+
+

साधु बन्न कति साधना गर्नुपर्छ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ फागुन १७ गते १३:३३

१७ फागुन, काठमाडौं । झट्ट हेर्दा पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । श्मसानमा बसेर खरानी धस्ने अघोरी, मन्दिरमा नांगै बसेर आशीर्वाद दिने नागा बाबा वा सन्यासी जीवनमा भर्खरै प्रवेश गरेका सामान्य साधु । यी सबै जीवन र जगतलाई अपूर्ण ठानेर मोक्षको मार्ग पहिल्याउने भन्दै लागेका हुन् ।

गेरु वस्त्रमा भेटिने विभिन्न साधुसन्तले पशुपति क्षेत्रको माहोल यतिबेला अर्कै बनेको छ । ती साधुलाई देख्दा सामान्य र उस्तै लाग्छ पनि । तर उनीहरुले त्यो अवस्थासम्म पुग्न अनेकौं साधना र कठोर तपस्या गर्नुपर्ने हुन्छ । वास्तविक अघोरी र नागाहरु एउटा कठोर तपस्या पूरा गरेर मात्रै सो अवस्थामा पुगेका हुन्छन् । त्यही भीडमा साधनारहित ढंगले व्यक्तिगत लाभको लागि आउने केही साधुहरु पनि भेटिन सक्छन् । तर वास्तविक साधुहरुको इतिहास भने फरक छ ।

सामान्यतया पशुपति क्षेत्रमा दुई किसिमका साधुहरु देखिन्छ । एकाथरीले वस्त्र नलगाई दिगम्बर भेषमा भष्म दलेर बस्छन्, उनीहरुलाई हामी नागा बाबा मान्छौं । अर्का किसिमका साधु भेटिन्छन् गेरु वस्त्र लगाएका । तर साधुहरु को हुन् ? हामीले देखेको वस्त्रहीन साधु सबै नागा हुन् ? या वस्त्र लगाउने सबै अघोरी हुन् त ? उनीहरु कसरी पारिवारिक मायामोह त्यागेर यस्तो अवस्थामा लागेका हुन्छन् ?

सामान्यतया हिन्दू मतको आधारमा जन्मिएको विभिन्न सम्प्रदाय र त्यसलाई आधार मानेर तयार भएको विभिन्न दर्शनले इन्द्रीयलाई वशमा राख्न एकाग्र भएर ब्रह्ममा लीन हुने प्रयास गर्न सिकाउँछ । वेदान्त एवं सांख्य दर्शनले माया र मोहले मान्छेको एकाग्रता भंग गराउँछ भन्ने उल्लेख गरेको छ । एकाग्रता भंग भएसँगै मोक्षको बाटो अवरोध हुन्छ । त्यसैले मान्छेले मनलाई एकाग्र भएर ब्रह्ममा लीन गराउने प्रयास गर्छन् ।

विभिन्न उपनिषद् तथा दर्शनले वैराग्यबाटै मोक्ष सहज रहेको उल्लेख गरेको छ । त्यसैले पनि साधुसन्तहरु वैराग्य प्राप्त गर्न साधना गर्छन् ।

मंगलबार हिन्दूहरुले पवित्र पर्व महाशिवरात्रि मनाउँदैछन् । भगवान शिवको आराधनाको लागि विशेष मानिने यो पर्वका लागि नेपालका विभिन्न ठाउँसहित भारतबाट समेत धेरै साधकहरु पशुपति आएका छन् । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरुको जमघट हुने यो क्षेत्र आफैंमा एउटा पवित्र क्षेत्र हो ।

शिव एवं उनका अवतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । तिनीहरुको पनि आआफ्नै अनुयायी हुन्छन् । ती अनुयायीहरुको आफ्नै शैली र विशेषता हुन्छ । पाशुपत सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सिद्धान्तवादी सम्प्रदाय, प्रत्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैवमार्गीहरुको मुख्य सम्प्रदायहरु हुन् ।

