+
+
ए डिभिजन लिगमा आज अन्तिम दिन :

मछिन्द्रको अपराजित लक्ष्य, दोस्रो बन्ने होडमा तीन क्लब

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते ९:१२

१४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को अन्तिम ३ खेल आज हुँदैछ । यस सिजनको लिग आजको खेलपछि सकिदैछ । 

च्याम्पियन बन्ने र रेलिगेसनमा पर्ने टुङ्गो भइसकेको छ । आजको खेलपछि दोस्रो र तेस्रो स्थानमा रहने टिमको पनि टुङ्गो लाग्नेछ । च्याम्पियन बाहेक यस सिजन दोस्रो र तेस्रो स्थानमा रहने टिमले पनि नगद पाउने भएकाले महत्वपूर्ण छ । 

लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रले लिगको अन्तिम खेल एपीएफ एफसीसँग खेल्नेछ । मछिन्द्र यस सिजन अपराजित छ । एपीएफ विरुद्ध पनि अपराजित रहँदै लिगको ट्रफी उचाल्ने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताइसकेका छन् । 

मछिन्द्रले १२ खेलमा १० जित र २ बराबरी खेलेको छ । मछिन्द्रको ३२ अंक छ । पहिलो खेलमा एनआरटी विरुद्ध एक गोल व्यहोरेको मछिन्द्रले त्यसपछिका ११ खेलमा कुनै गोल खाएको छैन । 

उता एपीएफ सुरुवाती तीन खेल हारेपछि लगातार ९ खेलमा अपराजित छ । कुनै बेला रेलिगेसनमा संघर्ष गरेको एपीएफ मिड टेबलमा लिग सकाउने लक्ष्यमा छ । एपीएफ १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा छ । यदि मछिन्द्रलाई स्तब्ध पार्न सके एपीएफ संकटालाई पछि पार्दै सातौं स्थानमा पुग्नेछ । 

मछिन्द्र र एपीएफको खेल साढे ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

त्यसअघि नै आज दुई खेल हुनेछन् । जसमा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लब तथा एनआरटी र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल एकै समय अर्थात दिउँसो १ बजे सुरु हुनेछ । आर्मी र मनाङबीचको खेल दशरथ रंगशालमा तथा एनआरटी र पुलिसको खेल एन्फा कम्प्लेक्समा हुनेछ । 

आर्मी, एनआरटी र मनाङ तीनवटै क्लब दोस्रो बन्ने होडमा छन् । आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ भने एनआरटी र मनाङ समान २० अंकबाट क्रमश:चौथो र पाँचौ स्थानमा छ । 

अन्तिम खेलमा मनाङलाई पराजित गरे र बराबरी खेले आर्मी दोस्रो बन्नेछ । यदि आर्मी मनाङसँग पराजित भएमा र एनआरटीले पुलिसलाई पराजित गरेमा एनआरटी दोस्रो बन्नेछ । एनआरटी र मनाङ दुवै विजयी भएको अवस्थामा दुवैको समान २३ अंक हुनेछ । यस्तोमा हेड टु हेडमा अघि रहँदै एनआरटी अघि रहँदै दोस्रो हुनेछ ।  

मनाङले दोस्रो स्थानमा लिग सकाउनका लागि भने आर्मीलाई हराउनुपर्नेछ भने एनआरटी पनि पुलिससँग पराजित हुनुपर्नेछ । 

यस सिजन लयमा नरहेको पुलिस १२ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ । एनआरटीलाई पराजित गरेमा पुलिसले नवौं स्थानमा लिग सकाउनेछ । 

यी दुईमा आज अर्को एक क्लबको नजर पनि रहनेछ । यसै सिजनदेखि ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब २१ अंकसहित अहिले तेस्रो स्थानमा छ । 

यदि एनआरटी र मनाङ पराजित भएमा सातदोबाटोलाई त्यसको फाइदा पुग्नेछ र तेस्रो स्थानमै लिग सकाउनेछ । 

च्याम्पियन मछिन्द्रले लिग उपाधिसँगै नगद ७५ लाख पक्का गरिसकेको छ । यस सिजन दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन् । 

ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अन्तिम दुई स्थानमा रहँदै बी डिभिजनमा घटुवा भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?