+
+
१२ वर्षीया छात्राको बलात्कारपछि हत्या :

स्कुलबाट एक्लै हिंडिन्, घर पुग्नै पाइनन्

बुधबार बिहान करुणासँगै पढ्न गएका वडा सदस्यका छोरा जाँतेकै घरमा बस्ने भए । विहान गएका साथी जाँतेमै बसेपछि उनी एक्लै उकालो लागिन्, तर घर पुगिनन् ।

हरि अधिकारी हरि अधिकारी
२०७८ फागुन १३ गते २१:१७

१३ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया बालिका दैनिक दुई घण्टा हिंडेर स्कुल आउजाउ गर्थिन् । जाँते माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत उनले जंगलको बाटो पनि हिंड्नुपर्छ ।

बुधबार गाउँबाट दाजु दिदीहरु स्कुल नजाने भए । उनी छिमेकी बुद्धिराम राईका छोरासँग स्कुल गइन् ।

लेटाङ– ८ का वडा सदस्य राईको जाँते बजारमा पनि घर छ । बुधबार बिहान करुणासँगै पढ्न गएका वडा सदस्यका छोरा जाँतेकै घरमा बस्ने भए । बिहान गएका साथी जाँतेमै बसेपछि उनी एक्लै उकालो लागिन्, तर घर पुगिनन् ।

‘बुधबार स्कुलमा पुरै समय पढेर एक्लै घर फर्किएकी थिइन्’ जाँते माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तमराज खतिवडाले भने, ‘स्कुलबाट जंगलको बाटो हुँदै घर जानुपर्छ । एक्लै गएकी थिइन्, आज यस्तो घटना भयो ।’

कक्षा ५ सम्म गाउँकै स्कुल पढेकी उनी कक्षा ६ मा पढ्नका लागि जाँते स्कुल आउन थालेकी थिइन् । ‘गाउँमा कार्जे भएकाले अरु दाजु दिदीहरु आएनछन्,’ प्रधानाध्यापक खतिवडाले भने, ‘उनले बाटोको चौतारोमा साथी पर्खिएको स्थानीयले देखेका रहेछन् । तर निजी स्कुल आउने अरु विद्यार्थी गइसकेका थिए ।’

बुधबार राति अबेरसम्म घर नपुगेकी बालिकालाई आफन्तले रातभर खोजी गरेका थिए । बालिकाले मोबाइल फोन पनि बोक्थिन् । मध्यरातसम्म उनको मोबाइलमा फोन लागेको थियो । फोन लाग्न छाडेपछि आफन्तले प्रहरीलाई खबर गरे ।

खोजी गर्ने क्रममा शुक्रबार बिहान जंगलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको छ ।

फूपुको घरबाट एक्लै उकालो लागेको देखेपछि स्थानीय दिपक गिरीले पछ्याएको प्रहरीको दाबी छ । ‘स्कुलबाट घर दुई घण्टाको दुरीमा पर्छ,’ जिसीले भने, ‘घर जाने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको गिरीले स्वीकार गरेका छन् ।’

घटनास्थल बालिकाको घरबाट करिब डेढ किलोमिटर दक्षिण लालहीरा सामुदायिक वनभित्र पर्छ । बालिकाको शव खाल्डोमा ढुङ्गाले छोपेको अवस्थामा भेटिएको थियो । ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन्’ जिसीले भने, ‘बाटोमा एक्लै हुँदा घटना भएको देखिन्छ ।’

करुणा मेहनती र जेहेन्दार छात्रा थिइन् । उनको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै विद्यार्थीहरुले शव उठाउन दिएनन् । उनीहरुले गाउँमा सुरक्षा युनिट राखिनुपर्ने, लामो दुरीका विद्यार्थीका लागि स्कुल बसको व्यवस्था गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा गिरी पक्राउ परेको जानकारी गराएपछि विद्यार्थीहरुले दिउँसो ३ बजे शव उठाउन दिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?