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ । शैवभित्र पनि शाक्त, नाथ, दसनामी, नागाजस्ता उपसम्प्रदाय रहेका छन् । महाभारतमा माहेश्वरको चार सम्प्रदायको बारेमा उल्लेख गरिएको छ । जसमा शैव, पाशुपत, कालदमन र कापालिक रहेका छन् । ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शिव शंकर, भोलेनाथ र महादेव कहिने गरेको उल्लेख छ ।

साधुहरुलाई नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले जान्ने गरिन्छ । शैव सन्तहरुमा नागा साधुहरु एवं दशनामी सम्प्रदायका साधुहरुको नै प्रभुता रहेको पाइन्छ । सन्यासी सम्प्रदायका साधुहरु संसार र गृहस्थीलाई छाडेर आउने गर्छन् । गृहस्थहरुको जीवन जति कठिन हुन्छ । त्यसको सय गुणा बढी कठिन साधुहरुको जीवन हुने विश्वास गरिन्छ ।

शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, साईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौं प्रसिद्ध सन्तहरु रहेका छन् । यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धान्त अनुसारको वस्त्र एवं व्यवहारलाई उनीहरुका अनुयायीले समेत अवलम्बन गर्ने गरेका छन् ।

साधु बन्न कति साधना गर्नुपर्छ ?

नागा शब्द एकदमै पुरानो शब्द हो । भारतमा नागवंश र नागा जातिको इतिहास समेत पुरानो छ । नागा भन्ने शब्द त्यही भारतको नागाल्याण्ड प्रान्तबाट भएको समेत मान्ने गरिन्छ । भारतको पूर्वाेत्तर क्षेत्रमा रहेका नागवंशी, नागा जाति र दशनामी सम्प्रदायका मानिसहरु समेत नागा बन्ने गरेका छन् । भारतको एक सम्प्रदाय नाथ सम्प्रदायको समेत दशनामी सम्प्रदायको साथमा सम्बन्ध रहने गरेको पाइन्छ ।

नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्ने बताइन्छ । यस समयमा नयाँ सदस्यहरूले लगौंटी बाहेक अरू केही पनि लगाउँदैनन् । कुम्भ मेलामा अन्तिम प्रण गरेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । त्यसपछि उनीहरु जीवनभरि नै कुनैपनि वस्त्र लगाउँदैनन् । कुनै पनि क्षेत्रमा नागा बन्न आउने व्यक्तिलाई राम्ररी अनुसन्धान गरेपछि छानिएका योग्य व्यक्तिलाई मात्र यसमा प्रवेश दिइन्छ ।

नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्रम्हचारीको रूपमा जिउनुपर्छ । त्यसपछि ऊ महान् मान्छे बन्ने र त्यसपछि मात्रै उसलाई त्यो समूहमा प्रवेश गराउने गरिन्छ । अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ । जसमा उनीहरुले आफ्नै पिण्डदान र पूजा गर्नुपर्छ ।

कति फरक छ साधु र नागामा ?

हिन्दू धर्ममा धेरै किसिमका साधुहरुको उल्लेख पाइन्छ । यसमा नागा साधु र अघोरी भिन्न भिन्न साधुको रुप हो । यिनीहरुको भेषभूषा देख्नमा उस्तै लाग्छ । तर उनीहरुको साधु बन्ने प्रक्रिया र रहनसहन तथा तपसाधनामा धेरै अन्तर पाइन्छ । नागा साधु कुम्भमा बसेर नागाको भेष धारा गर्छन् भने अघोरीहरु कुम्भमा जाँदैनन् ।

नागा र अघोरी साधु बन्नको लागि कठिन तपस्या गर्नुपर्ने हुन्छ । दुवै प्रकारका साधु बन्न १२ वर्षको समय लाग्ने बताइन्छ । नाष साधु बन्नका लागि अखडामा दीक्षा लिनुपर्छ ।

तस्वीर : विकास श्रेष्ठ, शंकर गिरी र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?