+
+

मेस्सी भन्छन् – ‘ठूला’ क्लबले पीएसजीसँग इर्ष्या गर्नु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १२:२९

११ फागुन, एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सीले पुरानो इतिहास भएका ठूला क्लबहरूबाट पेरिस सेन्ट जर्मेइन (पीएसजी)माथि इर्ष्या गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

कतारी परियोजनाबाट सञ्चालित पीएसजीसँग निकै छोटो इतिहास भएको आलोचकहरूको दावी छ । परम्परागत लोकप्रियता र ऐतिहासिक सफलताबाट निर्मित क्लबहरूसँग महँगा र सुपरस्टार खेलाडीहरू जमघट गरेर पनि पीएसजीले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको तर्क रहने गरेको छ ।

आलोचकहरूले यो फ्रान्सेली क्लबले अरू ठूला क्लबको स्तरमा आउन समय लाग्ने बताउँछन् । कम्तीमा च्याम्पियन्स लिगको उपाधि नजितेसम्म पुराना क्लबहरूले पीएसजीलाई आफूसमान मान्ने छैनन् ।

लियोनल मेस्सीका अनुसार अन्य क्लबले पीएसजीसँग इर्ष्या गर्नुपर्ने कारण छैन किनभने यो क्लबले यसअघि नै फुटबलमा महारथ हासिल गरिसकेको छ । क्लबको मुखपत्रसँगको कुराकानीमा यी अर्जेन्टिनी स्टारले पीएसजी आगमनपछिको प्रभाव र पेरिसमा दैनिकी सुरुवात गर्दाको समयबारे खुलेर कुराकानी गरेका छन् ।

‘पीएसजी यस्तो क्लब हो जो निरन्तर अगाडि बढिरहेको छ । यो क्लबसँग महत्वाकांक्षा छ र अझै अगाडि बढ्न चाहन्छ,’ मेस्सीले भनेका छन्, ‘पीएसजी संसारको सबैभन्दा ठूलो क्लबहरू हो र अझै विकासको क्रममा छ । हामीमाथि ऐतिहासिक रुपमा ठूला क्लबहरूले इर्ष्या गर्नुको अर्थ छैन ।’

च्याम्पियन्स लिगमा आशा

पीएसजीका लागि च्याम्पियन्स लिग सर्वोच्च प्राथमिकताको प्रतियोगिता हो । सिजनको सुरुवातमा पीएसजीको टिमले जस्तोसुकै सफलता हासिल गर्नसक्ने प्रक्षेपण गरिएको थियो । तर, च्याम्पियन्स लिगको ट्रफी उठाउन कति कठिन हुन्न भन्नेबारे यी ३४ वर्षीय स्टारलाई राम्रोसँग थाहा छ ।

‘च्याम्पियन्स लिग जित्न मुस्किल छ । यो यस्तो प्रतियोगिता हो जहाँ सर्वश्रेष्ठ टोलीबीच प्रतिस्पर्धा हुन्छ । सानो गल्तीले तपाईं बाहिर पुग्नुहुन्छ,’ मेस्सीले थपे, ‘हामीसँग सफलताका लागि सबै तत्वहरू छन् । हामी यसलाई हासिल गर्नका लागि उत्सुक पनि छौं । तर, हामी शान्त रहनुपर्छ ।’

मेस्सीका अनुसार च्याम्पियन्स लिगमा सर्वश्रेष्ठ टोलीले पनि सधैं उपाधि जित्न सक्दैन । यसका लागि सबै कुराहरू एकसाथ मिल्नुपर्छ । बलियो टिम त्यही हुन्छ, जसले आफ्नो लक्ष्य पूरा गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?