन्धन नै हो । जैविक इन्धनको व्यावहारिक प्रयोग देशको आर्थिक स्थितिमा सुधार ल्याउन गर्न सकिने कुरा विभिन्न अध्ययनले देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?