+
+

नेपाली कांग्रेसको पर्सा सभापतिमा क्षेत्री विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ९:२९

२० फागुन, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् ।

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ ।

नेता क्षेत्री प्रतिद्वन्द्वी पटेल भन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको थियो ।

तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन थियो ।

नेपाली कांग्रेस पर्सा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरे ।

सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेश कुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भए । सह–सचिवमा नविन सिंह १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ मत ल्याएर निर्वाचित भए ।

वीरगञ्जस्थित बालमन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले भाग लिएका थिए । सदस्यतर्फको भने मत गणना गर्न बाँकी छ । सहायक निर्वाचन अधिकृत कमल अधिकारीले सदस्यहरुको मत शुक्रबार दिउँसो मात्रै गणना हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?